वैदेशिक रोजगारीका विविध आयाम समेटिएको ‘परदेशको पसिना’ सार्वजनिक
वैदेशिक रोजगारी र रेमिट्यान्सका अर्थ-सामाजिक आयाम समेटिएको पुस्तक परदेशको पसिना सार्वजनिक भएको छ।
किताब पब्लिसर्सले बजारमा ल्याएको यस पुस्तकको सम्पादन लेखक तथा पत्रकार यज्ञशले गरेका हुन्। यसमा वैदेशिक रोजगारीको इतिहास, रेमिटेन्सबाट प्राप्त धनको वर्तमानमा समाजमा महत्त्व, रेमिटेन्सको प्रयोगबारे स्थापित मान्यता र अवधारणामाथि प्रश्न गरिएको छ।
त्यस्तै, वैदेशिक रोजगारीमा जानेहरूको अवस्था, वैदेशिक रोजगारीमा महिला, दलित समुदायको आर्थिक उत्थानमा यसको भूमिका, वैदेशिक रोजगारीबारे सरकारी नीति जस्ता विषयमा चर्चा गरिएको किताब पब्लिसर्सकी कार्यकारी अधिकृत कल्पना ढकालले बताइन्।
सम्पादक यज्ञशले यस पुस्तकमा वैदेशिक रोजगारीका अर्थ-सामाजिक आयामबारे तथ्यपरक विश्लेषणको प्रयास गरिएको बताए।
“देशको अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा एक चौथाइ योगदान भएको, मानव विकास सूचकाङ्क लगायत सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान भएको र देशमा विकराल बेरोजगारी समस्यालाई निकास दिने वैदेशिक रोजगारीका धेरै आयामबारे चर्चा हुनुपर्ने जस्तो लाग्छ,” सम्पादक यज्ञशले भने। त्यसैको शुरूआतका रूपमा यो पुस्तक आएको उनको भनाइ छ।
यस पुस्तकमा मैना धिताल, राजाराम गौतम, तुलानारायण साह, रमेश कुमार, सजना बराल, रामचन्द्र श्रेष्ठ र जनकराज सापकोटाका सात वटा लेख समाविष्ट छन्। जुन विभिन्न अध्ययन, अनुसन्धान र उपलब्ध तथ्याङ्कका साथमा सम्बन्धित विषयका विज्ञ र ज्ञातासँग कुराकानी गरेर तयार पारिएका हुन्।