टी-२० मा एक वर्षपछि भिड्दै नेपाल र मलेशिया
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत आज नेपाल र मलेशिया प्रतिस्पर्धा गर्न लागेका छन्।
आज काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेशियाबीच प्रतिस्पर्धा हुनेछ। त्रिदेशीय श्रृङ्खला अन्तर्गत आज तेस्रो खेल मध्याह्न १२ः३० बजे हुनेछ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र मलेशिया एक वर्षपछि भिड्न लागेका हुन्। पछिल्लो पाँच खेलमा नेपालले चार र मलेशियाले एक खेल जितेका छन्।
यो शृङ्खला अन्तर्गत भएका दुई खेलमा नेपाल र मलेशियाले एक-एक खेल जित्दै दुई-दुई अङ्क बटुलेको छ। दुवैले पपुवा न्यूगिनीलाई पराजित गरेका हुन्।
१५ चैतमा भएको खेलमा मलेशियाले पपुवा न्यूगिनीलाई आठ रनले पराजित गरेको थियो। त्यसअघि १४ चैतमा भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो।
यो शृङ्खला अन्तर्गत तीनै टोलीले एक-अर्कासँग दुई-दुई खेल खेल्नेछन्। शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।