दिवंगत लाइब्रेरी, केही लेखक
लाइब्रेरी मन्दिर हो, तर यसले मन्दिरले जसरी यही नै सत्य हो भन्ने जिद्दी गर्दैन। चूपचाप सके जति ज्ञान पस्कन्छ र विद्यार्थीलाई आफ्नो धारणा चयन गर्न स्वतन्त्र छोडिदिन्छ।
समय, आकार र आयतन बढ्दै गएको रूस-युक्रेन युद्ध झन् ठूलो, नामै लिन बेस्वाद लाग्ने रूप धारण गर्दै हाम्रै छरछिमेक आइपुग्न द्रुत गतिमा अघि बढेको समाचार लेख्दा थोरै पत्रकारको मात्र ध्यान जाने विषय हो, लाइब्रेरी।
युद्धमा लाइब्रेरीहरू निशाना बनाइन्छन् नै, पुस्तकहरू जलाइन्छन्। लाइब्रेरीमा बमबारी गर्ने शत्रु तिनै हुन्छन् जो कुनै पनि संस्कृतिको सफाया कसरी गरिन्छ भन्ने ज्ञानले ओतप्रोत हुन्छन्।
‘इफ इट ब्लिड्स इट लिड्स’ वाला पत्रकारिताले स्वाभाविक रूपमा बमबारीले ध्वस्त हुँदा एक थोपा रगत नचुहाउने लाइब्रेरी मारिएको कुरा समाचारमा उल्लेख गर्न जरुरी ठान्दैन।
निसाफ, प्रेम र सत्य धरापमा परेको कलियुगको अन्तिम पाना जस्तो लाग्ने समयमा लाइब्रेरीको चिन्ता गर्नु नाजायज होइन।
०००
हृदयले साहित्यकार, कर्मले पत्रकार अनि देश दुनियाँको ‘लिनै नपर्ने’ चिन्ता लिने रोगले ग्रस्त मनुष्यले झेलिरहने प्रश्न हो- केमा लेख्दै छौ तिमी?
भावार्थ हो, ‘लिनै नपर्ने’ चिन्ता कता पोख्दै छौ?
पाटन दरबार सङ्ग्रहालयभित्र जीवनको दोस्रो शताब्दीको तेस्रो वसन्त श्रवण गर्दै गर्नुभएका धुरन्धर स्रष्टा एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको कहानी चोटैचोटको गहिराइबाट समेत सयपत्रीका थुङ्गै-थुङ्गा ओकल्ने सरस्वती-साधक गिरीश गिरीको जुबानी सुन्न र पढ्न पुग्दा थोरै लेख्ने तर आफूलाई लेखक, उपन्यासकार, तीर्थयात्री, कवि, विद्यार्थी, पत्रकार इत्यादि ठान्ने धृष्टता चाहिं गरिबस्नेको मुलाकात यो झसङ्ग पार्ने प्रश्नसँग नहुने कुरै भएन।
रहर पुगुन्जेल मथिङ्गल हल्लाइरहन्छ प्रश्नले।
त्यो मुलाकात जोशीको ‘जुरेली चरी’ दर्शन सुकर्म छर्दै हिंड्ने समूहको सितार, तबला र बाँसुरीबाट गुन्जिरहेको पावन अवसरमा हुन्थ्यो त, शायद उत्तर दिने जाँगर चल्थ्यो ।
०००
स्व. दिलबहादुर लामाज्यूको बीउ अनि प्रहरी श्रमबाट निर्मित दीपेन्द्र प्रहरी आवासीय विद्यालयको फराकिलो वातावरणमा अहिले बुझ्दा जे पनि बिक्रीमा रहेको र विश्वकै फोहोरीमध्येको बजार बनिसकेको काठमाडौंमा भन्दा सास फेर्न कति हो कति सजिलो थियो।
अध्ययन गर्न मन भएकोलाई कसैले नछेक्ने, उस वेलाभन्दा धेरै साँघुरिएर अहिले केवल ८०० रोपनीमा सीमित त्यो ठाउँ तपोभूमि नै थियो।
लेखक र स्कूले सहपाठी कुमार नगरकोटीले कुनै समय ‘जेल’ भनेको सो पर्खाल कतै नभएको विद्यालयलाई यो विद्यार्थीले तीन दशकअघि ‘पास आउट’ भएपछि तय गरेको पहिलो तीर्थयात्रामा जेल भन्न सकेन। बरु सबैसँग त्रस्त र पर्खाल उत्पादनमा हरहमेसा व्यस्त राजधानी पो जेल जस्तो लाग्यो।
२०४० सालमा कक्षा १ को प्रवेश परीक्षा दिएको तर खोइ किन हो सोझै कक्षा २ मा हुलिएको यो विद्यार्थीले नौ वर्ष त्यहाँ सबैभन्दा ‘चीज गरेको’ चीज थियो त्यो सानो, जस्ताको छानो भएको लाइब्रेरी जहाँ ब्रिटिश काउन्सिल लाइब्रेरीबाट पुस्तक आइपुग्थे। प्रत्येक महीना पुराना फिर्थे, नयाँ भित्रिन्थे।
एवं रीतले ज्ञान पस्किरहेको त्यो लाइब्रेरीले उक्त विद्यार्थीलाई यसो भन्थ्यो-
‘हे अबोध बालक!
कक्षाकोठाको ज्ञान मध्यम
पुस्तकालयको उच्च
अनि जीवनको सर्वोच्च
हे जिज्ञासु!
प्रमाणपत्र गद्दीको कागज
अध्ययन शिक्षाको सच्चा प्रमाण
लेखन सरस्वतीको सर्वोच्च साधना।’
विद्यार्थीले यो ज्ञानलाई सर्लक्क लियो र त्यसैमा थियो।
तीन दशकपछि विद्यार्थी त्यो लाइब्रेरीलाई खोज्दै विद्यालय गएको थियो यसो भन्न, ‘हे लाइब्रेरी, म तिमीले देखाएको बाटोबाट विचलित भइनँ।’ साथमा थिए, उहिले झैं कापी र कलम। थपिएको थियो क्यामेरा।
जे नहुनु थियो त्यो भइसकेछ- लाइब्रेरीको अवसान।
विद्यार्थीले यो भन्नैपर्छ, लाइब्रेरीको निधनको समाचारले क्यामेरालाई धेरै चोट पर्यो। अनि ऊ आफैं प्रश्नको उल्झनमा पर्यो- उसो भए जे ज्ञान दियो लाइब्रेरीले, के त्यो पनि मर्यो?
विद्यार्थीलाई उक्त लाइब्रेरीले सिकाएको र अब अनाथ भएको अर्को शिक्षा थियो- पुस्तक सके सरर बतास चलिरहँदा प्रकृतिको काखमा एक्लै पढ्नु। विद्यार्थी त्यसै गर्थ्यो, अक्सर राजदम्पती ओर्लिएको एक हेलिप्याड छेउछाउ।
हेलिप्याड पनि दिवङ्गत भएछ।
चितुवाले मान्छे र सके मान्छेले चितुवा खाने त्यो समयमा ८०० भन्दा धेरै रोपनीको जङ्गलभन्दा फरक नपर्ने विद्यालय प्राङ्गणको कुनै कुनोमा एक्लै घण्टौं बसेर पुस्तक पढ्ने विद्यार्थीले लाइब्रेरीबाट सिकेको र सबैभन्दा मन पराएको पाठ थियो- सके लेख्नू, नसके पढ्नू।
०००
सधैं लेखिबस्नु मात्र शब्द-साधकको धर्म होइन भनी बुझाएर शायद विद्यार्थीलाई अल्छी बन्ने छूट दिएको लाइब्रेरीको अवसानका कारण बुझ्न जति गाह्रो छ, यो पाठ बुझ्न त्यति नै सरल छ।
लाइब्रेरीको अवसान चानचुने घटना होइन। दिवङ्गत लाइब्रेरीले नै माथि उल्लिखित कवितामा कुनै पनि लाइब्रेरी किन ज्ञानका निम्ति अत्यावश्यक छ भन्ने स्पष्ट पारिसकेको छ ।
नगरकोटी जस्तो लेखक तयार गर्न भूमिका खेलेको लाइब्रेरीको के-कति कारणले वध गरियो? सुकर्म समूहका सदस्यसँग त खुट्टा छन्, र त योग्य स्थान खोजी-खोजी उनीहरू सुकर्म छर्न सक्छन्। तर, सुकर्मै गर्ने लाइब्रेरी न हिंड्न सक्छ न त आगन्तुक चयन गर्न।
युक्रेनकै अवस्था हेरौं। कता र कसरी सुरक्षित हुने गोडा नभएका लाइब्रेरीले?
नगरकोटी र यो विद्यार्थीले पनि सिरक-डसना सुकाउने गरेको लाइब्रेरीको छानामाथिको चिप्लो जस्तापाता, जसबाट हामी पूर्वपट्टि तोरीका फूल फुल्ने अग्ला गरासम्म हाम फाल्थ्यौं र कहिलेकाहीं चिप्लिएर बीचको खाल्डोमा उँधो मुन्टो हुन्थ्यौं, खै कता गयो? लाइब्रेरी घनका प्रहारहरूले मात्र त पक्कै ढलेन। कुन क्रेन थियो त्यो जसले यो कुकर्म गर्यो? क्रेन विरुद्ध हाम्रो लाइब्रेरीको हत्याको जाहेरी कुन अड्डा-अदालतले दर्ता गर्न मान्छ?
दुईखुट्टे जन्तुलाई मानव हुनुको बोध गराइदिने लाइब्रेरी आफैंमा एउटा मन्दिर हो, तर यसले मन्दिरले जसरी यही नै सत्य हो भन्ने जिद्दी गर्दैन। चूपचाप सकेजति ज्ञान पस्कन्छ र विद्यार्थीलाई आफ्नो धारणा चयन गर्न हमेसा स्वतन्त्र छोडिदिन्छ। लाइब्रेरी एक सच्चा प्रेमी हो, जो सबैलाई सहयोग र दिशानिर्देश गर्छ, तर भत्काइँदा ‘ऐया’ पनि भन्दैन र अक्सर समाचार बन्दैन।
लाइब्रेरी मानव जातिकै सुन्दर आविष्कारमध्ये एक हो। यसलाई सकेसम्म जोगाउनुपर्छ र आफूले लिएको ज्ञानको पैंचो तिर्नुपर्छ भन्छ विद्यार्थी।
पुण्य ढकाल सर दम्पतीले बुझेको र सोही कारणले आफ्नै क्वार्टरको एकाग्र माहोलमा पढ्न शरण दिएको विद्यार्थीले नलेखेको वेला पढिबसेको नै थियो। कुरो अहिले पनि त्यही हो।
लेखकका मूलतः दुई रूप हुन्छन्। पहिलो, पाठक। पाठक पुस्तककै नहुन पनि सक्छ। जीवन पढ्नु, सङ्गीत सुन्नु, चलचित्र हेर्नु, घुम्नु, लुम्बिनीको गेट नम्बर ४ कै सामुन्नेको भोजनालयमा त्यहाँका दाजु-भाउजूको राजनीतिबाट उठेको आशको कथा सुन्नु वा पान पसले भाइको अझै ठूलो पान पसल खोल्ने सपना सुन्नु पनि पठन हो।
दोस्रो रूप लेखक स्वयं हो जुन कहिलेकाहीं उजागर हुन्छ। शायद उजागर हुँदा यो रूपको प्रेममा पर्छन् कोही कोही। र त सोध्ने गर्छन्- केमा लेख्दै छौ तिमी?
जसको भावार्थ हो- ‘लिनै नपर्ने’ चिन्ता कता पोख्दै छौ?