सडक विस्तारका क्रममा सर्लाहीमा झडप, सांसद प्रमोद साह घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिकामा सडक विस्तारको क्रममा झडप भएको छ। झडपमा सांसद प्रमोद साह घाइते भएका छन्।
एकपक्षीय रूपमा सडक फराकिलो पार्न खोजेको भन्दै विरोधमा उत्रिएका स्थानीय बासिन्दाबीच झडप भएको हो। ईश्वरपुर नगरपालिका–६, बयलबास बजारमा भएको झडपमा स्थानीय बासिन्दाबीच ढुङ्गा हानाहान भएको छ।
विवाद साम्य पार्न गएका सांसद साहलाई चोट लागेको हो। टाउकोमा चोट लागेका साह गम्भीर घाइते भएका छन्।
सर्लाही १ का सांसद साहलाई उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले सांसद साहको टाउकोमा २५ वटा टाँका लागेको बताए। उनको बयलबासस्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ।
सांसद साहलाई जोगाउने क्रममा उनका सुरक्षागार्ड असई विनोदप्रसाद यादव पनि घाइते भएका छन्। विरोधमा उत्रिएका स्थानीय बासिन्दाले गाडी र मोटरसाइकल पनि तोडफोड गरेका छन्।
बयलबासमा रहेको फुलजोर बाबा युवा क्लबको भवन सडक किनारमै रहेको छ। सडक विस्तारका क्रममा क्लबको भवन केही भत्किएको थियो।
क्लबले सडकको जमीन छुट्याएर भवन बनाउन खोजेको थियो। सडकमा भवन नबनाउन स्थानीय बासिन्दाले दबाब दिंदै आएका थिए। उनीहरूले सडकबाट क्लबको भवन हटाउनुपर्ने बताउँदै आएका थिए।
यही विषयलाई लिएर विवाद हुँदै आएको थियो। शनिबार बिहानैदेखि स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए। विवाद साम्य पार्न सांसद साह घटनास्थल पुगेका थिए। उनी पुग्ने बित्तिकै झडप भएको स्थानीय बासिन्दाले बताए।