आसिफको अर्धशतकमा नेपालको सहज जित
त्रिदेशीय टी-२० शृङ्खलाको तेस्रो खेलमा नेपालले मलेशिया विरुद्ध सहज जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा आसिफ शेखको अर्धशतकमा नेपालले सहज जित हासिल गरेको हो। मलेशियाले दिएको ११५ रन लक्ष्य नेपालले चार विकेटको क्षतिमा १३.४ ओभरमा पूरा गरेको हो।
यो जितसँगै नेपाल अङ्कतालिकाको शीर्षस्थानमा पुगेको छ। नेपालको चार अङ्क छ भने मलेशियाको दुई अङ्क छ। पपुवा न्यूगिनीले अहिलेसम्म अङ्क बटुल्न सकेको छैन।
नेपालका लागि शेखले ३८ बलमा ५७ रन प्रहार गरे। जसमा सात चौका र एक छक्का सामेल छन्। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २१, दिलीप नाथले १४ र रोहित पौडेलले १२ रन बनाए।
त्यस्तै, मलेशियाका लागि पवनदीप सिंहले दुई, मुहम्मद अमिर र सयेद अजिजले एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको मलेशियाले आठ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। मलेशियाका लागि जुवैदी जुल्किफले ३२, अहमद फैजले २४, मुहम्मद अमिरले १६ र सयेद अजिजले १४ रन बनाएका थिए।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका थिए।
टी–२० शृङ्खला अन्तर्गत चौथो खेलमा बिहीबार नेपाल र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ।