लुम्बिनीमा सम्राट् अशोकको कर!
राजा अशोकले लुम्बिनीबासीको कर घटाइदिएको व्याख्याले त्यति वेला लुम्बिनी मगध साम्राज्य अन्तर्गत रहेको झल्को दिने भन्दै प्राचीन अभिलेखलाई नेपालको स्वतन्त्रताका लागि आपत्तिजनक ठान्नु इतिहासलाई वर्तमानको आँखाबाट बुझ्न खोज्दाको समस्या मात्र हो।
केही समयअघि एक अधिवक्ताले सामाजिक सञ्जाल ‘क्लब हाउस’ मा लुम्बिनीस्थित अशोक स्तम्भमा कुँदिएको अभिलेख स्वतन्त्र नेपालका लागि आपत्तिजनक रहेको अभिव्यक्ति दिए। उक्त अभिलेख नेपालका दुई इतिहासविद् बाहेक अरूले पढ्न नसक्ने भन्दै उनले वास्तविक तथ्य अझै बाहिर आइनसकेको दाबी गरे।
उनले उल्लेख गरेका ती दुई इतिहासविद् लुम्बिनी अध्ययनसँग सम्बद्ध व्यक्ति होइनन्। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा बहस भइरहँदा प्रसंगवश अशोक स्तम्भको चर्चा भएको थियो।
अभिलेखमा मौर्यसम्राट् अशोक ईपू २४९ तिर लुम्बिनी आएको र त्यति वेला त्यहाँ गाउँ रहेको वर्णन छ। यसको अर्थ बुद्ध जन्मेका वेला बगैंचा रहेको उक्त ठाउँ अशोक आउँदा गाउँ बनिसकेको थियो। अशोकले त्यहाँ आएर के गरे भन्ने सन्दर्भमा अभिलेखमा रहेको ‘उबलिकटे अठभगियच’ शब्दलाई टिपेर बुद्ध जन्मेको ठाउँ भएकाले आठ भागको एक भाग मात्र कर लगाउन थालेको भनी अनुवाद गरिएको थियो।
कपिलवस्तु र लुम्बिनीमा रहेका अशोकका अभिलेख ब्राह्मी लिपिमा छन्। जर्मन पुरातत्त्वविद् ए. फुहररले उतार गरेको अभिलेख ब्राह्मीलिपि विशेषज्ञ ई. हुल्जले पढेर सबैका लागि उपलब्ध गराइदिएका थिए। त्यसयता अभिलेखको पुनः पाठ गर्ने तथा अर्थ लगाउने काम निकै रोचक एवं बौद्धिक रह्यो।
करीब दुई दशकअघि कान्तिपुर दैनिकमा प्रकाशित लेखक मोदनाथ प्रश्रितको लेखमा पनि लुम्बिनीस्थित सोही स्तम्भको चर्चा छ। त्यसमा सम्राट् अशोक लुम्बिनी आएर स्तम्भ गाडेको घटनाबाट क्रुद्ध तत्कालीन नेपालका राजा स्थंकुले उक्त स्तम्भ फुटालेको र त्यसमाथि भएको घोडाको मूर्ति पनि झारिदिएको उल्लेख थियो।
उक्त लेख अनुसार त्यति वेला नेपालमा किराती राजा स्थंकुको शासन थियो भने नेपाली भूमि लुम्बिनी वा अझ पश्चिमसम्मै फैलिएको थियो। तर, कुनै पनि किराती राजाको ऐतिहासिकता पुष्टि गर्ने स्रोत नभएकाले नेपालको इतिहास किरात कालबारे मौन छ। तत्कालीन राज्यव्यवस्था वंशावलीहरूमा मात्रै सीमित छ, तर इतिहास वंशावलीको भरमा बस्दैन। त्यसैले तत्कालीन नेपालको भूभाग लुम्बिनीसम्मै पुगेको कुरा पनि पुष्टि हुँदैन।
शाक्य गणराज्य कुनै वेला स्वतन्त्र थियो होला, तर ज्ञात भएको समय अर्थात् इसापूर्व छैटौं शताब्दी (गौतम बुद्धको समय) सम्ममा यो कोशल महाजनपदको अधीन सानो गणराज्य भइसकेको थियो।
गौतम बुद्धको समयमा लुम्बिनी शाक्य गणराज्य अन्तर्गतको एउटा भूभाग थियो जुन राजधानी कपिलवस्तुबाट करीब ३० किलोमिटर पूर्वमा पर्छ। शाक्य गणराज्य कुनै वेला स्वतन्त्र थियो होला, तर ज्ञात भएको समय अर्थात् इसापूर्व छैटौं शताब्दी (गौतम बुद्धको समय) सम्ममा यो कोशल महाजनपदको अधीन सानो गणराज्य भइसकेको थियो।
गौतम बुद्धको महापरिनिर्वाण (ईपू ४८३) भन्दा डेढ-दुई वर्षअघि कोशल नरेश विडूडभले शाक्यहरूविरुद्ध आक्रमण गरेका थिए। केही वर्षपछि अर्को महाजनपद मगधका राजा अजातशत्रुले भीषण आक्रमण गरी सम्पूर्ण कोशल भूमिलाई मगध राज्यमा विलय गराए। यस अनुसार शाक्य गणराज्य पनि मगधमै विलय भएको बुझ्न सकिन्छ। त्यसपछि लामो समय त्यहाँको भूराजनीति कस्तो रह्यो भन्ने खुल्दैन।
बरु बेग्लै मौर्य वंशका सम्राट् अशोक लुम्बिनी तथा कपिलवस्तु क्षेत्रमा आएको प्रसङ्ग भेटिन्छ जुन कलिंग युद्धभन्दा करीब डेढ दशकपछिको हो। उनले त्यहाँका जनताको कर घटाउनुको अर्थ हो, त्यति वेलासम्म लुम्बिनी र आसपासको भूमि मौर्य साम्राज्य अन्तर्गत थियो।
अशोकको आगमनपछि उक्त क्षेत्रमा विभिन्न गतिविधि भएको शुंग, कुषाण र गुप्तकालीन पुरातात्त्विक अवशेषले पुष्टि गरे पनि तत्कालीन लुम्बिनी राजनीतिक हिसाबले कसको अधीन थियो भन्ने जानकारी पाइँदैन। ली-ताओ-युंग, सेङ साई, बाइ यु-चिन, फाहियान, ह्वेनसाङ, इचिङ जस्ता चिनियाँ यात्री तथा भिक्षु नरेन्द्रयश लगायत प्राचीन व्यक्तिहरूले पनि लुम्बिनी र त्यहाँका शासकबारे लेखेका छैनन्। बरु त्यहाँका प्राचीन स्मारकहरू भग्न र सुनसान अवस्थामा रहेको वर्णन उनीहरूले गरेका छन्।
इसाको बाह्रौं शताब्दीमा जुम्लाको सिंजा उपत्यकालाई राजधानी बनाई राजा नागराजद्वारा स्थापित खस साम्राज्यकै कुनै राजाले लुम्बिनी लगायत क्षेत्र आफ्नोमा गाभेको बुझिन्छ। सन् १३१२ मा राजा रिपु मल्लले लुम्बिनी र कपिलवस्तु क्षेत्रको भ्रमण गरेको र उक्त कुराको अभिलेख अशोक स्तम्भमै नै कुँद्न लगाएको पाइन्छ। खस साम्राज्य पन्ध्रौं शताब्दीमा विघटन भएको थियो। त्यसपछि पनि यो क्षेत्रको इतिहास स्पष्टसँग खुल्दैन। पछि, बहादुर शाहको नायबी कालमा बल्ल यी क्षेत्र नेपाल राज्य अन्तर्गत गाभिए।
इसाको बाह्रौं शताब्दीमा जुम्लाको सिंजा उपत्यकालाई राजधानी बनाई राजा नागराजद्वारा स्थापित खस साम्राज्यकै कुनै राजाले लुम्बिनी लगायत क्षेत्र आफ्नोमा गाभेको बुझिन्छ।
इतिहासलाई इतिहासकै रूपमा हेर्न नसक्दा वा वर्तमानको चश्मा लगाएर बुझ्न खोज्दा अनेक समस्या आइपर्छन्। इतिहासको अपव्याख्या पनि यसै गरी हुने हो। गौतम बुद्धको जन्मस्थल लुम्बिनी र गृहनगर कपिलवस्तु वर्तमान नेपालको सरहदभित्र रहन सकेको यिनको पहिचान सुगौली सन्धिभन्दा पछि भएकाले मात्रै हो भन्दा कतिपयको चित्त दुःख सक्छ, तर वास्तविकता यही हो।
तत्कालीन भारत ब्रिटिश साम्राज्यको चंगुलमा थियो। ब्रिटिशहरू बुद्धसँग सम्बद्ध ऐतिहासिक स्थलहरूको खोजीमा थिए जसमा उनीहरूलाई उत्साहजनक रूपमा सफलता पनि मिलिरहेको थियो। सुगौली सन्धि अघिसम्म गौतम बुद्ध र लुम्बिनी-कपिलवस्तुको साइनोबारे अत्तोपत्तो थिएन। यो कुरा थाहा हुन्थ्यो त ब्रिटिश साम्राज्यले कुनै हालतमा लुम्बिनीलाई आफूबाट अलग राख्ने थिएन।
सन्धिपछि पनि गौतम बुद्ध, बौद्ध धर्म-दर्शन तथा लुम्बिनी र कपिलवस्तु लगायत पुरातात्त्विक स्थलबारे जानेको ब्रिटिश पक्ष एकातिर थियो भने यस सम्बन्धमा राणा शासकहरू चाहिं पूर्णतः उदासीन थिए। सुगौली सन्धि सन् १८१५ मा भएको थियो भने लुम्बिनी सन् १८९६ पहिचान भएको थियो। त्यसको अघिल्लो वर्ष मात्रै कपिलवस्तु पनि नेपालको सरहदभित्र रहेको पत्ता लागेको थियो।
मगधका राजा आएर करको दर घटाएको भन्नुले नेपाल त्यति वेला स्वतन्त्र राष्ट्र नभई मौर्य साम्राज्य अन्तर्गत रहेको जनाउ दिने भएकाले उक्त अभिलेखलाई नेपालको अस्मितामाथि प्रश्न गरेको अर्थमा बुझ्ने ती अभिवक्ता एक्ला होइनन्। इतिहास केन्द्रीय विभागका पूर्व प्रमुख तुलसीराम वैद्यले पनि यस्तै धारणा व्यक्त गरेको यहाँ सम्झना हुन्छ।
लुम्बिनी विकास कोषको आयोजनामा २०६० सालतिर सोही अभिलेख सम्बन्धमा विभिन्न विद्वान्को कार्यपत्र प्रस्तुतिपछि आयोजकका तर्फबाट वैद्यले करको कुराले स्वाभिमानी नेपालीको छाती चसक्क पर्ने भन्दै मौन बस्न सुझाव दिएका थिए। राष्ट्रवादी भएर अभिलेखको व्याख्या गर्नुपर्ने उनको मन्तव्य थियो। तर, इतिहास अध्ययनका सन्दर्भमा यस्तो दृष्टिकोण गलत हो।
‘उबलिकेकटे’ र ‘अठभागियेच’ शब्दको अनुवादलाई धेरैजसोले राजा अशोक र करसँग जोडे पनि केशरबहादुर केसी र भिक्षु सुदर्शन महास्थविरले भिन्न दृष्टिकोण देखाएका छन्। उनीहरूका अनुसार, बौद्ध धर्मको महत्त्वपूर्ण पक्ष हिंसा नगर्नु र अष्टाङ्गिक मार्ग अनुसरण गर्नु हो। त्यसैले सम्राट् अशोकले लुम्बिनी जस्तो गाउँमा करको कुरा उठाएको भन्नेमै उनीहरूले आशङ्का व्यक्त गरेका छन्। तर, मगध साम्राज्यको इतिहास अध्ययन गर्दा राज्यव्यवस्थामा सम्राट्को व्यक्तिगत इच्छा मात्रै लागू हुँदैनथ्यो। आठ भागको एक भाग मात्रै कर तिरे पुग्ने व्यवस्था गर्नु व्यावहारिक पनि छ।
इतिहासको वस्तुस्थिति वर्तमान अनुरूपकै हुन्छ भन्ने बुझाइ सधैं लागू हुँदैन। शाक्य गणराज्य कोशल महाजनपदको सुरक्षाछत्रमा परेको तथा उक्त महाजनपद नै पछि मगध महाजनपदमा विलय भएपछि शाक्य गणराज्य पनि स्वतः मगधमा गाभिएको तथ्य प्राचीन नेपालको इतिहाससँग सम्बद्ध होइन। ती घटनाले वर्तमान नेपालको सार्वभौमसत्तासँग पनि सम्बन्ध राख्दैनन्। तर, उक्त भूमि वर्तमान नेपालमा परेका कारण त्यसको इतिहास अध्ययनको विषय भने हुन्छ।