नेपालले पपुवा न्यूगिनीलाई दियो २७९ रन लक्ष्य
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो खेलमा नेपालले पपुवा न्यूगिनीलाई २७९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा २७८ रन बनाएको हो। प्रारम्भिक ब्याटरलाई ५ रनमै गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र देव खनालले १२९ रनको साझेदारी गरे।
नेपालका लागि ऐरीले शतक र खनालले अर्धशतक बनाए। ऐरीले १४० बलमा १०५ रन बनाए। उनले सात चौका प्रहार गरे।
त्यस्तै, खनालले ८६ बलमा ७२ रन बनाए। जसमा चार चौका र तीन छक्का सामेल छन्। उनको यो दोस्रो ओडीआई हो।
यसै गरी रोहित पौडेलले ३५, भीम सार्कीले २६ र सन्दीप लामिछानेले २४ रन बनाए।
पपुवा न्यूगिनीका लागि अलेई नावले तीन, नर्मन भनुवाले दुई, चाड सोपर र चार्ल्स अमिनीले एक–एक विकेट लिए।