शेखरलाई देउवाको प्रश्न- प्रचण्ड हार्ने चुनाव लड्छन्?
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल हार्ने चुनाव नलड्ने बताउँदै गठबन्धनका विरुद्ध धेरै नबोल्न आफ्ना नेताहरूलाई आग्रह गरेका छन्।
काठमाडौंमा शनिबार बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन गरेर चुनावमा जानुपर्नेमा जोड दिए। केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि देउवाले गठबन्धन गरेर जानुपर्ने तर्क गरेका हुन्।
अहिले पनि नेकपा (एमाले) कमजोर नभएको र फेरि पनि माओवादी र एमाले मिल्ने सम्भावना यथावत् रहेको जिकिर गरे। “माओवादी र एमाले फुटे, हामी जितिहाल्छौं भन्ने सोचिराख्नुभएको होला। फेरि मिलिदिए भने नि? उहाँहरूलाई मिल्न दिने इच्छा हो भने मिल्न दिऔं,” देउवाले भने, “उहाँहरू मिल्ने सम्भावना अझै घटेको छैन।”
उनले अघिल्लो स्थानीय चुनावको पनि समीक्षा गरे। “कति ठाउँमा प्रचण्डजीका मान्छेले जितेका छन्, कति ठाउँमा माधव नेपालजीका मान्छेले जितेका छन्। स्थानीय तहमै हाम्रो भन्दा उनीहरूका मान्छेले धेरै जितेका छन्,” कांग्रेस सभापति देउवाले भने, “फेरि ओलीजीसँग मिले भने त हामी कसरी जित्छौं?”
माओवादी अध्यक्ष दाहाल हार्ने चुनाव लड्ने मान्छे नभएको देउवाको भनाइ थियो। “ओली र प्रचण्ड फुटिहाले, हामी जितिहाल्छौं भन्ने आशै नगरे हुन्छ,” देउवाले भने, “प्रचण्ड हार्ने चुनाव लड्छन्? जहाँ सजिलो हुन्छ, मिलिदिन्छन्। त्यो पनि बुझ्नुस्, हामीले लखेट्यो भने कहाँ जान्छन्?”
आफूले नैतिक रूपमा पनि माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई गठबन्धन छोडेर जाऊ भन्न पनि नमिल्ने बताए। “अदालतले संसद् विघटन खारेजपछि सबैले सहयोग गरेर प्रधानमन्त्री बनिहालें। त्यही मेरो गल्ती थियो भने भन्नुस्,” प्रधानमन्त्री देउवाले प्रश्न गरे, “प्रधानमन्त्री बनाउने साथीहरूलाई ‘गेट आउट’ भन्ने मैले? त्यो कुरा भन्न मिल्छ मैले?”
ओलीले संसद् विघटन गर्दा आफू चुनावको पक्षमा रहेको पनि देउवाले खुलाए। “ओलीले संसद् विघटन गर्दा म त चुनाव होस् भन्ने पक्षमा थिएँ। हामीले बनाएको संविधान अनुसार अदालतले फिर्ता गरिदियो,” देउवाले भने।
आफू जित्नलाई नभएर पार्टीका सबै नेता जितून् भन्ने उद्देश्यले गठबन्धनको कुरा गरिरहेको उनको भनाइ थियो।
“पार्टी नहारोस् भन्ने मेरो चिन्ता हो। मैले अब धेरै राजनीति गर्नु पनि छैन। उमेर पनि भइसक्यो,” एउटै मञ्चमा रहेका डा. कोइरालातर्फ हेर्दै देउवाले भने, “हिजो शेखरजी हारेका हुन्, पार्टी हारेको हो। मेरो कर्तव्य के हो भने पार्टीलाई जिताउने हो। सबै साथी जितून् भन्ने हो, शेखरजी जितून्।”