इलाममा टिकटिके झारको प्रकोप
हाइपोएस्टिस जाति अन्तर्गतको टिकटिके झारले खेती–किसानीमा समस्या पारिरहँदा यसको नियन्त्रणमा सरकारी अग्रसरताको खाँचो देखिएको छ।
गत पुसको अन्तिम साता इलाम बरबोटेका नरेन्द्रकुमार गुरुङले कफी खेती गरेको बारीमा टिकटिके झार देखाउँदै यसले दिएको हैरानी सुनाए। त्यस क्षेत्रमा टिकटिके झारले किसानलाई निकै सताएको रहेछ। डेढ–दुई फिटसम्म अग्लो हुने यो झारको पातमा हल्का प्याजी रङका थोप्ला थिए। थोप्लाहरू टीका जस्ता भएका कारण यसलाई त्यहाँ टिकटिके झार भनिंदो रहेछ।
गुरुङले बताए अनुसार, टिकटिके झार उखेलेर फाले पनि नमर्ने रहेछ। यसको डाँठले अलिकति भुइँ छोयो भने बाँच्ने रहेछ। बाक्लै उम्रने र यो उम्रेका ठाउँमा अन्य वनस्पति सप्रिन नसक्ने भएकाले किसान आजित रहेछन्।
चाँडै फैलिने र अरूलाई मिच्ने प्रकृतिका वनस्पतिलाई ‘इन्भासिभ स्पेसिस्’ (आक्रामक प्रजाति) र तिनीहरू अन्य मुलुकबाट भित्रेका भए ‘इन्भासिभ एलियन स्पेसिस’ भनिन्छ। टिकटिके वनस्पति चाँडै फैलिने र हत्तपत्त नमर्ने भएकाले यो इन्भासिभ एलियन स्पेसिस भन्न सकिने स्थितिमा देखियो।
अनुसन्धाताहरूले यो झारलाई ‘पोल्का डट प्लान्ट’ नाम दिएका छन्।
पोल्का डट प्लान्ट
नेपालमा इन्भासिभ एलियन स्पेसिस वनस्पतिको शुरूआती अध्ययन मोहन शिवाकोटी र भास्कर अधिकारीले गरेका थिए। उक्त अध्ययन प्रतिवेदन सन् २००५ मा एन इन्वेन्टोरी एन्ड एसेस्मेन्ट अफ इन्भासिभ एलियन प्लान्ट स्पेसिस अफ नेपाल पुस्तकका रूपमा प्रकाशित छ। त्यसपछि केन्द्रीय वनस्पति विभागका भरतबाबु श्रेष्ठ डेढ दशकयता यसको अध्ययनमा लागिरहेका छन्।
श्रेष्ठले यो वनस्पतिको तस्वीर हेर्ने बित्तिकै यसको नाम ‘पोल्का डट प्लान्ट’ भएको बताए। यो वनस्पति केही वर्षअघि इलामबाट माईपोखरीतर्फ लाग्दा सडकछेउ देखेको बताए। तर, यो के कति फैलिएको छ भनेर अध्ययन भएको रहेनछ।
पोल्का भनेको चेकोस्लोभाकियामा महिला र पुरुषको जोडीले नाच्ने लोकप्रिय नृत्य हो। विभिन्न रङका बुट्टा भएका पहिरन लगाएर यो नृत्य प्रस्तुत गरिन्छ। टिकटिकेको पात पनि पोल्का नृत्यमा लगाइने पहिरन जस्तै देखिने भएकाले पोल्का डट प्लान्ट भनिएको रहेछ।
यो वनस्पति विशेषतः घर सजाउन गमलामा रोपिन्छ। घर तथा बगैंचाबाट बाहिरिएर यसले आक्रामक स्वरूप ग्रहण गरेको पढ्न पाइन्छ। यसर्थ, बाहिरिया वनस्पति राम्रो हुँदैमा फूलका रूपमा बगैंचामा भित्र्याउनु घातक हुने रहेछ।
यो वनस्पति भारतमा पहिलो पटक सन् २००१ मा केरल राज्यमा भेटिएको थियो। इलामको सीमा नजिकै दार्जीलिङस्थित महानन्द वाइल्डलाइफ स्याङचुरीमा देखिएको जानकारी पहिलो पटक सन् २००९ मा प्लेओनी जर्नलको वर्ष ३ अङ्क २ मा प्रकाशन भएको थियो।
हाइपोएस्टिस जाति
पोल्का डट प्लान्ट असुरो भनिने वनस्पतिको परिवार एकान्थेसी अन्तर्गत सम्बद्ध छ। यो परिवारका धेरै जाति-प्रजाति फूलका रूपमा रोपिन्छ। पोल्का डट प्लान्ट हाइपोएस्टिस जाति अन्तर्गतको वनस्पति हो। हाइपोएस्टिस ग्रीक भाषाको हाइपो र एस्टिया शब्द मिलेर बनेको हो। हाइपोले मुनि र एस्टियाले घर भन्ने जनाउँछ। यो वनस्पतिमा रहने ब्राक्ट भनिने आकृतिले फूल वा फूलको कोपिलालाई ढाकेर जोगाएर राखेको हुन्छ। ब्राक्टरूपी घरभित्र वा मुनि रहने फूल भन्ने अर्थमा यो वनस्पति जातिलाई हाइपोएस्टिस नामकरण गरिएको हो।
संसारभर हाइपोएस्टिस जाति अन्तर्गत जम्मा १३८ प्रजाति पहिचान भएका छन्। तीमध्ये करीब ९० प्रतिशत पूर्वी अफ्रिकाको टापु राष्ट्र मादागास्करमा छन्। हाइपोएस्टिसका १३८ प्रजातिमध्ये ९४ प्रजाति त मादागास्करको स्थानीय प्रजाति हुन्, जुन त्यो देश बाहेक अन्यत्र प्राकृतिक रूपमा पाइँदैन। हाइपोएस्टिस जातिको अभूतपूर्व उद्विकास केन्द्र रहेको मादागास्करमै हाइपोएस्टिस फिलोस्टाकिया अर्थात् पोल्का डट प्लान्टको पनि उद्विकास भएको हो।
हाइपोएस्टिस जातिको वनस्पति अस्ट्रेलिया, भारत, कोलम्बिया, मेक्सिको, एलसाल्भाडोर, ग्वाटेमाला, होन्डुरस, पानामा, पाराग्वे आदि देशमा फैलिएको अभिलेख पाइन्छ। हाइपोएस्टिस लानाटा (महाराष्ट्र) र हाइपोएस्टिस इन्भोलुक्राटा भारतको स्थानीय प्रजाति हुन्। यो जाति अन्तर्गत धेरै देशमा प्राकृतिक अवस्थामै फैलिएको हाइपोएस्टिस ट्राइफ्लोरा हो। यो प्रजाति नेपालमा प्राकृतिक रूपमै पाइन्छ।
हाइपोएस्टिस फिलोस्टाकिया
पोल्का डट प्लान्टको वैज्ञानिक नाम हो, हाइपोएस्टिस फिलोस्टाकिया हो। यो २०/३० सेन्टिमिटर अग्लो, मुख्य काण्डमा पात निस्किएको ठाउँबाट हाँगा पलाएको हुन्छ। एउटा पात जहाँ पलाएको हुन्छ, त्यसको ठीक अर्कोपट्टि पात पलाउँछ। पात २ देखि ४.५ सेन्टिमिटर लामो र १ देखि २.५ सेन्टिमिटर चौडासम्म र आकार वरको पात जस्तो तर टुप्पो अलि चुच्चो हुन्छ। यो मंसीरदेखि चैतसम्म फुल्ने र फल्ने गर्छ।
इलाममा हाइपोएस्टिस फिलोस्टाकिया २०/२५ वर्षयता देखिएको आधारमा त्यहाँ त्यस वेला यो वनस्पति कसैले रोप्न ल्याएका थिए होला। त्यसपछि इलाममा फैलियो। यो वनस्पति नेपालमा भेटिएको जानकारी सन् २०१२ मै प्रकाशन भएको छ।
नेपालमा धेरैजसो इन्भासिभ एलियन स्पेसिस पूर्व सीमाबाटै भित्रिएको छ। वनमारा, लहरे वनमारा (प्याङ्ग्री लहरा) पनि पहिले इलाममा भेटिएका थिए। इलाममा पहिलो पटक भेटिएकै कारण एक अर्को इन्भासिभ एलियन स्पेसिसलाई इलामे झार नाम दिइएको छ। दक्षिण पूर्व एशियामा फैलिएका वनस्पति नेपाल प्रवेशमार्ग विशेषतः इलाम नै भएकाले हाइपोएस्टिस फिलोस्टाकिया पनि इलामबाटै भित्रिएको हुनुपर्छ।
यो वनस्पतिले खेतीपाती उब्जनीमा व्यापक असर गरेको छ। अन्य वनस्पतिका लागि पनि हानिकारक हुने भएकाले यसले जैविक विविधतामा समस्या पार्छ। नेपाल सरकारले इन्भासिभ एलियन स्पेसिस नियन्त्रण गर्न पाइला नचालेको होइन। यस सम्बन्धी निर्देशिकाको मस्यौदा केही वर्षअघि नै तयार भएको थियो। वन तथा वातावरण मन्त्रालयका सहसचिव शिवकुमार वाग्लेले एक कार्यक्रममा इन्भासिभ एलियन स्पेसिस नियन्त्रण गर्ने निर्देशिका मन्त्रालयमा अल्झिरहेको बताए। यसलाई कार्यान्वयनमा ल्याए यस्ता हानिकारक झारप्रति कम्तीमा सचेतना फैलिन्थ्यो।
तर, सरकारी अग्रसरता नदेखिंदा किसान अन्योलमा छन्। यसले उत्पादनमा समस्या पारिरहेको छ। नियन्त्रण कसरी गर्ने भन्ने किसानलाई अत्तोपत्तो छैन।
वन तथा वातावरण मन्त्रालय बाहेक पनि केन्द्रमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहत कृषि विकास महाशाखा, कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखा, योजना तथा विकास सहायता समन्वय महाशाखा आदि छन्। यो मन्त्रालय तथा महाशाखा सम्बद्ध निकाय प्रदेश तथा जिल्लाहरूमा पनि होलान्। तिनीहरूले वन मन्त्रालयसँग समन्वय गरेर इन्भासिभ एलियन स्पेसिस नियन्त्रणमा पहलकदमी लिन सक्छन्।
साथै, पालिकाहरूले आफ्नो क्षेत्र र छिमेकी पालिकामा रहेका हानिकारक वनस्पति प्रजातिबारे चनाखो भएर यसलाई नियन्त्रण गर्नेमा योजना बनाउनुपर्छ।