इलेक्ट्रिक स्कूटर ‘गोभा-५’ नेपाली बजारमा
इलेक्ट्रिक स्कूटर ‘गोभा-५’ नेपाली बजारमा आएको छ।
इलेक्ट्रिक टु ह्वीलर ब्रान्ड नियूको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले ‘गोभा-५’ लाई नेपाल बजारमा भित्र्याएको हो। एक कार्यक्रमबीच नयाँ स्कूटर खरीद गर्ने १० जनालाई इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण राजभण्डारीले चाबी हस्तान्तरण गरेका छन्।
यो स्कूटरमा ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र तीन हजार वाट क्षमताको मोटर जडान गरिएको कम्पनीले जनाएको छ। जसलाई सात घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एक पटक चार्ज गरेपछि ८५ देखि एक सय किलोमिटरसम्म कुद्ने कम्पनीको दाबी छ।
प्रति घण्टा ८५ किलोमिटरको गतिमा हाँक्न सकिने यो स्कूटरको दुवै चक्कामा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ। यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ।
यसको शुरूआती मूल्य तीन लाख २५ हजार रुपैयाँ तोकिएको छ।