चीनबाट आयो दुई दिनमा ४६४ मेट्रिक टन मल
चीनबाट तातोपानी भन्सार नाका भएर दुई दिनमा ४६४ मेट्रिक टन रासायनिक मल भित्रिएको छ।
रासायनिक मल ल्याउने ठेक्का पाएको कम्पनी सिल्क मार्केटले बिहीबार र बुधबार मल ल्याएको हो। बिहीबार २३२ मेट्रिक टन मल आएको तातोपानी भन्सार प्रमुख नारद गौतमले बताए।
यसअघि बुधबार पनि २३२ मेट्रिक टन मल आएको थियो। दुवै खेपमा युरिया आएको उनले बताए। बुधबार आएको मलको परीक्षण गरेर काठमाडौं पठाएको गौतमले जानकारी दिए।
अहिले रासायनिक मलको चर्को अभाव छ। चीनबाट आएको मलले केही राहत मिल्ने जनाइएको छ।
सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो।यसअघि यो कम्पनीले ५०० मेट्रिक टन मल ल्याइसकेको छ। अब बाँकी मल पनि केही समयमा आउने कम्पनीले जनाएको छ।