नेपाल-चीन रेलको सम्भाव्यता अध्ययन सहित नौ समझदारी (सूचि सहित)
नेपाल र चीनबीच अन्तरदेशीय रेल निर्माणको सम्भाव्यता अध्ययन गर्ने सहित नौ बुँदे समझदारी भएको छ।
चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबीच शनिबार सिंहदरबारमा समझदारीपत्रमा हस्ताक्षर भएको हो। जसमा नेपाल–चीन अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीमा भन्सार छूट दिने लगायत समझदारी छन्।
नेपाल र चीनबीच भएकाे नौ समझदारी
१ आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी
यो समझादारीमा अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले हस्ताक्षर गरेका हुन।
२ नेपालमा चीन –नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना
अर्थ सचिव मरासिनी र राजदुत यान्छीले नेपालमा चीन–नेपाल अन्तरदेशीय रेल–वे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजनामा पनि हस्ताक्षर गरे।
३ नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता
यो सम्झौतामा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव देवेन्द्र कार्की र चीनका तर्फबाट राजदूत यान्छीले हस्ताक्षर गरेका छन्।
४ सुरक्षितरुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी
यो समझदारीमा नेपालबाट चीन घाँस निर्यात गर्नेसम्बन्धी समझदारीमा कृषि तथा पशुपन्छी विकास सचिव निरु दाहाल पाण्डे र चिनियाँ राजदूतले हस्ताक्षर गरे।
५ चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र
चीनमा आयात गरिने ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्रमा वाणिज्य मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे र चीनको वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङले हस्ताक्षर गरेका हुन्।
६ अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र
अरनिको राजमार्ग मर्मतसम्भार परियोजना हस्तान्तरणसम्बन्धी दस्तावेजमा नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र चिनियाँ वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङले हस्ताक्षर गरेका छन्।
७ रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज
८ कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति स्वीकृतिको प्रमाणपत्र तथा
९ चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउने
समझदारीमा हस्ताक्षर गर्नुअघि परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री यीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो।
तीनदिने नेपाल भ्रमणका क्रममा चिनियाँ विदेश मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ।
उनी भारतको नयाँ दिल्ली हुँदै शुक्रबार नेपाल आएका थिए। आइतबार स्वदेश फर्किनेछन्।