डंगर प्रजातिका गिद्ध प्राकृतिक वासस्थानमा छोडियो
गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा जन्मिएका गिद्धलाई हुर्काएर प्राकृतिक वासस्थानमा छोडिएको छ।
विश्वमै दुर्लभ मानिने डंगर प्रजातिका १० वटा गिद्धलाई ११ चैतमा प्राकृतिक वासस्थानमा छाडिएको हो। गिद्धहरूलाई प्राकृत वासस्थानमा छोड्नुअघि प्रजनन केन्द्रबाट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको नमूना सामुदायिक वनमा रहेको जटायु रेस्टुरेन्टको ‘रिलिज एभिएरी’ मा झण्डै ६ देखि ७ महीना प्राकृतिक वातावरण र त्यहाँ रहेका गिद्धहरूसँग घुलमिल गराइएको थियो। प्राकृतिक वासस्थानमा छोडिएको गिद्धहरूको नियमित अनुगमन गरिन्छ।
केन्द्रमा हुकाईएका गिद्धलाई यसअघि पनि प्राकृतिक वासस्थानमा पुनर्वास गराइएको थियो। हालसम्म पाँच चरणमा जम्मा ४९ वटा गिद्ध छोडिएको छ। यस वर्ष दुई चरणमा गरी १८ वटा, २०७६ सालमा १३ वटा, २०७५ सालमा १२ वटा, २०७४ सालमा ६ वटा गिद्ध छोडिएको हो।
गिद्धको नियमित अनुगमनका लागि तिनका ढाडमा ‘स्याटेलाइट ट्याग’ जडान गरिएको छ। हालसम्म त्यस्ता ट्याग लगाएका गिद्धको सङ्ख्या ५० छ, जसमा जङ्गली गिद्ध पनि छन्। सो ट्यागमार्फत केन्द्रबाट छोडिएको र जङ्गली गिद्ध बीचको अन्तरक्रिया तथा तुलनात्मक अध्ययनय गर्ने गरिन्छ ।
ट्याग जडान गरिएका जङ्गली गिद्धको अध्ययन गर्दा तिनले नेपालको करीब २० जिल्लाको ५० हजार वर्ग किलोमिटर क्षेत्रमा विचरण गरेको देखिन्छ। नेपालमा हालै घोषणा गरिएको विश्वको पहिलो गिद्ध सुरक्षित क्षेत्रको स्थापनामा यस स्याटेलाइट ट्याग जडान गरिएका गिद्ध अनुगमन गरिएको थियो।
गिद्धको मृत्युको कारण पहिचान गर्न शवको तत्काल पोस्टमार्टम गरी हेर्दा एनएसएआइडी विषाक्तता घटना तथा तिनको बाँच्ने दर उच्च भएको देखिएको थियो।
नेपाल पन्छी संरक्षण संघकी कार्यकारी अधिकृत इशाना थापाले प्रजनन केन्द्रमा हुर्किएर प्रकृत वासस्थानमा छाडएिका एक जोडी डंगर गिद्धले २०७७ सालमा पहिलो पटक बच्चा कोरलेको बताइन्। “त्यस्तै, प्रजनन केन्द्रमा जन्मिएर २०७५ मा छाडिएको एउटा गिद्धले जङ्गली गिद्धसँग जोडी बनाएर बच्चा कोरेलेको थियो,” उनले भनिन्, “प्रजनन केन्द्रबाट छाडिएका पाँच जोडी गिद्धले प्रजनन अवधिमा जोडी बनाई गुँड बनाउने प्रयास गरेको देखिंदा केन्द्रमा हुर्किएका गिद्धले पनि प्राकृतिक वासस्थानमा फर्किएर सन्तान उत्पादन गर्न सक्षम हुने प्रमाणति भएको छ।”
जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका उत्तम लामिछनेले समुदायमा आधारित गिद्ध संरक्षण कार्यक्रमले लोपोन्मुख गिद्ध संरक्षणमा प्राप्त सफलता विश्व संरक्षण समुदायका लागि अनुकरणीय बनेको बताए। “कार्यक्रमले नेपालबाटै थालनी गरिएको गिद्ध सुरक्षित क्षेत्रको वैज्ञानिक अवधारणालाई साकार पार्न र प्रजनन केन्द्रमा हुर्काइएका गिद्धलाई सफलतापूर्वक प्राकृतिक वासस्थानमा पुनर्वास गराई गिद्ध संरक्षणमा टेवा पुर्याउने छ,” लामिछानेले भने।
सन् १९९० को दशकमा दक्षिण एशियामा र नेपालमा उच्च सङ्ख्यामा पाइने गिद्धको सङ्ख्या ९५ प्रतिशतले घटेर केही हजारमा सीमित हुन पुगेको छ। प्रकृतिबाट लोप हुनबाट बचाउने उद्देश्यले १४ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको हो।
केन्द्रको स्थापना तथा सञ्चालनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण संघ, बेलायती संस्था आरएसपीवी, जेडएसएल र स्थानीय समुदायको साथ सहयोग छ ।
“केन्द्रमा राख्नका लागि पश्चिम नेपालका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुर, अर्घाखाँची, पाल्पा, स्याङ्जा र कास्कीबाट ६० वटा डंगर गिद्धका बच्चा सङ्कलन गरिएको थियो,” चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, “केन्द्रमा राखिएका गिद्धले सन् २०१२ देखि अन्डा पार्न शुरू गरेका थिए भने सन् २०१७ मा नौ वटा, सन् २०१८ मा ६ वटा र सन् २०२० मा दुई वटा बच्चा कोरलेका छन्।”
गिद्ध संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अङ्गीकार गरेको गिद्ध पुन:स्थापना कार्ययोजना अनुसार गिद्धहरूलाई प्राकृतिक वासस्थानमा छोडिएको हो। गिद्ध संरक्षणका लागि स्थापित सो केन्द्र चितवन राष्ट्रिय निकुञ्जको कसराको लामिचौर मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्ने नमूना मध्यवर्ती सामुदायिक वनमा अवस्थित जटायु रेस्टुरेन्ट क्षेत्रमा पर्दछ।
गिद्ध छोड्ने कार्यक्रममा निकुञ्ज, विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण संघ, जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति, लामिचौर मध्यवर्ती उपभोक्ता समिति, नमूना सामुदायिक वन पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।