मेयरहरूले कसरी विश्व जोगाउन सक्छन्?
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने विश्वव्यापी लक्ष्य भेट्न संसारका हरेक शहरले यातायात र ऊर्जा प्रणालीलाई कार्बनमुक्त बनाउनुपर्छ।
सन् २०२२ मा हाम्रा सामु एउटा जटिल चुनौती तेर्सिनेछ- शहरहरूलाई कसरी सही नेतृत्व दिने? यहाँ मैले उठाउन खोजेको विषय जलवायु परिवर्तनको हो। विश्वव्यापी रूपमै शासकीय कमजोरी र केन्द्र सरकारप्रति अत्यधिक निर्भरताका कारण।
जलवायु परिवर्तनसँग हार्ने वा जित्ने, त्यो शहरकै हातमा छ जहाँ विश्वका आधाभन्दा बढी जनता बस्छन्। कार्बनको विश्वव्यापी उत्सर्जनमा तीन चौथाइको हिस्सेदार शहरले सबैखाले ऊर्जामध्ये शहरले ७० प्रतिशतभन्दा बढी खपत गर्छ। सन् २०५० सम्ममा ६८ प्रतिशत मानिस शहरिया हुने अनुमान छ। यससँगै कार्बन उत्सर्जन पनि बढ्ने निश्चित छ।
अर्कातिर शहरले दिगो जीवनशैली पनि उपलब्ध गराउँछ। एकै ठाउँमा उच्च जनघनत्व हुँदा ‘कार्बन फूटप्रिन्ट’ कम हुन्छ। शहरी यातायात र ऊर्जा प्रणालीलाई कार्बनमुक्त बनाइए मात्र उत्सर्जन शून्यमा झर्न सकिन्छ। उच्च तापमानले समुद्री सतह बढ्ने र बाढी आउने भएकाले शहरी बासिन्दा नै बढी प्रभावित हुने हुन्। यस्तो जोखिमबाट बच्न अहिल्यै तयारी थालिहाल्नुपर्छ।
मेरो शहर ब्रिस्टोल बेलायतका ११ ठूला शहरको सञ्जालमा आबद्ध छ जहाँ झ्ण्डै दुई करोड मानिस बस्छन्। देशको अर्थतन्त्रमा २६ प्रतिशत योगदान यही शहरको छ। तर, सरकारले हामीलाई कार्बन न्यूनीकरणका कुनै योजना दिएको छैन, जबकि यस्तो मुद्दामा सानो गल्ती पनि स्वीकार्य हुँदैन।
तत्काललाई कोप-२६ सम्मेलनमा गरिएका समझदारीको इमानदार कार्यान्वयन नै शहरी प्रशासनको प्रमुख दायित्व र चुनौती हो। यसका लागि विश्वव्यापी रूपमै सन्तुलित नीतिनिर्माणको आवश्यकता छ। यस्तो नीतिले जलवायु मात्र होइन, परस्पर प्रभाव राख्ने अन्य विषय पनि समेट्नुपर्ने हुन सक्छ।
शहरहरू शक्तिशाली हुनुको अर्थ केन्द्रीय सरकार सङ्कुचित हुनु होइन। बरु यो त राष्ट्रिय-अन्तर्राष्ट्रिय शासकीय संरचनामा ओझेल परेका विषयलाई आवाज दिनु हो।
बसाइँसराइदेखि शहरी सुरक्षा र महामारीदेखि ठूला कम्पनीलाई कर तिराउनेसम्मका चुनौतीसँगै हामीले सामना गर्नुपरेका गम्भीर समस्या राष्ट्रिय तहमा मात्र सीमित छैनन्। यिनको समाधान केन्द्रीय सरकार एक्लैले गर्न सक्दैन। हामीलाई के पनि थाहा छ भने ‘वेस्टमिन्स्टर’ राजनीतिको उपजका रूपमा रहेको ‘बे्रक्जिट’ ले हाम्रो सामाजिक सुरक्षा र खाद्य आपूर्तिको क्षेत्रमा प्रभाव पारिरहेको छ। र, यसले आउँदो वर्ष पनि हामीलाई चुनौती दिने नै छ।
अर्कातिर विभिन्न परिस्थितिलाई चिर्दै शहरहरू आफैं पनि साझ समस्याको व्यवस्थापनमा अग्रसर भइरहेछन्। अहिलेसम्म तीन सयभन्दा बढी शहर अन्तर्राष्ट्रिय सञ्जाल मार्फत जोडिएका छन्। केही शहर भौगोलिक रूपमा व्यवस्थित छन्, जस्तो कि मुख्य शहर, यूरो शहर र अमेरिकी मेयर कन्फरेन्स।
केही शहर साझ विषयहरूका लागि सङ्गठित छन्, जस्तो कि मेयर माइग्रेसन काउन्सिल वा सी-४० क्लाइमेट लिडरशिप ग्रुप। अरू शहर ग्लोबल पार्लियामेन्ट अफ मेयरका रूपमा सङ्गठित हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा शहरी भूमिका सबल बनाउन शासकीय संरचना सुधारमा लागेका छन्।
२०१८ मा मैले संयुक्त राष्ट्रसङ्घमा बसाइँसराइ सम्बन्धी विश्व सम्झैताको अन्तिम समझ्दारी हुँदै गर्दाको सभामा बोल्न पाएँ। यस्तो अवसर पाउने पहिलो मेयरका रूपमा मैले शहरहरूलाई बसाइँसराइ नीतिका लागि अझ् बढी अधिकार दिँदै सबल बनाउनुपर्ने तर्क पेश गरें। धेरै आप्रवासी शहर छोडेर जान्छन्, शहर हुँदै अन्त जान्छन् अनि शहरमै फर्कन्छन्, जुन ब्रिस्टोलमा पनि लागू हुन्छ। मलाई लाग्छ, जलवायुको हकमा पनि शहरले नेतृत्व र विशेषज्ञता दिन सक्छ।
जब म सन् २०१६ मा मेयर निर्वाचित भएँ यो पदको भूमिका कस्तो हुन्छ भन्ने थाहा थिएन। तर, विश्वव्यापी लक्ष्यका लागि आफ्नो शहरभित्र के गरिन्छ भन्नेमा मात्र सीमित भएर पुग्दो रहेनछ। हरेक शहर उत्तिकै सबल हुनुपर्ने रहेछ। अर्थात्, ब्रिस्टोलको सेवा गर्नु भनेको यस शहरलाई प्रभाव पार्ने बाह्य विषयमा पनि उत्तिक ध्यान दिनु रहेछ।
शहरहरू शक्तिशाली हुनुको अर्थ केन्द्रीय सरकार सङ्कुचित हुनु होइन। बरु यो त राष्ट्रिय-अन्तर्राष्ट्रिय शासकीय संरचनामा ओझेल परेका विषयलाई आवाज दिनु हो। त्यसैले जलवायु परिवर्तनको विश्वव्यापी मुद्दामा केन्द्र सरकारले भूमिका बढाउन आवश्यक छ। यससँगै अन्तर्राष्ट्रिय सङ्घसंस्थाले पनि यो मुद्दामा आफ्नो भूमिकालाई शहरी तहबाटै अघि बढाउने गरी पुनर्निर्दिष्ट गर्नु उचित हुन्छ।
वर्ल्ड इकोनोमिक फोरम ग्लोबल फ्युचर काउन्सिल फोरममा कार्यरत मित्र ग्रेग क्लर्कको तर्क छ, हामी शहरको शताब्दीको युगमा छौं। हामी सबैको भलाइका लागि विश्वको प्रत्येक सरकारले यो महत्त्वपूर्ण तथ्य मनन गर्नु जरुरी छ। यससँगै शहरी प्रशासनका पदाधिकारीहरूलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय नीतिनिर्माणमा साझेदार बनाइए मात्र अहिलेको चुनौती सामना गर्न सहज हुनेछ।
(दी इकोनोमिस्टमा प्रकाशित बेलायतको ब्रिस्टोल शहरका मेयर रिसको लेखको भावानुवाद।)