बडाकाजी अमरसिंह: भीमसेन थापाबाट यसरी भोगेका थिए असहयोग र अपमान
पृथ्वीनारायण शाह सहित चार पुस्ताका राजाको शासनकालमा राज्य विस्तार र रक्षाका लागि लडेका बडाकाजी अमरसिंह थापाले पटक पटक भीमसेन थापाको पूर्वाग्रहको शिकार हुनुपर्यो।
कुनै समय नेपाली भारदारहरू पश्चिमको सतलज पारि पुगेर काँगडाको किल्ला समेत कब्जा गर्ने अभियानमा सक्रिय थिए। काँगडा कब्जा गर्ने अभियानमा नेपाली सेनाको नेतृत्व बडाकाजी अमरसिंह थापाले गरेका थिए। उनले १८७१–७२ सालमा अङ्ग्रेजसँग पराक्रमका साथ लड्दालड्दै पराजय भोगे। यस पराजयमा उनी मात्रै जिम्मेवार छैनन्, विविध कारण छन्।
१८३१ सालमा पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान अन्तर्गत पूर्वी क्षेत्रमा सरदार रामकृष्ण कुँवरको नायब भई कन्काई नदीसम्म साँध लगाउने कार्य पनि अमरसिंहले नै गरेका थिए। पूर्वमा कन्काई र पश्चिममा काँगडासम्म लामो अवधि युद्ध लड्ने सेनापतिको नाम लिंदा उनै बडाकाजी अमरसिंह पर्छन्। नेपालको इतिहासमा पूर्वदेखि पश्चिमसम्म लामो समयसम्म युद्धमा खटिने नेपाली भारदारमध्ये मुख्य उनी नै हुन्।
१३ असोज १८२५ मा गोरखालीले कान्तिपुर विजय गरे। त्यस लगत्तै पृथ्वीनारायणले अमरसिंह थापा र रामकृष्ण कुँवरलाई एकै दिन सरदारीको पगरी पहिराइदिएका थिए (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी–२०६१ः३५१)। त्यस वेला अमरसिंह केवल १७ वर्षका थिए। सरदारी पद पाउनुअघि उनी जेठा बूढाको पदीय दायित्व निर्वाह गर्ने जिम्मेवारी लिएर युद्धमैदानमा उत्रेका थिए (डा. इन्दिरा जोशी, ‘आधुनिक नेपालको निर्माणमा बडाकाजी अमरसिंह थापाको योगदान’–२०६३ः६)।
अमरसिंह थापाका बाबु भीमसिंह थापा पनि एक पराक्रमी सेनानायक थिए। उनी काभ्रेपलाञ्चोकको युद्धमा मारिएका थिए। कीर्तिपुरको युद्धमा ठूलो पराक्रम देखाएका कारण उनलाई पृथ्वीनारायण शाहले ‘बाघ’ उपनाम दिएका थिए।
नेपालका एक अनुभवी भारदार भएर पनि अमरसिंह जीवनको अन्तिम समयमा एक असहाय र जिम्मेवारीविहीन भएर प्राणान्तको अवस्थामा पुगे। रणबहादुर शाहको हत्यापछि राज्यशक्तिमा हर्ताकर्ता हुन पुगेका मुख्तियार जनरल भीमसेन थापाको हालीमुहाली चल्दा बडाकाजी अमरसिंहको वीरता र पराक्रम ओझेल पर्न पुग्यो।
अनुभवीलाई केन्द्रबाट टाढा
भीमसेन थापा काजी भएपछि नेपालको प्रशासन र राजनीतिमा एकल प्रभुत्व स्थापित गर्न अग्रसर भए। उनी पुराना भारदारलाई केन्द्रमा नराख्ने नीति कार्यान्वयन गर्न सक्रिय थिए (जोशी, उहीः३८)। यही नीतिलाई परिपूर्ति गर्न योग्य र अनुभवी भारदार अमरसिंह थापालाई पनि केन्द्रबाट टाढा पठाउनुपर्थ्यो। त्यसैले भीमसेनले उनलाई बाहिर धपाउने मौका हेर्न थाले।
रणबहादुर शाह बनारस रहँदा गढवालका राजा प्रद्युम्न शाहले दामोदर पाँडेको समर्थन गरेका थिए, र नेपाललाई तिर्नुपर्ने रकम पनि तिर्न छाडेका थिए। त्यसैले रणबहादुर प्रद्युम्नसँग बदला लिन चाहन्थे। त्यसका लागि भीमसेन र रणबहादुर दुवैले आफ्नो स्वार्थसिद्धिका लागि अमरसिंहलाई गढवाल आक्रमण गर्न पठाए (डा. विनोद थापा, राष्ट्रिय विभूति अमरसिंह थापा–२०७०ः१०८)। उनकै नेतृत्वमा पुस १८६१ मा नेपालको पश्चिमी सिमाना यमुना नदीसम्म पुगेको थियो (जोशी, उहीः२५)।
भीमसेन थापा गोरखाली भारदारका सन्तान थिएनन्। उनी एक साधारण सैनिक अधिकृतका छोरा थिए। यस कारण बम शाह आदि पुराना भारदार यिनको आज्ञाकारी सेवक बन्न गाह्रो मान्थे। यो चाल बुझेर पनि भीमसेनले बडो चलाखीसाथ चौतरिया बम शाहलाई कुमाउ, अमरसिंहलाई बाह्र ठकुराई र बख्तावरसिंह बस्न्यातलाई जुम्लाका हाकिम बनाएर पठाएका थिए (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ७९–फागुन २०४७ः३०)।
यसरी पुराना भारदारहरूलाई राजधानीबाट टाढा टाढा धपाइए वा खटाइएपछि यसको प्रत्यक्ष असर नेपाल–अङ्ग्रेज युद्धमा पर्यो। भीमसेन थापाको यो नीतिले राजकुलका बम शाहको मनमा चोट परेको थियो। त्यसैले उनमा युद्धको समयमा जोश आएन। युद्ध लड्दै गर्दा कुमाउभन्दा पश्चिमतिर नेपालीहरूले अङ्ग्रेजसँग लड्न नसकेपछि कुमाउमा मात्र हामीले के गर्ने भन्दै महाकाली तरी आफूहरू बैतडी आएको सूचना सरकारलाई दिएर युद्धबाट सबैभन्दा पहिले खुट्टा झिक्ने बम शाह नै थिए (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क १–वैशाख २०२१ः५४–५५)।
१८६३ सालमा रणबहादुर शाहको उनकै सौतेनी भाइ शेरबहादुर शाहबाट हत्या भएपछि उनैको मतियार भएको आरोप लगाई पुराना भारदारहरूलाई मारेर आफ्नो अवरोध पन्छाएका भीमसेन थापाले बम शाह र अमरसिंह जस्ता अनुभवी भारदारहरूलाई केन्द्रबाट टाढा राखेर राज्यसत्तामा एकलौटी गरेका थिए।
युद्ध रोक्ने प्रयास
बुटवल र स्यूराजको विषयमा जुन समयमा अङ्ग्रेजसँग नेपालको विवाद भयो, त्यस वेला पाल्पाको हाकिम भएर भीमसेन थापाका बाबु जनरल अमरसिंह थापा (साना) पाल्पामा थिए। उक्त विवादमा केही नेपाली र केही अङ्ग्रेजपक्षीय मानिसले ज्यान गुमाइसकेका थिए।
पाल्पाको प्रशासक रहेकै बखत जनरल अमरसिंह थापा (साना) को ७ कात्तिक १८७१ मा निधन भयो। उनको मृत्युको २० दिनपछि १९ वर्षको उमेरमा उनका नाति उजिरसिंह थापा त्यहाँको प्रशासन चलाउन काठमाडौंबाट पाल्पातिर हिँडे (पन्त, महेशराज, पूर्णिमा, पूर्णाङ्क ६–साउन २०२२ः६८)। अमरसिंह (साना) को निधनको दुई दिनपछि ९ कात्तिकमा अङ्ग्रेज पक्षले नालापानी किल्लामा गोलाबारी शुरू गरिहाल्यो (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ८४–वैशाख २०५०ः१९)।
बुटवलमा हत्याकाण्ड भएको खबर पाएपछि बडाकाजी अमरसिंह थापाले युद्ध रोक्ने सक्दो प्रयास गरेका थिए। यसै प्रयास स्वरूप उनले अक्टरलोनी मार्फत युद्ध रोक्न अङ्ग्रेजलाई पत्र लेखेका थिए। तर, अङ्ग्रेजहरूले नेपालमाथि आक्रमण गर्ने निश्चय गरिरहेको हुँदा यस पत्रप्रति कुनै वास्ता गरेनन्।
बुटवल र स्यूराज छाड्नुपर्ने प्रस्तावका साथ पहिल्यै अङ्ग्रेजले खलितापत्र पठाउँदाको समय अनुभवी भारदारहरू बम शाह अल्मोडा र अमरसिंह थापा आर्कीमा थिए। अङ्ग्रेज विरुद्ध युद्ध लड्ने निर्णय गर्न काठमाडौंमा बसेको भारदारीमा उनीहरू सहभागी हुन पाएनन्। त्यसै वेला राजा गीर्वाणयुद्धविक्रम शाहको भाकाबाट युद्धको निम्ति तयार हुन बडापत्र जारी गरियो। यसको जवाफ दिंदै अमरसिंह थापाले ‘हजुरका हुकुम बमोजिम शत्रुसँग लडौंला, ईश्वरको अनुग्रह र हजुरको प्रतापले जितौंला पनि, तर यो समय युद्ध गर्नु अनुकूल थिएन। युद्ध गर्नुपर्छ भनी राय दिने जो हो, महलमा बढेको अनुभवविहीन मानिस हो’ भनेर लेखेका थिए। उनले महलमा बढेको अनुभवविहीन मानिस भनी भीमसेन थापालाई इङ्गित गरेका थिए (आचार्य, उहीः१७–१८)।
अमरसिंह थापाले विवादित भूमि बुटवल र स्यूराज अङ्ग्रेजलाई नै दिएर भए पनि युद्ध रोक्नुपर्ने मान्यता सहित अर्जी पठाएका थिए। अर्जीमा ‘...झगडा पर्याका बुटवल र सिवराज र बाराका २२ गाउँ समेत दिला तकसर मेटिन्छ भन्या गुरु रंगनाथ पंडितज्यू र दलभंजन पांडेलाई अह्राइ बक्स्या जाओस्. यस कुरामा मेरो वेमन्जुरी छैन. यो काम गर्न्यासंग रिस राग पनि म गर्न्या छैन. आफना मतलवमा पसेर हजुरको भलाई वास्ता नराषि फिरंगीसंग मेल गर्न षोज्न्यालाई मैले पुरा वैरि भन्नै पर्छ. उनिहरुले यो सर्त मंजुर गर्यानन् भन्या पनि हामिहरुले डराउनु पन्र्या कुनै कारण छैन..’ (योगी नरहरिनाथ, इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १–२०५५ः६००) उल्लेख गरिएको थियो।
त्यस वेला युद्धका लागि हठ गर्ने भीमसेन थापाले बन्दूक उठाएर कहीं कतै युद्ध लडेको इतिहास पढ्न पाइँदैन। यस्ता युद्ध सम्बन्धी अनुभवविहीन मानिस राज्यको मुख्तियार र सेनाका सर्वोच्च कमान्डर जनरल थिए। उता युद्धका लागि समयको प्रतिकूलता बुझेर तत्काललाई युद्ध रोक्नुपर्ने विचार राख्ने अमरसिंह थापाले भने जीवनको ४८ वर्ष युद्धमोर्चामै बिताएका थिए। तर, अनुभवविहीन र महत्त्वाकांक्षी यी नवयुवक अधिनायकले बडाकाजीको सल्लाह नमान्दाको परिणाम एक तिहाइ भूभाग गुमाउँदै नेपालले सुगौली सन्धिमा हस्ताक्षर गर्नुपर्यो।
तत्कालीन सामरिक परिस्थितिलाई ध्यानमा राख्दै अङ्ग्रेजको अवस्थामाथि पनि विचार पुर्याउँदै अनेकौं कूटनीतिक भूमिकाका साथ अङ्ग्रेजसँग सम्बन्ध सन्तुलित राख्न अमरसिंहले अङ्ग्रेज सैन्य अधिकारी अक्टरलोनीका छोरा लुनिअखतरसँग आफ्ना छोरा रामदासको मितेरी सम्बन्ध पनि गाँसिदिएका थिए। उनले यस सम्बन्धबारे जानकारी दिन भीमसेन थापाका बाबु जनरल अमरसिंह थापा (साना) लाई विसं १८७० मङ्सिर सुदि १ रोज ३ मा बागलबाट एक पत्र पठाएका थिए।
पत्रमा ‘...लुखिअषत्तरको छोरा अषतरलुनिको र रामदास थापा अर्जुन थापा २ मा एकाको पगरी बदल् गर्न्या हो भन्या कुरा भया. अर्जुन् थापासंग उमेर नमिलन्या भयो र रामदास थापाको र लुनिअषत्तरका छोरा अषत्तरलुनिको मित्यारी गराउन्या काम भयो. उ २ को बदलाबदलीमा १ पगरी १ दोसाला १ थान किंषाप् १ पगरीमा बाधन्या जडाउको सिर्पेच दोपटा १ थान वनारसी अतलस् १ रुमाल र २ अश्रपि राषि रामदास् थापालाइ उसले दियो. १ पगरी १ दोसाला १ थान किंषाप १ थान् कोचीन् १ थान मलमल २ अश्रपि १ ताजि घोडा रामदासले उसलाई दियो...१ असर्पि राषि रामदास थापाले लुनिअषत्तरको सलाम गर्यो काजीका वेटाले मेरो सलाम गर्यापछि हाम्रा वेटाले काजीको सलाम गन्र्या जोग्य हो काजीको सलाम गर भन्या कुरा लुनिअषत्तरले भन्दा १ असर्पि राषि अषत्तरलुनिले मेरो सलाम गर्यो’ भन्ने उल्लेख छ (महेशराज पन्त, पूर्णिमा पूर्णाङ्क ९–वैशाख २०२३ः५१)।
अमरसिंह थापाका चार जना मुख्यानीबाट १० जना छोरा भए, तीमध्ये अक्टरलोनीका छोरासँग मितेरी गाँसिएका रामदास उनकी साहिँली मुख्यानी धर्मवतीका तर्फबाट जन्मेका ६ छोरामध्ये पाँचौं छोरा हुन् (महेशराज पन्त, पूर्णिमा पूर्णाङ्क ५८–चैत २०४०ः५८)।
बडाकाजी अमरसिंह थापाले गढवालको स्थिति राम्ररी बुझेका थिए। स्थानीय रजवाडाहरूका साथै अङ्ग्रेज सरकारसँग मैत्री सम्बन्ध राखी नेपाली शक्तिलाई त्यस क्षेत्रमा मान्य र स्वीकृत बनाउने नीति लिएका थिए। सैनिक अभियानबाट आर्जन गरेको क्षेत्र पूर्णतः दखल हुन गाह्रो पर्ने ठानी उनले त्यहाँका जनतालाई हात लिएर वरपरका शक्तिलाई पनि आफ्नो पक्षमा मिलाई बलियो शक्तिसँग मित्रता गरी अलिकति छाड्न परे पनि छाड्ने र पूरै क्षेत्रमा हात नधुने, आफ्नो अस्तित्व मजबूत बनाउने नीति लिएकै हुनाले आफ्नो उद्देश्य प्राप्तिका लागि गढवाल क्षेत्रमा खटिएका अङ्ग्रेज सैन्य अधिकारी अक्टरलोनीका छोरासँग आफ्नो छोराको मितेरी साइनो गाँसिदिएका थिए (डा. इन्दिरा जोशी, नेपाल–अङ्ग्रेज युद्ध–२०६३ः९९)।
केन्द्रबाट असहयोग
त्यो युद्धको वेला अङ्ग्रेजको सैन्य बल अगाडि गोरखाली सैन्य बल ज्यादै कम थियो। यो यथार्थ अनुभवी भारदार बम शाह र अमरसिंह थापालाई राम्रोसँग थाहा थियो। धनका कमीले सैन्य बल बढाउन नपाएको हुनाले अमरसिंहले आर्कीमा टक्सार खोलेर काठमाडौंका टक्सारबाट निस्कने चाँदीका टक बराबरका नयाँ टक राजा गीर्वाणयुद्धकै नामबाट ढाल्न थाल्दा भीमसेन थापाले रोकिदिएका थिए। धनकै कमीले अमरसिंहले नयाँ किल्ला, गढी बनाउन र पुराना मर्मत गर्न सकिरहेका थिएनन्। मुख्य नाकामा रहेको नालापानी किल्ला भत्किरहेको थियो (आचार्य, उहीः१७)।
अङ्ग्रेज विरुद्धको युद्धका वेला पश्चिमतर्फको मोर्चाबाट लडिरहेका अमरसिंहले केन्द्रबाट सैन्य, आर्थिक र बन्दोबस्तीको खासै सहयोग पाएका थिएनन्। त्यस युद्धमा बुटवलपूर्व मोरङसम्मको युद्धमा भीमसेन थापाका भाइहरू र भतिजाले युद्ध सञ्चालन गरिरहेका र यस क्षेत्रमा सरकारको प्रत्यक्ष र सक्दो आर्थिक र बन्दोबस्ती पुगेको थियो। जबकि, पश्चिमतिर बम शाह र अमरसिंह थापा आआफ्नै खुट्टामा उभिएर युद्धको खर्च र बन्दोबस्ती मिलाउन बाध्य थिए (डा. प्रेमसिंह बस्न्यात, नेपाल–अङ्ग्रेज युद्धको २०० वर्ष–२०७१ः१७०–१७१)।
भीमसेन थापाले आफ्ना भाइ–भतिजाले सम्हालेको युद्ध मोर्चा र अमरसिंह थापाले सम्हालेको युद्ध मोर्चामा विभेद गरेको देखिन्छ। अमरसिंहले मोर्चा सम्हालेको ठाउँमा कुमाउनी र गढवालीहरूले नेपाली विरुद्ध विद्रोह गरेर दुःख पनि दिइरहेका थिए भने यो ठाउँ केन्द्रदेखि ३५० कोस टाढा थियो। समयमै खबर आदानप्रदान गर्न पनि गाह्रो थियो (बस्न्यात, उहीः१७२)।
जसलाई अङ्ग्रेजले किन्न सकेन
अमरसिंह थापाले आफ्नो सैन्य जीवनमा कति तलब खान्थे भन्ने तथ्य पनि उपलब्ध छ। विसं १८६८ वैशाख सुदि १० मा तत्कालीन राजा गीर्वाणयुद्धले कुमाउ तथा गढवाल क्षेत्रमा खटिने सैन्य अधिकारी तथा जवानहरूलाई पठाएको तलब रुपैयाँ विवरणमा सरदार अभिमर्दन र निर्भयसिंहको नाममा रु. ६००/–, काजी रणजित कुँवरको नाममा रु. १०००/–, काजी अमरसिंह थापाका नाममा रु. १०००/–, काजी रणजोर थापाको नाममा रु. १०००/– र चौतरिया बम शाहको नाममा रु. १३०५/– पठाइएको उल्लेख छ (महेशचन्द्र रेग्मी, रेग्मी रिसर्च सेरिज वर्ष ३ अङ्क ६–जुन १९७१ः१४५–१४८)। यसबाट हेर्दा अमरसिंहले त्यति वेलाको चलन अनुसार वार्षिक एक हजार रुपैयाँ तलब बुझ्ने रहेछन्।
युद्ध चलिरहेका वेला अमरसिंहलाई अङ्ग्रेजका तर्फबाट ठूलो रकम घूसको प्रस्ताव पनि आएको थियो। त्यस वेला सहरानपुरबाट २९ डिसेम्बर १८१४ (१६ पुस १८७१) जोन एडमले अक्टरलोनीलाई एउटा लामो पत्र पठाई अमरसिंहलाई किन्ने प्रयास गरेका थिए। उनलाई उनको अख्तियार भएको भूभाग गोग्रादेखि पश्चिमका सबै क्षेत्रको साथै आफ्नो मातहतका सम्पूर्ण गोरखालीलाई अङ्ग्रेजसँग मिल्न लगाई त्यस बापत जमीनबाट हुने आय वार्षिक रु.३००००/– र पारिवारिक भत्ता रु. २४०००/– गरी रु. ५४०००/– का साथै उनलाई भारतीय स्थानीय रजवाडा सरहको मान्यता दिने शर्तमा मनाउन खोजिएको थियो (डा. इन्दिरा जोशी, नेपाल–अङ्ग्रेज युद्ध–२०६३ः५३)। तर, अक्टरलोनी मार्फत आएको घूसको प्रस्तावलाई उनले ठाडै अस्वीकार गरे (आचार्य, उहीः२९)।
उनी घूस रकममा बिकेका भए तत्कालै धनाढ्य हुने थिए। उनको तलबभन्दा अङ्ग्रेजद्वारा प्रस्तावित वार्षिक पारिवारिक भत्ता नै २५ गुणा बढी थियो।
नेपाल–अङ्ग्रेज युद्धपछि शक्ति केन्द्रीकरण गर्ने उद्देश्यका साथ भीमसेन थापाले गरेको सुधारका क्रममा पहिले जस्तो घरको मूल व्यक्तिको नामबाट परिवारका सबै छोराहरूले एकै रूपमा खान्गी पाउने व्यवस्था हटाइयो। यसबाट आफ्ना छोराहरू बेरोजगार हुँदा बडाकाजी अमरसिंह सशङ्कित भए। उनले उक्त कार्य आफूलाई निहत्था र एक्लो बनाउँदै दुर्नाम गराउने षड्यन्त्रको उपज ठाने। युद्धका समयको आफ्नो अदम्य साहस र बलिदानलाई ओझेल पारिएकाले उनी खिन्न बन्न पुगेका थिए। भीमसेन थापासँग उनको वैमनस्यता र व्यक्तित्वको लडाइँ शुरू भएको थियो (जोशी, उहीः४५)।
भीमसेनको कोपभाजन
बाबुराम आचार्य (जनरल भीमसेन थापाः यिनलाई मैले जस्तो देखेँ–२०६५ः२) अनुसार, भीमसेन थापाको जन्म ९ साउन १८३२ मा भएको हो। उनी जन्मनुभन्दा सात वर्षअघिदेखि नै बडाकाजी अमरसिंह युद्ध मोर्चामा होमिन शुरू गरिसकेका थिए। भीमसेन जन्मनुभन्दा ठीक एक वर्षअघि गोरखाली राज्य विस्तार अभियानमा सरिक उनले नेपालको साँध पूर्वमा कन्काई नदीसम्म पुर्याइसकेका थिए।
आफूभन्दा पाका र अनुभवी अमरसिंहलाई भीमसेनले आफू शक्तिमा आएपछि कोपभाजनको शिकार बनाएका थिए।
नेपाली सेनालाई आधुनिक बनाउने र अङ्ग्रेजहरूले जस्तै सैन्य सेवाको जनरल, कर्णेल जस्ता उच्च पद भीमसेनले आफ्नो परिवारका लागि एकलौटी जस्तो बनाएका थिए। आचार्य (उहीः३३) अनुसार, नेपाली सैनिकहरूका लागि गोलाबारुद तथा हातहतियार निर्माण गर्ने कारखाना खोलिंदा काजी भीमसेन थापा स्वयं नवगठित कम्पु–पल्टनहरूका ‘जनरल’ भए। आफ्ना बाबु काजी अमरसिंह थापा (साना) लाई पनि ‘जनरल’ कै पदमा पदोन्नति गराइदिए। कान्छा भाइ रणवीरसिंह थापालाई ‘कर्णेल’ पदमा नियुक्त गरे। आफ्ना परिवार बाहेकका अन्य व्यक्तिहरूले भने सैनिक सेवामा अफिसर बन्ने मौका पाएनन्।
भीमसेनले भतिजा माथवरसिंहलाई कप्तानबाट एकैपटक कर्णेल बनाएका थिए। साहिला भाइ काजी बख्तवारसिंह थापाका दुई छोरा त्रिविक्रम थापा र नारायणसिंह थापा, कान्छा भाइ रणवीरसिंह थापाका जेठा छोरा शेरविक्रम, माहिला युद्धविक्रम, काहिंला भीमविक्रमलाई कर्णेल पद दिइएको थियो। माथवरसिंह थापाका एक मात्र छोरा रणवजीरसिंह पनि आफ्नो बाबुको कार्यकालमा कर्णेल थिए (बाबुराम आचार्य, जनरल भीमसेन थापाः यिनको उत्थान तथा पतन–२०६९ः४–५)।
तर, बडाकाजी अमरसिंहलाई आधुनिक किसिमको उच्च दर्ज्यानी प्रदान गरिएन। उनलाई धेरै वर्षदेखि काजीमै सीमित राखियो। त्यस वेला दर्ज्यानी सन्तुलन नमिलाई सैनिक नेतृत्व बाँडफाँड गर्नुलाई पनि कमजोरी नै मान्नुपर्छ (बस्न्यात, उहीः१७१)।
त्यतिखेर अमरसिंह थापाले सक्दो बलबुता लगाएर काँगडा किल्ला घेरिरहेको अवस्थामा भीमसेन थापाले आफ्ना भाइ काजी नयनसिंहलाई त्यसतर्फ पठाए। नयनसिंह पनि आफ्ना मातहतका फौज मात्र लिएर अगाडि बढे। पहिल्यैदेखि काँगडा युद्धको मोर्चा हाँकिरहेका अमरसिंहको राय–सुझावको उनले कुनै वास्ता गरेनन्।
नयनसिंह युद्धमा विजय हासिल त गर्दै थिए, तर शत्रु पक्षले हानेको गोलीले उनी ढले। तीन दिनपछि उनको मृत्यु भयो। यसले पनि अमरसिंहमा ठूलो आघात पर्यो। यस्ता मानसिक चोटका कारण हरसम्भव प्रयत्न गर्दा पनि उनले काँगडामा जित हासिल गर्न सकेनन् (जोशी, उहीः४०)।
आफ्ना भाइले काँगडा युद्धमा मृत्युवरण गरेको (१८६३ साल) पाँच वर्षपछि भीमसेनले बडाकाजी अमरसिंहलाई होच्याउने अर्को काम गरे। उनले काँगडाको युद्धमा अमरसिंहले देखाएको साहसिक कामहरू ओझेलमा पार्ने क्रममा १८६८ सालमा बागमतीमा एउटा ऐतिहासिक स्तम्भ राख्न लगाए। भीमसेन अमरसिंहलाई कुनै जस दिन चाहँदैनथे। उक्त ऐतिहासिक स्तम्भमा अमरसिंहले गरेका साहसिक कार्यको उल्लेख नगरी आफ्ना नवयुवक भाइ नयनसिंहले गरेको कार्यको प्रशंसा गरेर अमरसिंहको साहस र वीरतालाई छोपी उनको पुरुषार्थ र निर्भीकतामाथि अप्रत्यक्ष प्रहार गर्ने अविवेकी काम भीमसेन थापाबाट भयो (जोशी, उहीः४१)।
अझ भीमसेनले केन्द्रमा बसेर आवश्यक रसदपानी उपलब्ध नगराउँदा र सैनिक बल पनि पर्याप्त नथपिदिंदा युद्धक्षेत्रबाट अमरसिंह पछाडि हट्न बाध्य भएका थिए। यस तथ्यलाई ढाकछोप गर्दै भीमसेनले ‘भारदार सिपाही फौज खजाना अनाजको बरोबर चाँजो मिलाई राखेकोमा मुहुडाका भारदार (अमरसिंह थापा) ले झकमारी बखतको चाँजो सुर विराइदिँदा उट्ठा लागि शतरुद्रा (सतलज) को लस्कर महाकाली आइपुगेछ’ भन्नेसम्मको अबगाल अमरसिंहमाथि थोपरेको देखिन्छ (ज्ञानमणि नेपाल, नेपालको महाभारत–२०५२ः२३२)।
तीर्थयात्राकै क्रममा निधन
दुई वर्षसम्म चलेको नेपाल–अङ्ग्रेज युद्धपछि भारतीय भूमि सुगौलीमा इस्ट इन्डिया कम्पनी सरकार र नेपालबीच ९ मंसीर १८७२ मा सन्धिको प्रारूप तयार भयो। कम्पनी सरकारका तर्फबाट कर्णेल ब्राड्–शा र नेपाल सरकारका तर्फबाट राजगुरु गजराज मिश्र र टक्सारी चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरे। तर, सन्धिको प्रारूपमा राजा गीर्वाणयुद्धको तर्फबाट लालमोहर लगाउन भीमसेन थापा र यिनका सहयोगीहरूले आनाकानी गरिदिए। त्यसो हुँदा क्रुद्ध भएका अङ्ग्रेजले अक्टरलोनीको नेतृत्वमा फौज पठाई काठमाडौं नै आक्रमण गर्ने लक्ष्य बनाए। फेरि युद्ध चर्कियो (आचार्य, उहीः१४१)।
अङ्ग्रेजहरू आक्रामक रूपमा आइरहेका र नेपाली सेना प्रतिरक्षात्मक रहेको अवस्थामा २३ फागुन १८७२ मा सुगौलीमा तयार भएको सन्धिपत्रको प्रमाणित प्रति मकवानपुर लगेर कम्पनी सरकारलाई नेपाली पक्षले बुझाइदियो (आचार्य, उहीः१४४)।
नेपाल–अङ्ग्रेज युद्धपछि अमरसिंहमा वितृष्णा जाग्यो। उसै त उनलाई भूमिकाविहीन बनाइएको थियो। उनले आफूलाई निष्क्रिय बनाए। भीमसेन थापासँग उनको भित्री आँत मिलिरहेको थिएन। त्यसैले उनी मानसिक शान्तिका लागि गोसाइँकुण्ड गएका थिए। उनी असहाय अवस्थामा थिए। उनको कुनै रेखदेख भएन (जोशी, उहीः७८)।
उनी गोसाइँकुण्ड पुगेर त्यहीं दुई महीना जति बसे। त्यहाँ दशहराको मेला भर्न उनी जेठ १८७३ मा गएका थिए। जनैपूर्णिमाको मेला भरेर काठमाडौं फर्कने उनको विचार थियो। त्यसैले त्यहाँ उनी पूजापाठ गरेर बसेका थिए। तर, जनैपूर्णिमाको १० दिनअघि साउन शुक्ल चतुर्थी उप्रान्त पञ्चमी (साउन १२) राति पौने १२ बजे उनको निधन भयो। निधन हुनुभन्दा १०/१२ दिनदेखि उनी शूलको व्यथाले थलिएका थिए। बघाटबाट बिहे गरेर ल्याइएकी उनकी कान्छी मुखिनी उनीसँगै भएकीले आफ्ना पतिको लाशसँगै सती गइन्। डोटीबाट बिहे गरेर ल्याइएकी मुखिनी चाहिं काठमाडौं घरैमा भएकीले उनले आर्यघाटमा सतीका लागि अनुमरण गरिन् (पन्त, उहीः४६)।
पृथ्वीनारायण शाहको समयदेखि चार पुस्ताका राजाको शासनकालमा बडाकाजी अमरसिंहले नेपालको राज्य विस्तार र रक्षाका लागि ठूलो पराक्रम देखाए। तर, जीवनको अन्तिम समयमा भूमिकाविहीन अवस्थामा विरक्त भएर तीर्थयात्राकै क्रममा ६५ वर्षको उमेरमा उनले प्राण त्यागे।