गणपूरक सङ्ख्या नपुगेपछि मधेश प्रदेश सभा बैठक स्थगित
गणपूरक सङ्ख्या नपुगेपछि मधेश प्रदेश सभा बैठक स्थगन भएको छ।
बुधबार बसेको प्रदेश सभाको बैठक शुरू हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक परमेश्वर साहले गणपूरक सङ्ख्या उपस्थित नभएकाले बैठकलाई अगाडि नबढाउन सभामुखसँग आग्रह गरेका थिए।
सांसद साहले ध्यानाकर्षण गराएसँगै सभामुख सरोजकुमार यादवले गणपूरक सङ्ख्या छ कि छैन भनेर गणना गर्न लगाएका थिए। गणपूरक सङ्ख्या उपस्थित नभएको पाइएपछि सभामुख यादवले प्रदेश सभा बैठक स्थगन गरेका थिए।
यस्तै, नेकपा (एमाले) का सांसद किशोरी साह ‘कमल’ ले मन्त्रीहरूलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने गरेको जिकिर गरे।
उनले १० पटकसम्म बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः खारेज हुने व्यवस्था भएकाले त्यसतर्फ पनि ध्यान दिन सभामुखलाई आग्रह गरे।
आजको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र वाचन गर्ने, प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची थियो।
त्यस्तै, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले प्रदेश पर्यटन प्रवर्द्धन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो।
प्रदेश सभाको अर्को बैठक १७ चैत बिहान ११ बजे बस्नेछ।