दीपेन्द्र र अदिलको विस्फोटक ब्याटिङमा नेपालले बनायो २०३ रन
दीपेन्द्रसिंह ऐरी र मोहम्मद अदिल आलमले विस्फोटक ब्याटिङ गरेपछि नेपालले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा २०३ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पपुवा न्यूगिनीसँगको खेलमा नेपालले सात विकेटको क्षतिमा २०३ रन बनाएको हो। नेपालका लागि ऐरी र आलमले विस्फोटक ब्याटिङ गरे।
ऐरीले ३३ बलमा ६६ रन बनाए भने आलमले ११ बलमा ३१ रन प्रहार गरे। त्यस्तै, नेपालका लागि रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन बनाए।
पपुवा न्यूगिनीका लागि कबुआ मोरियाले तीन, रिलेई ह्याकुरले दुई, नर्मन भनुआ र नोसैना पोकनाले एक-एक विकेट लिए। टस जितेको पपुवा न्यूगिनीले नेपाललाई ब्याटिङको निम्ता गरेको थियो।