मानव अधिकार उल्लङ्घनकर्तालाई उम्मेदवार नबनाउन आयोगद्वारा पत्राचार
आगामी स्थानीय तहको चुनावमा मानव अधिकार उल्लङ्घनमा दोषी किटान भएका व्यक्तिलाई उम्मेदवार नबनाउन राष्ट्रिय मानव अधिकार आयोगले दलहरूलाई आग्रह गरेको छ।
आयोगको खोटाङस्थित प्रदेश १ शाखा कार्यालयले खाटाङ, ओखलढुंगा र सोलुखुम्बुका राजनीतिक दललाई पत्राचार गर्दै उम्मेदवार छनोट गर्दा ध्यान दिन आग्रह गरेको हो। तीनै जिल्लाका राजनीतिक दललाई बुधबार पठाएको पत्रमा स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लङ्घनमा दोषी किटान भई नाम सार्वजनिक भएका नेता तथा कार्यकर्तालाई उम्मेदवार नबनाउन आग्रह गरिएको छ।
यससँगै स्थानीय तहको निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनितिक दल, निर्वाचनमा खटिने कर्मचारी, अनुगमन तथा पर्यवेक्षक र मतदातालाई आग्रह गरिएको छ। आयोगले समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार तय गर्न, निर्वाचन प्रचारप्रसारका क्रममा आयोजना गरिने कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न सचेत गराएको छ।
शाखा कार्यालयका प्रमुख श्यामबाबु काफ्लेले बिहीबार प्रेस नोट जारी गरी निर्वाचनको अवधिमा हुने विभिन्न कार्यक्रममा घृणा, द्वेष फैलने जस्ता अमर्यादित किसिमका अभिव्यक्ति नदिन पनि आह्वान गरेका छन्। निर्वाचन आयोगबाट जारी आचारसंहिताका विशेषतः मानव अधिकारसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ पालना गर्न पनि उनले अनुरोध गरेका छन्।