फिल्म निर्माताको चरा मोह
पेशाले फिल्म निर्माता भए पनि सानैदेखिको चराप्रतिको आकर्षणले सुदर्शन कार्कीलाई फोटोग्राफीतिर डोर्याएको छ।
चराचुरुङ्गी र प्रकृति मन नपर्ने को नै होला र? किसान परिवारमा जन्मे-हुर्केका सुदर्शन कार्कीलाई पनि खेतबारीमा घाँस काट्न जाँदा चराको चिरबिरले मोहित तुल्याउँथ्यो। कहिलेकाहीं खेतमा चरा मरिरहेका देख्दा उनी दिनभर निराश हुन्थे।
समयक्रममा उनी लेखपढका लागि शहर पसे। चलचित्र अध्ययनका क्रममा फ्रान्सको पेरिस पनि पुगे। तर, उनको चराप्रेम घटेन। “चरा हेर्न उपत्यका बाहिर धेरै ठाउँ घुमें, धेरै प्रजातिका चरा देखें। चरा हेर्दा निकै खुशी लाग्छ,” उनी भन्छन्।
पेशाले उनी फिल्म निर्माता हुन्। सामाजिक विषयवस्तुमा वृत्तचित्र पनि बनाउँछन्। उनले बनाएका तर्न बाँकी अजङ्गका जँघारहरू, पवित्र बागमती लगायत थुप्रै वृत्तचित्रले प्रशंसा पनि बटुलेका छन्।
उनका फिल्मले पुरस्कार पनि प्राप्त गरेका छन्। उनको पछिल्लो फिल्म ट्याटूड ट्रक अफ नेपालः हर्न प्लिजले विदेशमा पनि प्रशंसा पायाे। जापान, स्वीडेन, अमेरिका लगायत देशमा अवार्ड जित्याे। कार्कीले उत्कृष्ट सिनेमेटोग्राफरका रूपमा पनि अवार्ड पाइसकेका छन्।
फ्रान्समा फिल्म सम्बन्धी अध्ययन गरेका उनी आफूलाई चराप्रेमी भन्न रुचाउँछन्। “मलाई सानैदेखि चराचुरुङ्गीप्रति रुचि थियो, १५ वर्षकै उमेरदेखि चराका फोटो खिच्न थालें,” कार्की भन्छन्।
प्रविधिको विकासलाई उपयोग गर्दै चराको फोटो खिच्ने शोखलाई निरन्तरता दिन थालेको पनि ३० वर्षभन्दा बढी हुन लाग्यो। एनालग क्यामेराबाट शुरू भएको चराको फोटोग्राफी अहिले डिजिटल क्यामेरासम्म आइपुगेको छ।
“शुरूआतमा त रिल हाल्ने एनालग क्यामेराले फोटो खिच्न थालेको थिएँ। त्यो वेला एउटा फोटो खिचेपछि रिल मिलाउनुपर्थ्यो। त्यतिन्जेलमा चरा उडिसक्थ्यो,” कार्की सम्झन्छन्।
अहिले प्रविधिले सजिलो बनाएको उनको अनुभव छ। त्यसैको उपयोग गर्दै उनले विभिन्न ठाउँ घुमेर थरीथरी चराका फोटो खिचिरहेका छन्। उनले खिचेका फोटालाई लाजिम्पाटमा रहेको ‘कोचिना मिठो छ’ रेस्टुरेन्टमा प्रदर्शनी पनि गरे।
त्यसका लागि उनले विश्व भँगेरा दिवसको सन्दर्भलाई रोजे। किन? “किनभने हाम्रो घरआँगनमा बग्रेल्ती आउने भँगेरा अचेल आउन छोडेका छन्। भँगेराको सङ्ख्या दिनानुदिन घटिरहेको छ। भँगेरा जोगाउन सन्देश दिने उद्देश्यले प्रदर्शन गरें,” उनी भन्छन्।
उनी चराको फोटो खिच्न देशका विभिन्न भागमा पुग्ने गर्छन्। चरा देख्दा जति खुशी हुन्छन्, त्यत्तिकै दुःखी पनि हुन्छन्, जब चरा मारेको देख्छन्। “कतिपय ठाउँमा जाँदा चरालाई गुलेली ताकेको देख्छु, त्यति वेला निराश हुन्छु,” उनी भन्छन्।
चरा संरक्षणका विषयमा जनचेतना जगाउने काम गर्नुपर्ने उनी बताउँछन्। “अझै पनि मानिसहरू चराको शिकार गर्छन्। कानूनले पशुपन्छीको शिकार गर्न रोक लगाए पनि यसबारे धेरै जना अनभिज्ञ छन्। त्यसैले अभियानका रूपमा गर्नुपर्ने काम धेरै बाँकी छ,” कार्की भन्छन्।
अर्कातिर घरमा चरा पाल्ने प्रवृत्तिबारे पनि उनी असन्तुष्टि पोख्छन्। कतिपय मानिस चरालाई शुभ तथा लच्छिनको प्रतीक मानेर घरमा पाल्ने गर्छन्। “चरालाई घरमा पाल्नु कसरी शुभ भयो र?” उनको प्रश्न छ, “प्रकृतिमा स्वतन्त्र घुम्ने पन्छीलाई बन्धक बनाएर पिंजडामा कैद गर्नु राम्रो हो र? यदि हामीलाई पनि त्यसरी नै थुनियो भने के हुन्छ? तिनलाई पनि त्यस्तै होइन र?”
चरा संरक्षणबारे विभिन्न शिक्षामूलक तथा चेतनामूलक अभियानमा पनि लागिपर्ने कार्की विद्यालयमा संरक्षण कक्षा पनि चलाउने गर्छन्। “पहिलेका पाठ्यक्रममा चरा मार्नु हुन्न भनेर कति धेरै कथा र कविता पढेका थियौं,” उनी भन्छन्, “तर अहिलेका पाठ्यक्रममा त्यस्ता कविता र कथाहरू छैनन्। त्यस कारण पनि विद्यार्थीमा चेतनाको अभाव छ।”
उनी राष्ट्रकवि माधव घिमिरेको ‘भँगेरा र भँगेरी’ शीर्षकको कविता अझै पनि मुखमै झुन्डिने गरेको सुनाउँछन्। यस्ता रचनाले पनि नयाँ पुस्तालाई प्रकृति र प्राणीसँग नजिक बनाउने उनको अनुभव छ।