चिनियाँ विदेश मन्त्रीले पोखरा विमानस्थल हस्तान्तरण गर्दै, कति काम भएको छ?
चिनियाँ विदेशमन्त्री वाङ यीले आज एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्माणाधीन पोखरा विमानस्थल हस्तान्तरण गर्ने तयारी गरिएको छ।
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ। विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सीएएमसीईले हस्तान्तरण गर्ने भएको छ।
चिनियाँ विदेश मन्त्री यीको नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिक रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको विमानस्थल आयोजना प्रमख विनेश मुनंकर्मीले जानकारी दिए। उनका अनुसार, आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनका परराष्ट्रमन्त्री वाङ यीले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नेछन्।
सोही समयमा पोखरा आयोजना स्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटन मन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ। मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सम्पन्न भएकाले विमानस्थल हस्तान्तरण गर्न लागिएको हो।
विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटीसी) भवन लगायत विभिन्न १४ भवन, ट्याक्सी वे लगायत मुख्य काम सकिएका छन्। विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सबिन फुयाँलले विमानस्थलका मुख्य काम सबै सकिएको र सामान्य केही काम मात्र बाँकी रहेको बताए। सरकारले यसै वर्षभित्र विमानस्थल सञ्चालनमा ल्याउने योजना बनाएको छ।
उनले भने, “रनवे, टर्मिनल भवन, यान्त्रिक उपकरण जडान, लाइट लगायत मुख्य काम सबै सकिएको छ। फेन्सिङ, प्यासेन्जर बडी बिल्ड र नालाको केही सामान्य काम मात्र बाँकी छ। यसका लागि अब धेरै समय लाग्दैन।”
निर्माण कम्पनीसँगको सम्झौता अनुसार आयोजनाका मुख्य काम सकिए पनि विमानस्थल सञ्चालनका लागि पूर्ण रूपमा तयार हुन अझै काम बाँकी नै छ। आयोजनाका अनुसार, नेपाली पक्षले गर्नुपर्ने ‘ल्यान्डफिल साइट’ व्यवस्थापन, विमानस्थलको पूर्वपट्टीको रिठेपानी डाँडा कटान र ‘फ्युल स्टेशन’ को काम अझै शुरू हुन सकेको छैन।
डाँडा कटानका लागि मन्त्रिपरिषद्ले पूरक प्रतिवेदन पेश गर्ने र वनसँग सम्झौता गर्ने गरी दुई पूर्व शर्त सहित यसअघि नै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको थियो। पूरक प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको र स्वीकृतिको चरणमा रहेको अधिकृत फुयाँलले बताए। विमान उडान र अवतरणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आईकाओ) का मापदण्ड अनुसार डाँडा ४० प्रतिशत कटान गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ।
पर्यटकीय शहरका रूपमा स्थापित पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य शहरसँग सीधा सम्पर्क कायम गर्न चार दशकअघि नै विमानस्थल बनाउने योजना अघि सारिएको थियो। लामो समयअघिको योजना विसं २०७४ मा आएर मात्र काम शुरू भएको हो।
१० जुलाई २०२१ भित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता रहे पनि कोरोना सङ्क्रमणका कारण विमानस्थलको काम रोकिएकाले गत वर्ष थप एक वर्ष म्याद थपिएको थियो। निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले २०७४ असारदेखि विमानस्थलको काम शुरू गरेको थियो। यसका लागि २२ मे २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापारिक सम्झौता भएको थियो।
त्यसपछि २१ मार्च २०१६ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएकामा सोही वर्षको ५ जुनमा सरकार र क्यानबीच सहुलियत ऋण सम्झौता भएको थियो। चीनको एक्जिम ब्यांकले २१ मे २०१७ मा ऋण स्वीकृत गरेकामा २५ फेब्रुअरी २०१८ मा नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र चिनियाँ एक्जिम ब्यांकबीच विमानस्थल निर्माणका लागि आर्थिक स्रोतको सुनिश्चितता भएपछि निर्माण कार्य अघि बढाइएको थियो।
ईपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट र कन्सट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्जनाइजेशन (आईकाओ) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गरिएको हो। यस विमानस्थलमा बोइङ ७५७ र एयरबस २१९ मोडलका ‘न्यारोबडी’ विमान उडान तथा अवतरण गर्न सकिनेछ।
साविक छिनेडाँडा हाल पोखरा महानगरपालिका-१४ मा २०३२ सालमा पहिलो पटक विमानस्थलका लागि तीन हजार १०६ रोपनी जमीन अधिग्रहण गरिएको थियो। त्यसपछि २०७२ मा थप ५२१ मध्येमा ५१५ रोपनी जमीन तथा ३५ घरटहरा अधिग्रहण गरिएको थियो। पछिल्लो पटक ‘आउटर पेरिफेरी रोड’ का लागि भनेर पुनः ५९ रोपनी जमीन तथा ३४ घरटहरा अधिग्रहण गरिएको थियो। (रासस)