कहिले सुध्रेला हाम्रो भाषा?
‘राम्रोसँग बुझिएको, शास्त्रले युक्त, राम्रोसँग प्रयोग गरिएको एउटा मात्र शब्दले पनि स्वर्ग र इहलोकमा इच्छा पुर्याउने हुन्छ’ भन्ने परापूर्वकालदेखिको आदर्शमा प्रजातन्त्र स्थापनापछि पाश्चात्त्य धारणा हावी भई अङ्ग्रेजी शब्दलाई संस्कृतको खोल ओढाउने लहर चल्दा नेपाली भाषाको बिचल्ली भइरहेको छ।
नेपाली भाषामा शुद्ध शब्दको प्रयोगको कुरा गर्दा मलाई झण्डै ६० वर्ष अगाडिको प्रसङ्ग याद आउँछ। विसंं २०१९ कात्तिकमा रूप-रेखा मासिक पत्रिकामा महानन्द सापकोटा (विसं १९५३-२०३५) को भाषाकै विषयको लेख छापिएको थियो (‘गरीब-गुरुबा कि गरीब-गुर्बा’, १८ पूर्णाङ्क, २२-२५ पृ.)। त्यहाँ प्रसङ्गवश यस्तो लेखिएको थियो-
‘चोखो र नबिटुलिएको नेपाली लेख्नेहरूमा श्री नयराज पन्त एक जना हुनुहुन्छ। तर उहाँले “गरीब-गुरुबा,” “लक्ष्मी ... ... आउने छिन्,” “तिमी आएकी छ्यौ” लेखेको देख्ता मन पिरोलिन्छ। एस्ता प्रयोग अन्त नदेखिएको होइन, तर पन्तजीको लेखाइमा तेस्ता प्रयोग देख्ता अधिक दुःख लागेको हो। ‘‘गरीब-गुरुबा’’ मा ‘गुरुबा’ को अर्थ के हो भनेर विद्यार्थीले सोधे भने गुरुबाले के बताउनु?’ (२३ पृ.)
त्यस ताका नयराज पन्त (विसं १९७०-२०५९) विद्या-रक्षा नाउँले पुस्तिकाकारमा लेखमाला चलाउँथे। सापकोटाको माथि उद्धृत लेख पढेपछि उनले त्यो विषय लिएर विद्या-रक्षा ११ सङ्ख्या लगत्तै प्रकाश गरे।
सापकोटाले ‘जन जिब्राले ‘दुद’ भन्छ भाषामा धाँदा फटाउने शैक्षिक ठालू तत्समतिर हेरेर अनि हिन्दीका प्रभावमा ‘दूध’ पार्छन्’ (रूप-रेखा १८ पूर्णाङ्क, २२ पृ.) भनी लेखेका थिए। त्यसको विप्रतिपत्तिमा ‘दुइटा हल् मिलेका छन् भने एउटा हल्को लोप भई अघिल्तिरको अच् दीर्घ हुन्छ। जस्तै- कर्ण = कान, पञ्च = पाँच, पत्र = पात, हस्त = हात इत्यादि। यस कारण दुग्ध = दूध हुन्छ’ भनी पन्तले त्यही विद्या-रक्षा (२-३ पृ.) मा लेखे। सापकोटा शुद्ध लेख्न सक्ने मानिस होइनन् भन्ने देखाउन उनको त्यही लेखमा परेको ‘संबन्धित’ शब्द (रूप-रेखा १८ पूर्णाङ्क, २३ पृ.) को विषयमा पन्त यस्तो लेख्न पुग्छन्- ‘संबन्धित रूप अशुद्ध हो। यसको विशेष चर्चा सावधान-पत्र २ सङ्ख्यामा सप्रमाण गरिएको छ। हिन्दीका अधकल्चा ग्रन्थकारहरूले संबन्धित रूप चलाएका हुन्। हिन्दीको प्रभावबाट नेपालीलाई रक्षा गर्छु भनी फलाक्दै हिँड्ने महानन्दजीले कुन शिष्टको भर गरी यो अशुद्धिलाई अँगाल्नुभएको हो?’ (३ पृ.)
‘अपवाद नभएका नियम दुर्लभ छन्। व्याकरणहरूमा त पाइलैपिच्छे सामान्य नियम र अपवादको ख्याल राख्नुपर्छ। ..यस कारण महानन्दजीले देखाउनुभएका यी उदाहरणहरूले माथिको सामान्य नियम काटिँदैन’
कुरा यतिमै टुङ्गिएन। ‘दुइटा हल् मिलेका छन् भने एउटा हल्को लोप भई अघिल्तिरको अच् दीर्घ हुन्छ’ भनी नयराज पन्तले लेखेको कुराको प्रतिवादमा रूप-रेखाको लगत्तैको अङ्कमा त्यस्तो नहुने निकै उदाहरण सापकोटाले प्रस्तुत गरे (‘उपपत्तिको आधार’ १९ पूर्णाङ्क, ३-४ पृ.)। ‘अपवाद नभएका नियम दुर्लभ छन्। व्याकरणहरूमा त पाइलैपिच्छे सामान्य नियम र अपवादको ख्याल राख्नुपर्छ। ..यस कारण महानन्दजीले देखाउनुभएका यी उदाहरणहरूले माथिको सामान्य नियम काटिँदैन’ (३, ६ पृ.) भनी प्रतिवादमा पन्तले विद्या-रक्षा १२ सङ्ख्या निकाले।
विसं २०४१ देखि २०४५ भित्रको कुरा हुनुपर्छ, चूडामणि बन्धु (विसं १९९५ मा जन्म) नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य हुँदा ताकाको। उनले पारिभाषिक शब्दावली बनाउने बिँडो उठाएका रहेछन्। त्यसमा इतिहास-शब्दावली पनि परेको रहेछ। त्यो शब्दावली तयार गर्ने काम भैरहवातिर क्याम्पसमा पढाउने कपिलदेव लामिछाने (विसं २०१५ मा जन्म) ले गरेका रहेछन्। त्यो शब्दावली जाँच्ने काममा म पनि कताकताबाट परेछु। त्यस कामको संयोजकमा प्रज्ञा-प्रतिष्ठानकै कर्मचारी हर्षनाथ शर्मा भट्टराई (विसं १९८२-२०६९) थिए।
प्रज्ञा-प्रतिष्ठानले तयार गराएको त्यो इतिहास-शब्दावली हेर्दै जाँदा त्यसको उपयोगितामै मलाई सन्देह उठ्दै गयो। त्यस्तो पुस्तक बनाउने हो भने त, शासनमा चलेका अङ्ग्रेजी शब्दको ठाउँमा हिन्दी र अरू भारतीय भाषामा पनि त्यस्ता शब्दको उपयोग गर्ने उद्देश्यले अङ्ग्रेजी ढङ्गले संस्कृत पढेका, हल्यान्डको उट्रेख्ट विश्वविद्यालयबाट डक्टरेट गरेका, जनसङ्घी नेता रघुवीर (विसं १९५९-२०२०) को मातहतमा भारत सरकारले प्रशस्त खर्च गरी तयार पारेको, डेढ लाख शब्द भएको अ कम्प्रिहेन्सिभ् इङ्ग्लिश्-हिन्डी डिक्शन्अरि अफ् गभ्अर्न्मेन्टल् यान्ड् एड्युकेशनल् वर्डज् यान्ड् फ्रेज्इज् (इन्टर्न्याश्अनल अक्याड्इम्इ अफ इन्डिअन कल्चर, नयाँ दिल्ली, सन् १९७३) भन्ने कोष नै काफी थियो।
अनि मैले त्यस्ता खालका, भारतबाट छापिएका अरू कोषतिर पनि आँखा लाउन थालें। भारत सरकारद्वारा प्रकाशित बृहत् पारिभाषिक शब्दसंग्रह, मानविकी १ खण्ड र २ खण्डमा यसै प्रसङ्गमा आँखा पर्यो (शिक्षा तथा समाज कल्याण मंत्रालय, केन्द्रीय हिंदी निदेशालय, वैज्ञानिक तथा तकनीकी शब्दावली आयोग, सन् १९७३, १९७४)। त्यस पारिभाषिक शब्दसंग्रहसँग प्रज्ञा-प्रतिष्ठानको इतिहास-शब्दावली भिडाएर हेर्दै जाँदा पारिभाषिक शब्दसंग्रहमा जहाँ जहाँ यो शब्द इतिहासमा चलेको भनी देखाइएको छ, ती ती शब्द इतिहास-शब्दावलीमा सारिएकोे मात्र नभई अङ्ग्रेजी शब्दको अर्थ दिंदा हाम्रो भाषामा चलनचल्तीमै नभएको शब्द पनि त्यस कोषबाट सारेको देखियो।
जुन वेला अकादेमि फ्रान्सेको स्थापना भयो, त्यस वेला अकादेमिको मुख्य काम नै फ्रेन्च भाषाका अशुद्धि हटाउनु हो भनी घोषणा गरिएको थियो।
नेपालीमा चलेको ‘किमखाब’ नलेखी ‘हेमकौशेय’ जस्ता शब्द लेखिएको देख्दा त्यस शब्दावलीमा अल्झिरहन मन लागेन र एक दुई बैठकपछि म त्यहाँ जान छोडें। पछि उनीहरूले त्यो काम सम्पन्न गरेछन् र मैले गरेको कामको मेहनताना दिन चेक लिई संयोजक भट्टराई मकहाँ आए। मैले चेक बुझिनँ र उनी यसै फर्केर गए। पछि त्यो इतिहास-शब्दावली प्रकाशित भयो कि भएन भन्नेमा मैले खायस राखिनँ।
‘एकः शब्दः सम्यग् ज्ञातः शास्त्रान्वितः सुप्रयुक्तः स्वर्गे लोके कामधुग् भवति’ (अष्टाध्यायी ६।१।८४ को ५ वात्र्तिकमा महाभाष्य) अर्थात् ‘राम्रोसँग बुझिएको, शास्त्रले युक्त, राम्रोसँग प्रयोग गरिएको एउटा मात्र शब्दले पनि स्वर्गमा र इहलोकमा इच्छा पुर्याउने हुन्छ’ भन्ने आदर्श परापूर्वकालदेखि हुँदा हुँदै शुद्ध शब्दको प्रयोगततर्फ हाम्रो ध्यान खस्किँदै जाँदा भाषाको बिचल्ली झन् झन् विकराल हुँदै गएको छ। पाश्चात्त्य परम्परा मात्र हेर्ने हो भने पनि अकादेमि फ्रान्से अर्थात् फ्रान्सको एकेडेमी- अहिले चलेको शब्दमा भन्दा फ्रान्सको प्रज्ञाप्रतिष्ठान-कै कुरा गरौं।
जुन वेला अकादेमि फ्रान्सेको स्थापना भयो, त्यस वेला अकादेमिको मुख्य काम नै फ्रेन्च भाषाका अशुद्धि हटाउनु हो भनी घोषणा गरिएको थियो। अहिले पनि अकादेमि फ्रान्सेलाई फ्रेन्च भाषाको प्रयोग, कोष र व्याकरणमा आधिकारिक संस्था मानिन्छ। त्यसैले होला, नेपाल सम्बन्धी अन्वेषण गर्ने फ्रेन्च विद्वान् र विदुषीहरू नेपाल एकेडेमी भन्नेबित्तिकै नेपाली भाषाको विषयमा काम गर्ने संस्था ठान्थे।
अब शासनमा प्रचलित पदका विषयमा कुरा गरौं। मन्त्री र उपमन्त्रीको बीचमा ‘राज्यमन्त्री’ भन्ने पद छ। अङ्ग्रेजीको ‘मिनिस्टर अफ स्टेट’ को सोझो उल्था त्यो हो। ‘मिनिस्टर अफ स्टेट’ वा त्यसका शब्दानुवादले पश्चिमा मुलुकमा मूलतः ‘राज्यका सर्वेसर्वा मन्त्री’ बुझाउने भए पनि शब्दको अर्थापकर्ष हुँदा कहीं कहीं त्यस शब्दले तल्लो तहको मन्त्री बुझाउने गरेको छ।
ब्रिटेनको उपनिवेशबाट छुट्टिई अलग अलग राज्य बनेका भारत र पाकिस्तानमा ‘मिनिस्टर अफ स्टेट’ को अर्थापकर्ष हुँदा भारतमा चलेको ‘राज्यमन्त्री’ शब्दको अन्धानुकरणमा नेपालमा पनि ‘राज्यमन्त्री’ शब्द चल्न गएको हो। राज्यसत्ताको नजीक भएका वैयाकरण किंवा भाषाशास्त्रीहरूले बुद्धिविवेकको उपयोग गरेको भए त्यस पदले गर्ने कामको विषय बुझेर सार्थक शब्द बनाउन नसकिने थिएन।
सचिव, उपसचिव, कुलपति र उपकुलपति शब्द जस्तो सहसचिव र सहकुलपति शब्दको प्रयोग संज्ञारूपमा हुन सक्दैन।
उपसचिवमाथि, सचिवभन्दा तल ‘सहसचिव’ भन्ने पद छ। व्याकरणको नियम पछ्याउने हो भने, ‘सहसचिव’ संज्ञावाचक शब्द नभई विशेषणवाचक शब्द हो। शुद्ध शब्द चलाउनुपर्नेमा प्रज्ञा-प्रतिष्ठानमै कुलपति र उपकुलपतिको बीचमा सहकुलपतिको पद भएको त्यस प्रतिष्ठानको विसं २०५० को ऐनबाट थाहा हुन्छ।
यस कारण संज्ञारूपका सचिव, उपसचिव, कुलपति र उपकुलपति शब्द जस्तो सहसचिव र सहकुलपति शब्दको प्रयोग संज्ञारूपमा हुन सक्दैन। हरेक पटक जब म छापामा ‘सहसचिव’ भन्ने शब्द देख्छु, आफूले विद्यार्थीकालमा घोकेको भट्टिकाव्य (४।२) मा ‘सीता र लक्ष्मण सहितका राम’ बुझाउन ‘ससीतः सहलक्ष्मणः’ भन्ने पद सम्झन पुग्छु।
पहिले अदालतमा मुद्दा छिन्ने मुख्य अधिकारीलाई ‘डिट्ठा’ र उनीभन्दा लगत्तै तलकालाई ‘विचारी’ भनिन्थ्यो। त्यसैले अदालतमा मुद्दा खेपिरहेका भानुभक्त आचार्य (विसं १८७१-१९२५) ले ‘बिन्ती डिट्ठा विचारिसित म कति गरूँ चुप् रहन्छन् नबोली’ (बाबुराम आचार्य, पुराना कवि र कविता, काठमाडौंः नेपाली भाषाप्रकाशिनी समिति, २००३, १३२ पृ.मा उद्धृत) भनी लेखेको। अङ्ग्रेजी प्रभाव बढ्दै गएपछि अदालतको मुख्य हाकिमलाई ‘जज’ भन्न थालिए पनि डिट्ठा विचारी कायमै थिए।
प्रजातन्त्र भएपछि पाश्चात्त्य धारणा प्रबलतम हुँदै जाँदा अङ्ग्रेजी शब्दलाई संस्कृतको खोल ओढाउने लहर चल्यो र ‘जज’ लाई ‘न्यायाधीश’ भन्न थालियो। सेनामा चलेका अङ्ग्रेजी शब्दको सट्टा संस्कृत शब्द चलाउने काम राजा महेन्द्रको पालामा हुँदा सेनाका मुद्दामामिलाको फैसला गर्ने उच्च अधिकारीलाई ‘न्यायाधीश’ नभनी संस्कृतवाङ्मयमा चलेको ‘प्राड्विवाक’ भन्न थालियो। प्राचीन साहित्यमा कहीं नपाइने ‘न्यायाधीश’ को ठाउँमा प्राचीन कालदेखि चलेको ‘प्राड्विवाक’ शब्द निजामतीततर्फ चाहिं किन चलाइएन भन्ने मलाई लाग्छ।
नेपाली भाषामा आजभोलि निकै चलेका ‘बलात्कार’ र ‘वितण्डा’ शब्दको विषयमा पनि अलिकति लेखौं। ‘बलात्कार’ शब्दको मूल अर्थ ‘जबरजस्ती’ भन्ने हुन्छ। ‘जबरजस्ती गरिने स्त्रीसम्भोग’ को अर्थमा आफ्नो पुरानो शब्द ‘करणी’ (उदाहरणका लागि, श्री ५ सुरेन्द्र विक्रम शाहदेवका शासनकालमा बनेको मुलुकी ऐन, काठमाडौंः कानून किताब व्यवस्था समिति, २०२२, १०६-१०९ प्रकरण इत्यादि) छोडी संस्कृतमा त्यस अर्थमा नचलेको भए पनि हिन्दीवालाले जबरजस्ती चलाएको ‘बलात्कार’ शब्दबाट हामीले काम लिइरहेका छौं।
नेपालको संस्कृत विश्वविद्यालयबाट प्रकाशित (फणीन्द्रप्रसाद पाण्डेय, संस्कृत-नेपाली शब्दकोश, दाङ, महेन्द्र संस्कृत विश्वविद्यालय, २०५७) र त्यही विश्वविद्यालयका भूतपूर्व रजिष्ट्रारले तयार पारेको (नीलमणि ढुङ्गाना, व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश, ललितपुरः साझा प्रकाशन, २०७८) संस्कृत कोषमा पनि हिन्दीवालाले चलाएको ‘बलात्कार’ को अर्थ समेत दिइएकाले अचम्म लाग्छ।
हाम्रा पत्रपत्रिकामा ‘बाढीको वितण्डा’, ‘वर्णविन्यासमा वितण्डा’, ‘हात्तीको वितण्डा’ लेखिएको र यस्तै यस्तै खालको विनाश भएको अवस्था बुझाउन ‘वितण्डा’ शब्दको प्रयोग भइरहेको पाइन्छ।
‘वितण्डा’ शब्दको प्रयोगको विषयमा त अझ बढी विप्रतिपत्ति उठाउन सकिन्छ। न्यायदर्शनमा चलेको त्यस शब्दले ‘अडङ्गा लगाएर खोते थापेर गरिने विरोध, भ्रमोत्पादक बखेडा, बेमुनासीव वा फजूलको गलफत्ती’ भन्दा बढी अर्थ बुझाउँदैन, तर हाम्रा पत्रपत्रिकामा ‘बाढीको वितण्डा’, ‘वर्णविन्यासमा वितण्डा’, ‘हात्तीको वितण्डा’ लेखिएको र यस्तै यस्तै खालको विनाश भएको अवस्था बुझाउन ‘वितण्डा’ शब्दको प्रयोग भइरहेको पाइन्छ।
संस्कृतका भूतकालिक कृदन्तको नेपाली भाषामा छ्यासछ्यासती प्रयोग गरिन्छ, तर त्यसरी प्रयोग गर्दा संस्कृतको कृदन्तको पछाडि फेरि शुद्ध नेपालीको कृदन्त पनि जोड्ने गरिएको छ। जस्तै, यो पुस्तक ‘प्रकाशित छ’ भने पुग्नेमा ‘प्रकाशित गरिएको छ’ जस्ता वाक्यमा कि नेपालीको भूतकालिक कृदन्त हटाउनुपर्छ कि त्यस वाक्यांशलाई ‘प्रकाशन गरिएको छ’ भनी लेखेमा मात्र वाक्य छरितो बन्छ।
प्रथमा विभक्तिको एकवचनमा आकारान्त देख्नेबित्तिकै त्यसलाई स्त्रीलिङ्गी सम्झने भ्रम आम जनतामा मात्र होइन, नामी लेखकमा पनि भएको कुरा बालकृष्ण सम (विसं १९५९-२०३८) ले आफ्नो प्रेमपिण्ड नाटककी नायिकाको नाउँ ‘सविता’ राखेकोबाट देखिन्छ। वास्तवमा, ‘सविता’ प्रथमाको एकवचनमा आकारान्त देखिए पनि यस शब्दको प्रातिपदिक रूप पितृ, भ्रातृ जस्तै पुंलिङ्गी ऋकारान्त ‘सवितृ’ हो। यसको अर्थ ‘सूर्य’ भन्ने हुन्छ।
‘सवितृ’ शब्द धेरैले जप्ने गरेको गायत्री मन्त्रमा पनि षष्ठी विभक्तिको एकवचनमा ‘सवितुः’ भई आएको छ। ‘चन्द्रमा’ बुझाउने, उकारान्त ‘इन्दु’ शब्द यहाँ स्त्रीको नाउँमा पनि चलेको छ। तर, प्राचीन कालमा खालि ‘इन्दु’ मात्र होइन, त्यहाँ प्रत्यय थपिई ‘इन्दुमती’ शब्द स्त्रीको नाउँमा चलेको थियो भन्ने देखाउन राजा दशरथकी आमाको नाउँ ‘इन्दुमती’ (रघुवंश ६।२।३१;८।१,२८) भएको नै पर्याप्त छ।
मेरो कैशोर्यसम्म पनि न्वारानको नाम नै व्यवहारमा चलाउनेको त के कुरा भयो, नत्र खास गरी देवदेवीको नाउँबाट बच्चाबच्चीको नाउँ राखिने गर्थ्यो। पछि हामी बढी ऐहलौकिक हुँदै गएपछि अर्थ भएका भाववाचक वा विशेषणवाचक शब्दबाट नाउँ राखिन थाल्यो। बीस वर्ष जति यतादेखि त यस्तो अवस्था आयो कि अर्थ नै नभएका शब्दबाट पनि नामकरण हुन थाल्यो।
पाश्चात्त्य नाउँलाई जस्ताको तस्तो वा अलिकति हेरफेर गरेर नेपाली बनाउने चलन पनि हामीकहाँ बढ्दै गएको छ।
भर्खरकै कुरा हो, अखबारमा आँखा दौडाउँदै गर्दा एउटी नेपाली महिलाको त्यस्तै नाम पढियो- जस्प्रिता। त्यस नाउँमा प्रकृति-प्रत्यय के हुन् अत्तोपत्तो छैन, पूरै शब्दको अर्थ के हो त्यो पनि हेर्नु पर्दैन। उच्चारण गर्दाखेरि पछाडि ‘आ’ आयो भने पुग्यो। यो दृष्टान्त मात्र हो, नयाँ पुस्तामा यस्ता नाउँ बग्रेल्ती पाइन्छन्।
नाउँ राख्दा यस्तो मनपरी देखेर मलाई झण्डै ४० वर्ष अगाडिको कुराको सम्झना वारंवार आउँछ। त्यस वेला म जर्मनीको कील विश्वविद्यालयमा थिएँ। त्यहाँ हिन्दीका अध्यापक राजस्थानको कोटाका थिए। उनको छोराको जन्म भएपछि उसको नाउँ त्यहाँको चलन अनुसार म्यूनिसिपलिटिमा दर्ता गर्नुपर्ने रहेछ। ती अध्यापकले छोराको नाउँ ‘अनुज’ राखी दर्ता गर्न जाँदा अड्डाका अधिकारीले अनौठो मानी जायजन्म दर्ता गर्न मानेनछन्। अनि त्यस ‘अनुज’ नाउँको विषयमा कुनै आधिकारिक संस्थाबाट लेखाएर ल्याउन अधिकारीले भनेपछि आफैंले पढाउने गरेको विश्वविद्यालयका संस्कृतका प्रोफेसरबाट लेखाई उनले काम चलाएको मलाई थाहा छ।
पाश्चात्त्य नाउँलाई जस्ताको तस्तो वा अलिकति हेरफेर गरेर नेपाली बनाउने चलन पनि हामीकहाँ बढ्दै गएको छ। जस्तो- जर्मनमा ‘अनेते’ र अङ्ग्रेजीमा ‘अनेत’ उच्चारण हुने स्त्रीनामलाई हामीले ‘अनिता’ बनाइदियौं। त्यस ‘अनिता’ नाउँमा दीर्घ ‘नी’ लेखिएको भए त त्यसलाई जसोतसो हाम्रो भाषाको मान्न सकिन्थ्यो। अर्को नाउँ छ ‘सबिने’, स्त्रीको नाउँमा चल्ने। त्यसलाई हामीले ‘सविना’ बनाई चलाइरहेका छौं, त्यसमा पनि मूलको बकारलाई वकार बनाई।
आदिशङ्करका तीर्थ, आश्रम, सरस्वती, भारती, वन, अरण्य, पर्वत, सागर, गिरि र पुरी गरी १० भिन्नाभिन्नै दलमा बाँडिएका शिष्यहरू सामूहिक रूपमा ‘दशनामी’ कहलाउँछन्। दशनामीमध्ये ६ थरी अर्थात् सरस्वती र भारती, वन र अरण्य तथा पर्वत र गिरि पर्याय हुन् भनी भनिरहनु पर्दैन। अरू अरू सम्प्रदायका सन्न्यासीहरू गृहस्थ भए जस्तै, कालान्तरमा थुप्रै दशनामी सन्न्यासी पनि गृहस्थ भएकाले तिनीहरू ‘घरबारी सन्न्यासी’ कहलाउन थाले।
नेपालमा पनि त्यस्ता घरबारी सन्न्यासीको सङ्ख्या ठूलो छ। तिनीहरूमध्ये गिरिहरूको जमात त अरू दशनामीको भन्दा धेरै छ जस्तो मलाई लाग्छ। तर, ‘गिरि’ लाई धेरैजसो नेपालीहरूले ‘गिरी’ लेख्ने गरेको देख्दा सय वर्षभन्दा अगाडि जर्ज अब्राहम ग्रीर्सन (विसं १९०७-१९९७) ले लेखेका यी वाक्यको सम्झना आउँछ-
‘नेपालीहरू अरू भारतीयहरू जस्तै एकदमै सामान्यतया ह्रस्व ‘इ’ को ठाउँमा दीर्घ ‘ई’ र ह्रस्व ‘उ’ को ठाउँमा दीर्घ ‘ऊ’ लेख्ने गरी दीर्घ र ह्रस्व ‘इ’ तथा दीर्घ र ह्रस्व ‘उ’ छुट्ट्याउने काममा धेरै नै होश पुर्याउँदैनन्’ (लिङ्ग्विस्ट्इक् सर्भे अफ् इन्डिअ ९ ठेली, ४ भाग, कलकत्ता, सन् १९१६, २२ पृ. बाट उल्था)।
अङ्ग्रेजी भाषामा स्त्रीको थरमा स्त्रीलिङ्गी रूप लेख्ने चलन नभए पनि रसियन भाषामा भने स्त्रीको थरमा स्त्रीलिङ्गी रूप नै राख्ने चलन अहिलेसम्म पनि छ।
अङ्ग्रेजी भाषामा स्त्रीको थरमा स्त्रीलिङ्गी रूप लेख्ने चलन नभए पनि रसियन भाषामा भने स्त्रीको थरमा स्त्रीलिङ्गी रूप नै राख्ने चलन अहिलेसम्म पनि छ। अङ्ग्रेजीको प्रभाव बढ्दै गएपछि बङ्गालीहरूले स्त्रीको थरमा लिङ्गभेद गर्न छोडे र त्यसको अनुसरण हिन्दीभाषी समुदायमा पनि भयो। प्राचीन कालदेखि नेपाली भाषामा स्त्रीको थरमा लिङ्गभेद देखाउन थरमा ‘नी’ जोड्ने चलन रहिरहेको थियो।
प्रजातन्त्र आएको बीस-बाइस वर्षसम्म पनि यस्तो चलन थियो भन्ने कुरा तात्कालिक कागजातबाट देखिन्छ (उदाहरणका लागि, रामकुमार भौकाजी, श्री जुद्धकला पाठशाला, काठमाडौंः नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, २०७६, १३३ पृ. र त्यसभन्दा पछि पनि)। पछि बाहिरिया प्रभावमा स्त्रीको थरमा पनि पुंलिङ्गै राख्ने चलन एकनासले चल्यो र अब कसैले स्त्रीको थरमा स्त्रीलिङ्गी रूप लेखेको खण्डमा नराम्रो मान्ने अवस्था आइसकेको छ।
मिति लेख्दा सबभन्दा अगाडि साल, अनि महीना, त्यसपछि गते र अन्तमा वार लेख्ने चलन पहिले पहिले थियो। अहिले यूरोपियन चलन अनुसार सबभन्दा अगाडि गते, अनि महीना र अन्तमा साल लेख्ने चलन बढ्दै छ। ब्याङ्कको चेक वा भौचरमा मिति लेख्दा त तिनमा गते, महीना र सालको क्रममा कोठा बनाइएकाले यसको विकल्प नै छैन, वार लेख्नलाई त कोठा पनि पुग्दैन। कतै कतै अमेरिकन चलन अनुसार पहिले महीना, अनि गते र त्यसपछि मात्र साल लेखिने गरेको पनि नदेखिएको होइन।
अङ्ग्रेजी प्रभावले नेपाली शब्दको क्रम भाँडिएको विषयमा पनि यहाँ केही लेख्न मन लाग्यो। ६४ वर्षभन्दा अगाडिको कुरा हो। कहलिएका विद्वान्हरूले इतिहास लेख्दा गरेका गल्तीको संशोधन प्रमाणको आधारमा गर्ने काम त्यस ताका नयराज पन्तका शिष्य-प्रशिष्यहरूले इतिहास-संशोधनद्वारा गर्थे। इतिहास-संशोधनको प्रकाशनले गर्दा नाउँ चलेका विद्वान्हरूको कीर्तिक्षय भएकाले त्यसको विरोध पनि बजारमा कम थिएन।
यसैले आफूसँग भेटघाट गर्न आएका विद्वान् वा बुद्धिजीवीहरूसँग इतिहास-संशोधनको विषयमा तपाईंको राय के छ भनी पन्त सोध्ने गर्थे र उनीहरूसँग सम्मति पनि माग्ने गर्थे। भाषाशास्त्री र कानूनका पनि विद्वान् भनी कहलिएका रामराज पन्त (१९७६-२०४९) ले यसै क्रममा इतिहास-संशोधनको विषयमा लेखेर दिएको सम्मतिको उठान यसरी
लाई-
अध्यक्ष
इतिहास-संशोधन,
(इतिहास-संशोधनहरूको अभिनन्दन-ग्रन्थ, काठमाडौंः संशोधकहरू, २०१५, २६ पृ.) गरिएकाले अङ्ग्रेजीमा ‘नाउन्’ भन्दा अगाडि ‘प्रिपोजिशन्’ आए जस्तै, नेपालीमा पनि संज्ञाभन्दा अगाडि विभक्ति राखिएको देख्दा म तीनछक परें।
अङ्ग्रेजीको शब्दशः उल्था गरी नेपाली लेखिने गरेको अर्को दृष्टान्त यहाँ दिनु राम्रै होला। कसैलाई धन्यवाद दिनुपर्यो भने, आजभोलि ‘धन्यवाद दिन चाहन्छु’ भनी बोल्ने लेख्ने चलन छ। यसको सोझो अर्थ धन्यवाद दिने इच्छा छ, तर अवस्था भने छैन भन्ने हुन्छ। वास्तवमा भन्न खोजेको त्यो नभई ‘म धन्यवाद दिन्छु’ भन्ने भएकाले त्यसै गरी लेख्ने बोल्ने गर्नुपर्थ्यो। तर, अङ्ग्रेजीको नराम्रो प्रभावमा परी हाम्रो भाषामा वाक्यगठन गर्ने चलन झन् झन् बढ्दै गएकाले ‘आइ वुड् लाइक् टु थ्याङ्क्’ को शब्दशः उल्था गर्दा यस्तो हुन गएको हो।
हाम्रो प्राचीन परम्परामा ‘त्यसले’ वा ‘उसले’ गर्ने काम बुझाउने क्रियारूपलाई ‘प्रथमपुरुष’, ‘तिमीले’ गर्ने काम बुझाउने क्रियारूपलाई ‘मध्यमपुरुष’ र ‘आफूले’ गर्ने काम बुझाउने क्रियारूपलाई ‘उत्तमपुरुष’ भन्ने चलन भएकोमा अङ्ग्रेजी चलन अनुसार त्यस अवस्थामा क्रमशः ‘थर्ड पर्सन’, ‘सेकेन्ड पर्सन’ र ‘फर्स्ट पर्सन’ भनिन्छ। ‘प्रथमपुरुष’ र ‘फर्स्ट पर्सन’ झ्वाट्ट हेर्दा पर्याय देखिए पनि ‘प्रथमपुरुषले’ ‘त्यसले’ वा ‘उसले’ गर्ने काम बुझाउने क्रिया लिन्छ त ‘फर्स्ट पर्सनले’ चाहिं ‘मैले’ गर्ने काम बुझाउने क्रिया लिन्छ।
यसको मतलब हाम्रो परम्परा अनुसार ‘प्रथमपुरुष’ भनेको ‘राम आउँछ’ भन्ने वाक्यको क्रिया हो त अङ्ग्रेजी परम्परा अनुसार ‘म आउँछु’ भन्ने वाक्यको क्रिया ‘फर्स्ट पर्सन’ हो। अर्को ढङ्गले भन्दा, हाम्रो प्रथमपुरुष अङ्ग्रेजी परम्परामा ‘थर्ड पर्सन’ हुन्छ इत्यादि।
सय वर्षभन्दा अगाडि मूलतः प्राचीन ढङ्गले लेखिएको, हेमराज पण्डितज्यू (विसं १९३५-२०१०) को नेपाली भाषाको व्याकरण चन्द्रिका अहिलेसम्म पनि प्रामाणिक व्याकरणका रूपमा मानिई आएको छ। त्यहाँ ‘प्रथमपुरुष’, ‘मध्यमपुरुष’ र ‘उत्तमपुरुष’ को सट्टा ‘थर्ड पर्सन’, ‘सेकेन्ड पर्सन’ र ‘फर्स्ट पर्सन’ को उल्था क्रमशः ‘तृतीयपुरुष’, ‘द्वितीयपुरुष’ र ‘प्रथमपुरुष’ गरी अङ्ग्रेजी चलनको अन्धानुकरण गरेर यस्तो टिप्पणी जडिएको छ-
‘संस्कृतको हिसाबले ‘म हामी’ भएमा उत्तमपुरुष, ‘तं तिमी’ भएमा मध्यमपुरुष, अरू भएमा प्रथमपुरुष हुनु पर्छ त पनी भाषाहरूको क्रम यस्तै चलेको हुनाले उहांको प्रथमलाई यहां तृतीय; उहांको मध्यमलाई यहां द्वितीय, उहांको उत्तमलाई यहां प्रथमपुरुष भन्ने व्यवहार गरिएकोछ’ (३ प्रकाश, काठमाडौं, मिति नखुलेको, ५६ पृ.)।
उता, त्यसै ताका छापिएको जयपृथ्वीबहादूरसिंह (विसं १९३४-१९९७) को नेपाली भाषाको प्राकृतव्याकरणमा चाहिं पुरानै परम्परा अनुसार ‘प्रथमपुरुष’, ‘मध्यमपुरुष’ र ‘उत्तमपुरुष’ लेखिएको छ (काठमाडौं, १९६९, १७-३५ पृ.)। तर, विसं १९७० मा प्रकाशित विश्वमणि दीक्षिताचार्य (विसं १९४६-?) को नेपाली भाषाको हलन्तविरोधी गोरखाव्याकरणबोधमा चाहिं ‘मध्यमपुरुष’ र ‘उत्तमपुरुष’ नै लेखी ‘प्रथमपुरुष’ को ठाउँमा मात्र ‘अन्यपुरुष’ (काठमाडौंः लेखक स्वयं, सन् १९१३, ७४-८३ पृ.) लेखिनुको कारण त मलाई थाहा छैन, किशोरीदास वाजपेयी (विसं १९५५-२०३८) को हिन्दी-शब्दानुशासनमा पनि ‘अन्यपुरुष’ नै लेखिएको सम्झन्छु (२ संस्करण, वाराणसी, नागरीप्रचारिणी सभा, २०२३, ४०२ पृ.)।
सय वर्षभन्दा पनि अघिदेखि प्रतिष्ठित चन्द्रिका व्याकरणको लहलहैमा लागी वैयाकरणहरूले ‘प्रथमपुरुष’, ‘मध्यमपुरुष’ र ‘उत्तमपुरुष’ लाई पूरै तिलाञ्जलि दिइसकेका छन्। अहिले त हुँदाहुँदा व्याकरणमा मात्र चल्ने ‘प्रथमपुरुष’, ‘मध्यमपुरुष’ र ‘उत्तमपुरुष’ को कुरै छाडौं, यी शब्दमा पछाडि ‘पुरुष’ शब्द आएको हुँदा यताबाट पुरुषवादी आधिपत्य झल्कने हुनाले अङ्ग्रेजीको ‘पर्सन’ जस्तै लिङ्गभेद नजनाउने शब्द खोज्नुपर्ने भएको छ भन्ने आवाज पनि यदाकदा सुनिने गरेको छ।
महाभारत पूरा तयार भएपछि यसका रचयिता व्यासले महाभारतको अन्त्य अन्त्यमा (१८।५।४९) ‘ऊध्र्वबाहुर्विरौम्येष न च कश्चिच्छृणोति मे’ अर्थात् ‘हात माथि लगेर म कराइरहेछु, तर कोही पनि मेरो कुरा सुन्दैन’ भनी लेखे जस्तै, शुद्ध शब्दको प्रयोगको विषयमा मैले लेखे पनि स्थिति सुध्रेला जस्तो त लागिहाल्दैन। आठौं शताब्दीका नाटककार भवभूतिले भने जस्तो
उत्पत्स्यते तु मम कोऽपि समानधर्मा
कालो ह्ययं निरवधिर्विपुला च पृथ्वी
(मालतीमाधव १।६)
अर्थात् ‘मेरो जस्तै स्वभाव भएको अर्को कुनै मान्छे जन्मेला, किनकि समयको कुनै पाबन्दी छैन, पृथ्वी पनि ठूलो छ।’ त म भन्दिनँ तापनि नेपाली भाषामा चलेका अशुद्ध शब्दको विषयमा कसैलाई विचार गर्नका लागि केही सामग्री यो लेखबाट मिल्यो भने म आफूलाई धन्य सम्झन्छु।
(पुराविद् पन्त संशोधन-मण्डलका सदस्य हुन्। हिमालको २०७८ चैत अङ्कबाट।)