यस्तो छ चन्द्रशम्शेरले बनाएको गद्दी बैठक (तस्वीरहरू)
युरोपेली वास्तु शैलीमा निर्माण गरिएको काठमाडौंको वसन्तपुर दरबार क्षेत्रस्थित गद्दी बैठकको अब सबैले अवलोकन गर्न पाउने भएका छन्।
हनुमानढोका संग्राहलय विकास समितिले १४ चैतदेखि सर्वसाधारणका लागि खुला गरेको हो। २०७२ सालको भूकम्पले क्षति पुगेको गद्दी बैठकको पुनर्निर्माण भएसँगै सर्वसाधारणका लागि खुला गरिएको हो।
भूकम्पले क्षति पुर्याएको गद्दी बैठक भवन अमेरिकन एम्बास्डर्स फन्ड फर कल्चरल प्रिजर्भेसन र नेपाल सरकारको सहयोगबाट पुनर्निर्माण गरिएको हो।
सर्वसाधारणका लागि खुला गरिएसँगै नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुने हनुमानढोका संग्राहलय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनाल बनाउँछन्। “लामो समयदेखि भूकम्पको मारमा परेर बन्द भएको हनुमानढोका संग्रालयलाई यो बैठक कक्षको प्रदर्शनीले एक नयाँ गन्तब्यको रुपमा विकास हुन्छ भन्ने आशा राखेका छौ,” उनी भन्छन्।
गद्दी बैठकको अवलोकन गर्ने र नेपालको राजनीतिक गतिविधिबारे जान्न खोज्नेहरूका लागि गद्दी बैठक राम्रो खुराक हुने उनको भनाइ छ।
प्रधानमन्त्री चन्द्रशम्शेर राणाले विसं १९६५ मा यसको निर्माण गरेका थिए। त्यति वेला विदेशी पाहुनालाई स्वागत गर्न, ओहोदाको प्रमाणपत्र दिन तथा राज्यका महत्त्वपूर्ण बैठकका लागि गद्दी बैठक प्रयोग हुने गरेको थियो।
ऐतिहासिक गद्दी बैठक अवलोकनका लागि अतिरिक्त शुल्न नलाग्ने खनालले बताए। हनुमानढोका दरबार प्रवेशका लागि लाग्ने शुल्कमै गद्दी बैठक अवलोकन गर्न पाइनेछ।
समितिका अनुसार, हनुमानढोका दरबार प्रवेशमा नेपालीले ३० रुपैयाँ र विदेशीले ३०० रुपैयाँ तिर्नुपर्छ। विद्यार्थीलाई सहुलियत स्वरूप १५ रुपैयाँ शुल्क तोकिएको छ।
गद्दी बैठकको तल्लो तलामा रहेका तीन वटा ग्यालरीमा ऐतिहासिक हातहतियार राखिएका छन्। जसमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियार पनि छन्।
त्यस्तै, भुइँतलामा नेपाल एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विभिन्न घटनाक्रम समेटिएका तस्वीर राखिएका छन्। शाहवंशीय राजाहरूको ११ पुस्ताकै तस्वीर पनि राखिएको छ। अडियो भिडियो कक्षमा विभिन्न जात्रा र पर्वसँग सम्बन्धित द्वश्य र वृत्तचित्र हेर्ने व्यवस्था गरिएको छ।
यससँगै हनुमानढोका क्षेत्रका सय वर्ष पुराना तस्वीर पनि हेर्न सकिनेछ। जुन राजदरबारका फोटोग्राफर दिर्गमान चित्रकार, गणेश चित्रकार र किरण चित्रकारका संकलन हुन्।