एशियन कप : बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट
एएफसी एशियन कप छनोट प्रतियोगिताको तयारीका लागि राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
आगामी वर्ष एएफसी एशियन कप छनोट प्रतियोगिता हुँदै छ। त्यसको तयारीका मुख्य प्रशिक्षक अल्मुताइरीले २४ खेलाडी छनोट गरेको अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनाएको छ।
एशियन कपको छनोट प्रतियोगितामा नेपालसँगै समूह ‘ए’ मा जोडर्न, कुवेत र इन्डोनेशिया छन्। नेपालले पहिलो खेल आगामी २६ जेठमा जोडर्नसँग खेल्नेछ। त्यस्तै, २९ जेठमा कुवेत र ३२ जेठमा इन्डोनेशियासँग प्रतिस्पर्धा गर्नेछ।
छनोट प्रतियोगिता कुवेतमा हुनेछ। यसका लागि २ वैशाखबाट बन्द प्रशिक्षण शुरू हुनेछ।
छनोट भएका खेलाडी: किरणकुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, आरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनीष डाँगी, नवयुग श्रेष्ठ, पूजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी र तेज तामाङ।