युक्रेन युद्ध र साना मुलुकलाई पाठ
युक्रेनमाथिको रूसी आक्रमणले साना मुलुकलाई राजनीतिक, आर्थिकसँगै सामरिक दृष्टिले पनि कहाँ उभिने भन्ने विषयमा गम्भीर हुन सचेत गराएको छ।
युक्रेनलाई रूससँगको युद्धमा खुलेर सहयोग गरेको मुलुक पोल्यान्डको राजधानी वारसवमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी ‘वर्षौं र दशकौं’ युक्रेनको पक्षमा उभिन विश्व समुदायलाई आग्रह गरे। त्यसको भोलिपल्ट १३ चैतमा आणविक बमबारी भोगेको मुलुक जापानका प्रधानमन्त्री फुमिओ किशिदाले राजधानी टोक्योमा बोल्दै रूस र युक्रेनबीच जारी युद्धलाई दोस्रो विश्वयुद्ध पछिको ‘ग्रेटेस्ट क्राइसिस’ भने।
यी दुई भनाइ ‘वर्षौं र दशकौं’ अनि ‘ग्रेटेस्ट क्राइसिस’ को गठजोड शुभ हुन्छ भन्ने तर्क गर्न गाह्रै पर्ला। बाघले झम्टिनै लाग्दा पनि खाँदैन कि भनी बस्ने बेलायती पूर्व प्रधानमन्त्री नेभिल चेम्बरलैनले लिएको जस्तो सकारात्मक सोचसँग ठ्याक्कै मेल खाने, अङ्ग्रेजीमा ‘पोजेटिभ थिन्किङ’ भनिने ‘अति उत्तरआधुनिक धर्म’ कति खतरनाक हुन्छ भन्ने दोस्रो विश्वयुद्ध ताका नै स्पष्ट भएको थियो। त्यसैले यो लेख त्यसखाले सोच लिनैपर्ने आग्रह बोक्ने पाठकका लागि अनुपयुक्त हुन सक्छ।
‘वर्षौं र दशकौं’ अनि ‘ग्रेटेस्ट क्राइसिस’
अमेरिकी राष्ट्रपति बाइडेनका धेरै आनीबानीमध्ये बढी बोल्ने बानी पनि एक हो। पोल्यान्डको त्यही समारोहमा ‘त्यो मान्छे सत्तामा रहन सक्दैन’ भनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित उनको अभिव्यक्ति त्यही धेरै बोल्ने बानीको उपज थियो। जसको ह्वाइट हाउसले सफाइ दिनुपर्यो। किनकि, बाइडेनको भनाइको अर्थ यो लाग्यो कि ‘अब अमेरिका पुटिनलाई सत्ताच्युत गर्नेतर्फ लाग्छ।’
डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित हुँदा पुटिनले मस्कोबाटै अमेरिकी चुनावै ह्याक गर्न सक्छन् र गरेका हुन् भन्ने निर्क्योलमा अमेरिका पुगेको थियो। त्यसैले ह्वाइट हाउसले तत्काल स्पष्टीकरण दिनुको सोझो अर्थ हो- बाइडेनले नसक्ने कुरा बोले।
स्मरणीय छ, पुटिन सन् १९९९ देखि लगातार सत्तामा छन्। कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति भइरहेका छन्। यो २३ वर्षमा अमेरिकाले थुप्रै देशमा सरकार ढाल्ने र पाल्ने काम गरेको छ। भर्खरकै कुरा हो, अफगानिस्तान सरकार। अमेरिकाले सघाएको राष्ट्रपति अश्रफ घानी सरकार एक हप्ता पनि टिकेन। तालिवानलाई सरकार सुम्पेर अमेरिका गएको छर्लङ्गै छ।
अर्कातिर, जापानी प्रधानमन्त्री किशिदा भने बाइडेन जस्ता बोलक्कड छैनन्। आणविक विध्वंसले पुस्तौं पिरेको मुलुकका बासिन्दा उनलाई युद्धको पीडा थाहा छ। १२ चैतमा ११ सय किलोमिटर टाढा विध्वंस मच्चाउने ल्याकत भएको ह्वसोङ-१७ को सफल परीक्षण गरेको उत्तर कोरिया जस्तो छिमेकीले घरीघरी धम्की सुनिराख्ने जापानी युद्धको गाम्भीर्य छिटो बुझ्छन्। कसैलाई आक्रमण नगर्ने तर कसैले आक्रमण गरे नछोड्ने सन् १९४७ देखिको नीतिमा अडिग जापानको युद्धलाई देर्ने दृष्टि यथार्थको नजिक देखिन्छ।
हिरोसिमा र नागासाकीको त्रासद इतिहासले कुनै समयका असाध्यै शूरा जापानीलाई मुठभेड मन नपराउने बनाइदियो। युद्धको सबैभन्दा विध्वंसक रूप आणविक आक्रमण भोगेको जापानले अहिंसाको बाटो रोज्यो। त्यसैले जापानी युद्धका सङ्केत छिटो बुझ्छन् र तुरुन्तै प्रतिरक्षाका निम्ति गर्न सक्ने तयारीमा जुट्छन्। १५ चैतमा नै जापानले साइबर युद्ध लड्ने दस्ता घोषणा गर्यो।
कसरी तुलना गर्ने? सन् २००८ को आर्थिक मन्दीलाई सन् १९२९ देखि एक दशक चलेको मन्दीसँग तुलना गरियो। त्यस वेला अभाव कहिल्यै नदेखेकाहरू समेत बालबालिकालाई पाउरोटीको जोहो गर्न दैनिक ज्यालादारीमा मजदूरी खोज्दै हिंड्नुपरेका र नपाएका कथाहरू अहिले पनि सजिलै सुन्न, हेर्न र पढ्न पाइन्छन्।
त्यस्तै, अहिले अर्थात् सन् २०१९ को अन्त्यबाट शुरू भएर सन् २०२२ मार्चको अन्त्यसम्म जारी र सकिने सङ्केत नदेखिएको आर्थिक मन्दीलाई केसँग तुलना गर्ने भन्ने विषयमा अर्थशास्त्री छलफलमै छन्। जसरी जारी कोभिड-१९ को महामारी सन् १३४६, १५२० र १९१८ मा फैलिएका व्याधिमध्ये कुनसँग तुलनीय हो भन्ने कुरा चिकित्सा विज्ञानका दिग्गजहरू छलफलमै छन्।
जापानी प्रधानमन्त्री किशिदा छलफल गरिरहेका थिएनन्।
उनको भनाइ स्पष्ट छ- हामी तेस्रो विश्वयुद्धको सन्निकट छौं। दोस्रो विश्वयुद्धमा नराम्ररी पराजित भएपछि आफैंलाई आणविक बमले क्षतविक्षत बनाएको र जनरल डगलस मकआर्थर मार्फत युद्धका विजयीहरूको सात साल शासन खपेको, अनि अमेरिकाकै विश्वास जितेर सम्पन्न र विकसित बनेको मुलुकका प्रधानमन्त्रीले बाघ देखेपछि च्याम्बरलैन पारा ठीक हुँदैन भन्ने नबुझ्ने कुरै भएन।
अहिले उदार विश्व समुदायको नेतृत्वकर्ता अमेरिकाको सामर्थ्यमाथि उसका असाध्यै नजिकका मित्रले सन्देह गरेको निकै भयो। भारतले त पोहोर साल नै रूससँग हुने व्यापारमा अमेरिकी डलरको प्रचलन खारेज गरिसकेको छ। अहिले चीनसँग व्यापार सम्बन्ध बढाइरहेको छ। यस्तो वेला अमेरिकाको आजको विश्व हैसियत आकलनमा युक्रेनका युवा राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चुकेको विश्लेषण हुन थालेको छ।
अर्को अफगानिस्तानको निर्माण
युक्रेनका राष्ट्रपति जेलेन्स्कीको साहस र देश नछोड्ने अडान प्रशंसनीय छ। तर, उनको राजनीतिक सुजबुझ नभएकाले नै मान्नुपर्छ, युक्रेनले दुःख पायो।
युक्रेनले नेटो अर्थात अमेरिकातिर ढल्किंदा भूराजनीतिक सन्तुलन कायम राख्न सकेन। संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार, रूसी आक्रमणबाट गत एक महीनामा ६५ लाख नागरिक आन्तरिक विस्थापनमा परेका छन्। त्यस्तै, ३७ लाख शरणार्थी बनेका छन्। जसमध्ये २० लाख त छिमेकी पोल्यान्डमै प्रवेश गरेका छन्। युद्धको घाउ-पीडा बुझेको पोल्यान्डले छिमेकीको दुःखमा साथ दियो।
विश्व परिवेश यस्तो छ कि अफगानिस्तान र म्यानमारमा गत साल भएका अकल्पनीय जस्ता परिवर्तन अनि त्यसपछि जारी अत्याचारको समाचारलाई रूस-युक्रेन युद्धले पूरै ओझेलमा पारेको छ। म्यानमारमा सफलता प्राप्त गरेको रूस-चीन युक्रेनमा रोकिने छाँट देखिंदैनन्। रूसको युक्रेन आक्रमणले उतै व्यस्त अमेरिकी निगरानीबाट मुक्त चीनको दृष्टि ताइवानमा अडेको देखिन्छ। कुन वेला हस्तक्षेप गर्छ भन्ने सकिन्न।
त्यसैले, कालान्तरमा रूस र चीनले जे जे गर्छन्, हेरी बस्ने कि भिड्ने बाहेक अमेरिकासँग तेस्रो विकल्प के रहला र?
रूसदेखि नेपालको सन्दर्भ
दोस्रो विश्वयुद्धपछि दुई ध्रुवीय विश्व व्यवस्थालाई लामो यत्नपछि सन् १९८९ मा सोभियत संघ ढालेर एकल ध्रुवीय बनाउन सफल अमेरिकासँग ३३ वर्ष थियो रूसलाई मित्र बनाउन। कला, संस्कृति, इतिहास र प्राकृतिक स्रोतले धनी रूसले लेनिनवाद र स्टालिनवादको दुष्प्रभावले समयसँगै ओज गुमाएको थियो। सन् १९८९ पछि कदरको खोजीमा छटपटाएको रूसलाई अमेरिकाले अनादर गर्दै आएको थियो। अझ हलिउड मार्फत रूसलाई खलनायककै भूमिकामा प्रस्तुत गर्न थालियो।
पछिल्लो समय चीनलाई त्यस्तै व्यवहार गरिरहेको अमेरिकाले रूस आर्थिक र सामरिक रूपमा भित्रभित्रै मजबूत भएको हेक्का राखेन। अझ चीनको रफ्तारलाई गम्भीरतापूर्वक लिएन।
यस्तो वेला नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसद्बाट अनुमोदन गरेको छ। यसमा लिने र दिने मात्रै होइन, साक्षी बसेका छिमेकी पनि बेखुश छन्। चिनियाँ विदेश मन्त्री वाङ यीसँग ‘एल्बो शेक’ गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो बेखुशी हटाएकी कि हटाएनन्?
एमीसीसी आफैंमा खराब नभए पनि जुन माहोलमा अनुमोदन भयो, त्यो दुर्भाग्यपूर्ण भयो। त्यसको रकम भित्रिनुभन्दा पहिले नै ब्यांकहरूमा तरलता अभाव छ। सुधार नभए देशको अर्थतन्त्र केही महीनामै सिटामोल किन्न नसक्ने अवस्थामा पुग्ने अर्थविद्हरूले चेतावनी दिन थालिसकेका छन्।
त्यसैले, आर्थिक, सामरिक वा अन्य जुनसुकै रूपमा बाघ आउँदै गरेको बुझेपछि च्याम्बरलैन पथ लिने कि चर्चिल पथ लिने निर्क्योल गर्न जरुरी भइसकेको छ। तर, अहिलेसम्मको अनुभवले भन्छ- सत्तामा ‘पोजेटिभ थिन्किङ’ हावी छ।