श्याम साहको ‘जमीन’
मधेशभित्रका पनि ओझेल परेका भेगका सामाजिक, सांस्कृतिक, राजनीतिक पाटा र कहरका विभिन्न रूप खुलाएर साहित्य जगत्का लागि मात्र होइन, समाजविज्ञानमा चासो राख्नेका लागि समेत श्यामले अनुसन्धानको नयाँ सन्दर्भ सामग्री थपेका छन्।
जब मधेशी भूगोल र जनजीवनको आख्यानीकरणको प्रसङ्ग उठ्छ, धच गोतामे/ध्रुवचन्द्र गौतम (वीरगञ्ज र आसपास), सनत रेग्मी र नयनराज पाण्डे (नेपालगञ्ज सेरोफेरो) तथा राजेन्द्र विमल (जनकपुर र सीमावर्ती परिवेश) का नाम अगाडि आउँछन्। रामभरोस कापडी, गोपाल अश्क, दिलीप शाह, गणेशप्रसाद लाठ, सुष्मा द्विवेदीका रचनामा पनि तराई-मधेशका अन्य आयाम पाइन्छ। पछिल्लो समय यही भूगोलका विविध पाटोलाई मिहिन ढङ्गले लेखिरहेछन् कथाकार श्याम साह।
केन्द्रको सङ्कुचित नजरमा एकै खालको देखिने मधेशको सामाजिक परिवेशका धेरै तह छन्। मधेशको विविधतालाई श्यामले पत्रपत्र केलाएका छन्, भित्री तहसम्म पुगेर। पहिलो कथासङ्ग्रह अब्बा मार्फत कथाकारितामा उदाएका श्यामको अर्कोे सङ्ग्रह पथेरले उनको कथालेखनमा अन्य विविध पात्र र प्रवृत्ति थपेको छ।
सङ्ग्रहका धेरै कथामा सिरहाको गोलबजारको परिदृश्य छ। चमार, मुसहर र डोमका विपन्न दलित बस्तीका सङ्घर्ष र जिजीविषा छन्। तराईमै ओझेल परेका मुसलमान समुदाय पनि अटेका छन्। छिमेकी भारतबाट आउने कामदारका गाथा छन्।
धनी होस् या गरीब, पुरुषकै हालीमुहाली रहने हाम्रो समाजमा रामदुलारी, लाटी, सीता, सोनावती, रुक्साना, मीनाक्षी जस्ता महिला पात्र मार्फत मधेशका विभिन्न संस्कार र मान्यताका नाममा पिल्सिएको तप्काको दैनिकी टिपेका छन्।
शक्तिकेन्द्रका आसपास रहेकाहरूको रजगजमाझ निसासिएका भुइँमान्छेका कहरले आवाज पाएका छन्। कथाकारले त्यस भेगका परिकारको स्थानीय नाम प्रयोग गरेर मधेशी महक फैलाएका छन्। अधिकांश मैथिली र केही हिन्दी तथा भोजपुरी भाषामा गरिएका संवादले कथानकलाई जीवन्त बनाएका छन्।
श्यामका कथामा उत्पीडित र दमित समुदायका पात्र नै अधिक छन्। धनी होस् या गरीब, पुरुषकै हालीमुहाली रहने हाम्रो समाजमा रामदुलारी, लाटी, सीता, सोनावती, रुक्साना, मीनाक्षी जस्ता महिला पात्र मार्फत मधेशका विभिन्न संस्कार र मान्यताका नाममा पिल्सिएको तप्काको दैनिकी टिपेका छन्। ‘छठ’ कथाभित्रकी महिला पात्र ललिता बिरामी परेकाले उनको सट्टा एक पटकको छठको व्रत उनका श्रीमान्ले लिन्छन् र पारिवारिक रीति टार्छन्।
कथाको अन्त्यमा ललिता भन्छिन्, ‘यस पटकलाई मात्र हो। अर्को पटकदेखि म आफैं बसिहाल्छु।’ कथाकारलाई प्रश्न छ- मध्यम परिवारकी यी महिला पात्रलाई सामाजिक परम्पराको बिंडो धान्ने एकल अभिभारा बोकाएर कसरी परिवर्तनको अपेक्षा गर्न सकिन्छ?
‘एक रातको कथा’ की यौनकर्मी युवती बाहेक अधिकांश महिला डरपोक छन्। ‘मीनाक्षी’ कथाकी मुख्य पात्र पनि समाजको तगारो नाघ्न नसकी पलायन स्विकार्न बाध्य छिन्। यति हुँदाहुँदै कथावाचकले धेरैजसो नारी पात्रको वर्णनमा ‘उनी’ र पुरुषलाई ‘ऊ’ प्रयोग गर्नुले लेखकको नारीप्रतिको संवेदनशीलता झल्किन्छ, यो पक्षधरता सराहनीय लाग्छ।
राजनीतिक सुझबुझका साथ लेख्ने श्यामले यथार्थवादी कथाकारको पहिचान बनाएका छन्। तर, अब्बा सङ्ग्रहका ‘मृत्युको कथा’, ‘कालो रातको कुरुक्षेत्र’, ‘तेह्र हजार दुई सय छयालीस’ र ‘म मरेपछि’ प्रयोगवादी कथा हुन्- यथार्थको जगमा उभिएका स्वैरकाल्पनिक। गम्भीर विषय र कहरको बाढीबीच पनि यो प्रयोग आकर्षक र मोहक छ।
कथाहरूमा दशक लामो सशस्त्र युद्धको प्रभाव बाक्लै छ। लघु उपन्यासको झल्को मिल्ने ‘अब्बा’ शीर्षकको कथाले द्वन्द्वको छायामुनि मधेशका विविध तहमा गुजुल्टिएर बसेका धेरै समस्या सतहमा ल्याएको छ। सशस्त्र युद्धसँग कुनै सम्बन्ध नभएका कति सर्वसाधारण द्वन्द्वकालमा असलम झैं गुमनाम रूपमा मारिए, लेखाजोखा छैन। ‘तेह्र हजार दुई सय छयालिस’ ले पनि त्यसरी नै अनाहकमा राज्य र माओवादीबाट मारिएकाहरूको कथा भन्छ। यसै सङ्ग्रहभित्रका ‘मन्त्रीकी प्रेमिका’ र ‘मुक्तिको आगमन’ मा पनि द्वन्द्वकालीन परिवेशको झाँकी देखिन्छ।
पथेर सङ्ग्रहमा आइपुग्दा कथाहरू मधेशका सांस्कृतिक र सामाजिक परिवर्तनप्रति सोझिएका छन्। ‘छठ’, ‘जायठ’, ‘विपटा’ जस्ता कथामा सांस्कृतिक पक्ष ज्यादा देखिन्छ भने ‘विकेलिया’, ‘सोनेलालको सैलुन’, ‘टु ट्वेन्टी’, ‘पथेर’ भित्र सामाजिक जटिलताले स्थान पाएका छन्। अब्बाको आवरण पृष्ठमा चित्रित दुब्लोपातलो मान्छेको उल्टो अवस्थिति तथा पथेरमा अङ्कित सूर्योदयको पृष्ठभूमिमा लामो खम्बालाई हेरिरहेकी बच्चा बोकेकी एक महिला समुच्चमा यिनै सामाजिक-सांस्कृतिक परिवेशका साझा विम्ब बनेका छन्।
२०७२ सालमा नेपालमा नयाँ संविधान जारी गरिएपछि भारतले अघोषित रूपमा लगाएको नाकाबन्दी हामी सबैको तीतो भोगाइ थियो। पथेर सङ्ग्रहकै सबैभन्दा लामो कथा छ, ‘नाकाबन्दी’। यसभित्र कथाकारले लामो, अस्थिर तथा अन्योलग्रस्त राजनीतिक परिवेशको व्यापक क्यानभासमा खेलेका छन्।
कथाले मधेशका समस्या, केन्द्रको उदासीनता, मधेशी जनताको चाहना, मधेशी दलहरूका स्वार्थ र काठमाडौं र दिल्लीका आआफ्नै दाउपेच उदाङ्गो पारेको छ। अझ केही खोजबिन, अध्ययन र परिमार्जन गर्ने हो भने नाकाबन्दी एउटा अब्बल राजनीतिक उपन्यास बन्न सक्छ। तर, कथावाचक हावी भइदिंदा घरीघरी एकतमासको राजनीतिक प्रतिवेदन पढे जस्तो लाग्छ।
यही दोष अन्य केही कथामा पनि छ। लम्बेतान व्याख्या, पात्रको न्यून उपस्थिति र पात्रबीचको कम संवादका कारण ‘नाकाबन्दी’ सँगै ‘पथेर’, ‘लाटीको छोरो’ जस्ता राम्रा कथाका केही ठाउँ पट्यारलाग्दा छन्।
श्यामका कथाहरू पढिरहँदा यस्तो लाग्छ, तराई-मधेशका बासिन्दा कहिल्यै हाँसो-ठट्टा गर्दैनन्, तिनका जीवनमा रामरमाइलोको अंश नै छैन। दुःखदर्दको बोझले थिचिएका पाठकलाई वेलाबखत हास्यरसले हल्का पार्न किन चुके कथाकार? तर्कना जागिरहन्छ। सानैमा अफ्रिकी मुलुक घानाबाट बेलायत पुगेका लेखक कालेव अजुमा नेल्सनले आफ्नो पहिलो उपन्यास ओपन वाटरमा यस्तै सघन पीडा र अपमानबोधका घटना समेटेका छन्। तर, त्यो गम्भीर विषयलाई उनले रतिरागको चास्नीमा घोलेका छन्।
रतिरागले रमरम पार्न आँट्दा नआँट्दै रङ्गभेदका ऐंठनले समाउन पुग्छ। जर्मन कवि बर्तोल ब्रेख्तले भने झैं अप्ठ्यारो परिस्थितिमा अँध्यारा ठाउँबारे गीत गाउन र रमाइलो गर्न पनि सम्भव छ। अँध्यारोमा बाँचेका पात्रहरूको हास्यचेत पहिल्याउन भने जरुरी छ।
मधेशी जनताका सन्दर्भमा नागरिकता धेरै गिजोलिएको र जटिल बनाइएको विषय हो। चमार, मुसहर, डोमबस्तीका भूमिहीनले नागरिकता पाउन अझै सहज छैन। नागरिकता नपाएपछि उनीहरू राज्यका अन्य सेवासुविधाबाट वञ्चित हुने नै भए। यो अवस्थाको साक्षी रहेका कथाकारलाई उनीहरूको पीडाबोध छ। ‘मुक्तिको आगमन’ भित्रको कथावाचक मार्फत उनी भन्छन्- ‘उनीहरूलाई थाहा थिएन, उसका पुर्खाहरू यस गाउँमा कहिलेदेखि थिए। तर, उनीहरूले थाहा पाउन थालेदेखि नै उनीहरू यस गाउँमा छन् र यो गाउँ उनीहरूको हो।
जब पहिलो पटक उनीहरूले यस भूमिमा पाइला टेके, उनीहरूलाई थाहा थिएन, यो भूमि कुन देशको हो? जब उनीहरू त्यस गाउँको माटोमा हुर्के, तिनीहरूलाई कसैले तिमी यहाँका हौ भनेर प्रमाण मागेनन्। तर, जब तिनीहरू त्यस गाउँमा आफू हुनुको अस्तित्व खोज्न थाले अनि उनीहरूसँग प्रमाण मागियो- तिम्रो नागरिकता खोइ?’
चोटिला कथाका लागि सआदत हसन मन्टोको नाम अगाडि आउँछ। ‘ठन्डा गोस्त’, ‘खोल दो’, ‘टोवा टेक सिं’ जस्ता कथाले उनलाई सधैं सम्झाइरहन्छन्। समाजका अपहेलित र किनाराकृत पात्र र विषयले उनका अधिकतर कथामा प्रवेश पाएका छन्। उनका कथामा अनुमानभन्दा बिल्कुलै अलग क्लाइमेक्स हुन्छन्- पाठकलाई लामो समयसम्म घोत्लिन बाध्य पार्ने खालका।
मन्टो जस्तै सीमान्तीकृत समुदायको कथा टिप्छन् श्याम, वास्तविक जिन्दगीका सजीव पात्र चयन गर्छन् र उत्तिकै बलियो विषय उठाउँछन्। फ्ल्यासब्याकमा गएर कथा सुनाउँछन् र पाठकलाई अन्त्यसम्म बाँधिराख्न प्रयत्न गर्छन्। तर, क्लाइमेक्सले पाठकको दिमागलाई उस्तो रन्थन्याउँदैन। धेरैजसो कथाहरू सामान्य रूपमै टुङ्गिन्छन्।
विकास निर्माण तथा अन्य क्षेत्रका बेथितिका कुरा अखबारमा सधैंजसो आइरहन्छन्। सरकारी सेवामा कार्यरत कथाकारले त्यहाँ हुने लेनदेन, अनियमितता र पर्दा पछाडिका गतिविधिलाई नजिकबाट नियालिरहेका छन्। यिनै विसङ्गतिलाई उनले कथाका अंश बनाएका छन् र नयाँ बहस जन्माएका छन्। इँटाभट्टाको परिवेश र विभेदको इतिवृत्ति समावेश भएको ‘पथेर’ अनि बिचौलियाको हैसियत र प्रभावलाई उदाङ्गो पार्ने ‘विकेलिया’ जस्ता कथाबाट उनले समाजशास्त्री/मानवशास्त्रीलाई समेत थप अध्ययनका लागि प्रेरित गरेका छन्।
समग्रमा दुवै कथाकृति मार्फत मधेशभित्रका पनि ओझेल परेका भेगका सामाजिक, सांस्कृतिक, राजनीतिक पाटा र कहरका विभिन्न रूप खुलाएर साहित्य जगत्का लागि मात्र होइन, समाजविज्ञानका विभिन्न क्षेत्रमा चासो राख्नेका लागि समेत श्यामले अनुसन्धानको नयाँ सन्दर्भ सामग्री थपेका छन्। भारतीय लेखक अरुन्धती रोयका बुझाइमा- ‘आवाजविहीन भन्ने कोही हुँदैन। जानाजान मौन बसाइएका वा चाहेरै नसुनिने बनाइएका मात्र हुन्छन्।’ यतिका वर्षसम्म आवाजविहीन र अगोचर बाँच्न बाध्य पारिएकालाई आफ्ना आख्यान मार्फत आवाज दिएर सवार्ल्टनका प्रवक्ता बनेका छन् कथाकार।
(हिमालको २०७८ चैत अंकबाट।)