पहिलो टी-२० मा नेपाल १५ रनले विजयी
त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल १५ रनले विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको हो। नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यूगिनी १६८ रनमै समेटियो।
प्रारम्भिक ब्याटरले योगदान दिन नसक्दा पपुवा न्यूगिनी १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा समेटिएको हो। पपुवा न्यूगिनीका लागि नर्मन भनुवाले ५२, सेसे बउले ३०, चार्ल्स अमिनीले २२, लेगा सिअकाले २१ र चाड सोपरले १३ रन बनाए।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले तीन-तीन तथा अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए। लामिछाने प्लेयर अफ द म्याच भए। उनले २२ रन दिएर तीन विकेट लिएका थिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतिमा १८३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले ४३, रोहित पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भुर्तेलले २०, करण केसीले १४ र कुशल मल्ले ११ रन बनाएका थिए।
पपुवा न्यूगिनीका लागि अलेई नाव र चार्ल्स अमिनी र चाड सोपरले दुई-दुई तथा नर्मन भनुवा र रिले ह्याकुरले एक-एक विकेट लिएका थिए।
त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा मंगलबार दिउँसो १२ः३० बजे पपुवा न्यूगिनी र मलेशियाले प्रतिस्पर्धा गर्नेछन्।