लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० चैतमा आयोजित पत्रकार सम्मेलनमा ‘अन्तर्राष्ट्रिय समस्याका कारण तत्कालका लागि विद्युत् आपूर्तिमा कठिनाइ’ भएको बताए। घिसिङले औंल्याएको अन्तर्राष्ट्रिय समस्या भनेको एक महीनादेखि युक्रेनमाथि रूसले जारी राखेकाे आक्रमण हो।
रूसले आफ्नो छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि भारतको विद्युत् उत्पादन प्रभावित भएको छ। भारतले आपूर्ति बन्द गर्दा नेपालमा विद्युत् अभाव देखिएको हो। भारतबाट करीब ४०० मेगावाट विद्युत् आयात हुँदै आएको थियो।
लोडसेडिङको हल्ला चलिरहेका वेला नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ पटक पटक गरी बढाउँदै लगेको छ र त्यसमा पनि हवाई इन्धनको मूल्य सबैभन्दा चर्को छ। युद्ध शुरू भएयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विदेशी ध्वजावाहक विमान कम्पनीका पहिल्यै काटिएका टिकट धमाधम रद्द भइरहेका छन् भने काठमाडौंमा इन्धन भर्नुपर्दा झण्डै दोब्बर मूल्य तिर्नुपर्ने अवस्था छ।
निगमले हवाई इन्धनको मूल्य नौ महीनामा झण्डै दोब्बर बढाएको छ। गत जुनमा हवाई इन्धनको मूल्य प्रति किलोलिटर ७१५ अमेरिकी डलर थियो भने हाल झण्डै १५ सय अमेरिकी डलर पुगेको छ।
निगमले आफ्नो नाफा सुरक्षित राख्दै पेट्रोलियम पदार्थको बढेको मूल्य सबै ग्राहकको काँधमा थोपरेको छ। नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने एकाधिकार पाएको राष्ट्रिय स्वामित्वको निगमको वेबसाइटमा हवाई इन्धनको बिक्रीमा भएको नाफालाई राम्रैसँग चित्रित गरिएको छ। जस अनुसार सय दिनअघि जनवरीमा हवाई इन्धन बिक्रीबाट प्रति किलोलिटर २३ रुपैयाँ ९२ पैसा नाफा कमाएको निगमले मार्चको अन्तिम साता आइपुग्दा प्रति किलोलिटर ६७ रुपैयाँ ९३ पैसा नाफा सुरक्षित गरेको छ।
त्यही समयमा निगमले बेहोरेको घाटा पनि एक अर्ब ८३ करोडबाट बढेर चार अर्ब ६६ करोड पुगेको छ। के स्पष्ट हुन्छ भने निगमले पेट्रोल, डिजेल र एलपी ग्यास अनुदानमा बिक्री गर्दा भोगिरहेको घाटा असुल उपर गर्न हवाई इन्धनलाई उच्च मूल्यमा बेचिरहेको छ।
बढ्दो इन्धन मूल्यबारे निगमको भनाइ छ- भारतीय सीमादेखि ट्याङ्करमा इन्धन ढुवानी गर्नुपर्दा मूल्य बढेको हो। र, अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य बढेका कारणले गर्दा हवाई इन्धनको मूल्य बढाउनु परेको हो।
तर, भारतमा हवाई इन्धनको मूल्य प्रति किलोलिटर ९०० अमेरिकी डलर मात्र छ। त्यो भनेको नेपालमा भन्दा ६०० डलर कम हो।
कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनको लहर मत्थर भएसँगै हवाई व्यवसायले गति लिन थालेको अवस्थामा नेपाली हवाई कम्पनीले इन्धनको बढेको मूल्यलाई टिकटमै समायोजन गरेका छन्। फलस्वरूप यात्रुहरू महँगो हवाई भाडामा यात्रा गर्न बाध्य छन्।
यद्यपि, नेपाली उड्डयन क्षेत्रमा सबैभन्दा बढी मार परेको भनेको काठमाडौंमा उडान भर्ने सिंगापुर एयरलाइन्स, कोरियन एयर, टर्किस एयरलाइन्स, कतार एयर, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सलाई हो। कतिपय एयरलाइन्सले त काठमाडौंमा सकेसम्म थोरै तेल भर्नका लागि ट्याङ्कभरी तेल लिएर आउने गरेका छन्।
बोइङ ७७७ र एयरबस ३३० मा काठमाडौंदेखि सात घण्टाको उडानमा रहेको टर्कीको इस्तानाबुल र कोरियाको इन्चेनसम्म पुग्न ४० टन इन्धन खर्च हुन्छ, जसको मूल्य ७५ हजार अमेरिकी डलर पर्छ। तर, हवाई कम्पनीले इन्धनको मूल्य बढेसँगै टिकटको मूल्य तत्काल बढाउन सक्दैनन्, किनभने टिकटहरू महीनौंअघि बूक गरिएका हुन्छन्।
“यात्रुको बढ्दो चापलाई थेग्न हामीले काठमाडौंमा आउने जहाजको संख्या बढाएर दैनिक उडान भर्ने सोच बनाएका थियौं, तर इन्धन यस्तरी महँगिएपछि हाम्रो योजना पूरा होला जस्तो छैन,” अन्तर्राष्ट्रिय हवाई कम्पनीको काठमाडौंस्थित कार्यालयका एक कर्मचारीले भने।
नेपालमा एशियाका अन्य देशकाे भन्दा मूल्यवृद्धि धेरै रहेको उनी बताउँछन्। “हवाई इन्धन विश्वभरि नै बढेको हो, तर काठमाडौंमा भने हवाई इन्धनको झण्डै ५० देखि ९० प्रतिशतसम्म मूल्य बढेको छ। यो वृद्धि एशियाको अन्य ठाउँको भन्दा उच्च हो,” उनी भन्छन्।
युक्रेन युद्ध शुरू भएसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले फागुन १८ मा हवाई इन्धनको मूल्य एक हजार ९५ अमेरिकी डलर पुर्यायो। त्यसको दुई दिनमा निगमले एक हजार २९५ डलर पुर्यायो। अनि त्यसको १२ दिनपछि निगमले बढाएर एक हजार ४९५ अमेरिकी डलर पुर्यायो।
कच्चा तेलको मूल्य गत साता केही घटेको भए पनि रूसले युरोपेली मुलुकलाई तेल र ग्यास आपूर्ति रोकेपछि इन्धनको मूल्य बढेर १२० अमेरिकी डलर पुग्यो।
बढ्दो इन्धनको मूल्यले सर्वसाधारणलाई मार नपरोस् भनेर अमेरिकाका केही राज्यले इन्धनमा अल्पकालीन कर छूट दिएका छन्। नेपालमा पेट्रोलियम पदार्थमा करको दायरा उच्च छ, तर हालको आर्थिक मन्दीका कारण भएको व्यापार घाटा, विदेशी मुद्रा सञ्चितिको ह्रास र बजेट निर्माणको दबाबमा रहेको सरकारले इन्धनमा कर छूट दिन सक्ने सम्भावना न्यून छ।
युक्रेनमाथिको रूसी आक्रमणले आगो सल्किए झैं अकाशिएको इन्धनको मूल्यले नेपाललाई मात्रै गाँजेको होइन। यो समस्याले हवाई क्षेत्र मात्र प्रभावित भएको पनि होइन। पूरै अर्थतन्त्र नै प्रभावित भएको छ।
तर, अहिले त गाह्रोमाथि अर्को गाह्रो थपिएको छ। किनभने, कोरोना कहरले दुई वर्ष थलिएको पर्यटन क्षेत्र भर्खर खुल्ला कि झैं भएको थियो।
युरोपेली देशबाट नेपाल आउन चाहेका कैयौं पर्यटकले आफ्नो निर्धारित भ्रमण योजना अन्तिम समयमा रद्द गरेको पर्यटन व्यवसायी बताउँछन्। फेरि यो युद्ध त्यस्तो वेलामा भइदियो, जुन वेला नेपालको पर्वतारोहण र पर्यटनका लागि दशैं सरह हो।
सगरमाथा चढ्ने आउने युक्रेनी टोलीले पनि आफ्नो आरोहण रद्द गरेको खबर आएको छ। पहिला नै नेपाल भ्रमण आउने वाचा गरेका पर्यटकले पनि युद्धकै कारण नआउने खबर गरिरहँदा यो वर्ष अनुमानित भन्दा आधा मात्र पर्यटक आउने चिन्ता छ।
यसै पनि कोरोनाले पर्यटन व्यवसायमा आबद्ध झण्डै १० लाख व्यक्ति प्रभावित छन्। यस वर्षको शरद् ऋतुमा पर्यटनको पुनरागमन हुनेछ भन्ने धेरैको आशा थियो। त्यो आशामाथि युक्रेन युद्धले तुषारापात गरेको छ।
समस्या इन्धन र पर्यटनमा मात्र सीमित छैन, आर्थिक अवस्था नकारात्मक हुन सक्ने अप्रत्यक्ष सङ्केत सलबलाउँदै गएको छनक देखिन्छ। गत साता नेपालको औद्योगिक क्षेत्रका रूपमा रहेको तराई करिडोरमा बिजुलीको अभाव खट्कियो। सुक्खा लागेसँगै बिजुलीको उत्पादन न्यून हुँदा मागभन्दा आपूर्ति ह्वात्तै बढेको छ। आपूर्ति र मागको आँकडा हेर्दा नेपाललाई हालको अवस्थामा ४०० मेगावाट बिजुली अपुग छ।
नेपाल विद्युत् प्राधिकरण भारतबाट बिजुली आयात गर्ने गृहकार्यमा व्यस्त छ। तर, मंगलबार र बुधबारको अवस्था हेर्दा सहजै बिजुली आउने भरपर्दो सङ्केत देखिइसकेको छैन। भारतका अधिकांश ऊर्जा उत्पादक जो कोइला र डिजेलमा निर्भर छन्, तिनले आफ्नो मूल्य झण्डै दोब्बर बनाएका छन्।
केही दिनअघिको मूल्य प्रति युनिट १३ भारतीय रुपैयाँ तोकिएको छ। त्यो बढेर अहिले प्रति युनिट २० भारतीय रुपैयाँ पुग्न लागेको छ। नेपालले प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्न लागेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताएका छन्।
नेपाली टाइम्सबाट अनुवादन गरिएको यो लेख अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।