भारतबाट प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्दै प्राधिकरण, बिक्री मूल्य नबढ्ने
नेपाल विद्युत् प्राधिकरणले भारतबाट प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ। महँगोमा किने पनि मूल्य भने नबढ्ने भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महँगोमा बिजुली किनेर सस्तोमा बेच्न परे पनि लोडसेडिङ भने नगरिने बताएका छन्। विद्युत् आपूर्तिमा आएको सङ्कटका विषयमा प्राधिकरणको आलोचना बढेपछि बिहीबार पत्रकार सम्मेलन गरेर घिसिङले अब विद्युत् आपूर्तिमा समस्या हुन नदिने बताएका हुन्। “हाम्रो ध्यान विद्युत्को माग बढाउनमा केन्द्रित छ, त्यसैले उपभोक्ताको विद्युत्प्रतिको विश्वसनीयता बढाउन पनि लोडसेडिङ हुन दिंदैनौं,” उनले भने।
घिसिङले आजबाट प्रति युनिट रु.३८ तिरेर विद्युत् खरीद गरिन लागेको जानकारी दिंदै अहिलेको विद्युत् सङ्कट एकाध दिनमा सकिने आशा व्यक्त गरे। युक्रेन-रसिया युद्धपछि संसारभरि ऊर्जा सङ्कट शुरू भएको र त्यसको प्रभाव भारतीय ऊर्जा बजारमा पनि परेकाले नेपालमा विद्युत् आपूर्तिमा समस्या परेको उनको तर्क थियो।
भारतीय ऊर्जा बजारमा विद्युत्को मूल्य चरम रूपमा उकालो चढेपछि पछिल्ला दुई दिनदेखि नेपालले भारतबाट आयात गर्दै आएको विद्युत्को आपूर्तिमा अवरोध भएको छ। भारतीय बजारमा प्रति युनिट विद्युत्को मूल्य १५ रुपैयाँ २७ पैसा पुगेपछि मंगलबारदेखि प्राधिकरणले विद्युत् आयात गर्न सकेको थिएन। भारतबाट विद्युत्को उच्च माग हुने समयमा करीब चार सय मेगावाटसम्म विद्युत् आयात हुँदै आएको थियो। मूल्य बढेपछि प्राधिकरणले बोलकबोलमा बढी रकम तिरेर विद्युत् आयात गर्न सकेको थिएन।
भारतबाट विद्युत् ल्याउन नसकेपछि देशका प्रमुख औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध भएको छ। उद्योगीहरूले यसको विरोध गरेका छन्। कार्यकारी निर्देशक घिसिङले एक सातासम्म बढी नै रकम तिरेर भए पनि विद्युत् ल्याइने बताए। त्यसपछि पनि भारतीय बजारमा विद्युत्को मूल्य नघटेमा भने सरकारसँग सहायता मागिने उनले बताए। “एक हप्तासम्म महँगो मूल्य तिरेर पनि ल्याइन्छ, त्यसपछि भने थेग्न सकिंदैन,” उनले भने। जेठपछि भने आन्तरिक उत्पादन क्रमशः बढ्ने कारण समस्या समाधान हुने उनको तर्क थियो।
उनका अनुसार, खुला बजारमा अहिलेको मूल्य (भारु.२०) तिरेर विद्युत् ल्याई बिक्री गर्दा प्राधिकरणलाई दैनिक करीब रु.२२ करोड घाटा हुन्छ। उनले भारतीय बजारमा विद्युत्को मूल्य नघटे ३५ दिनभित्र प्राधिकरणलाई रु.आठ अर्ब घाटा लाग्ने बताए। अहिले प्राधिकरणले ग्राहकलाई औसतमा प्रति युनिट नौ रुपैयाँ ९४ पैसामा विद्युत् बेच्छ। घिसिङले महँगोमा किन्नुपरे पनि तत्काल बिक्री मूल्य भने नबढाइने बताए।
नेपालमा वर्षायाममा देशभित्रकै विद्युत् उत्पादन पर्याप्त भए पनि हिउँदमा भने भारतबाट विद्युत् आयात गर्नुपर्छ। अहिले नेपालको विद्युत् प्रणालीमा माग करीब एक हजार तीन सयदेखि एक हजार ६५० मेगावाटसम्म (उच्च माग) छ। यसमध्ये दैनिक औसतमा नौ सय मेगावाट आन्तरिक उत्पादन हुन्छ। नपुग बिजुली भारतबाट आयात गर्नुपर्छ।
वर्षायाम शुरू भएपछि भने आन्तरिक उत्पादनले मागलाई थेग्छ। अहिले देशभित्रकै जलविद्युत् आयोजनाहरूको जडित क्षमता दुई हजार मेगावाट नाघिसकेको छ। गत वर्षायाममा देशभित्र करीब चार सय मेगावाट विद्युत् खेर गएको थियो।
माग नबढे वा भारततिर विद्युत् निर्यात गर्न नसके आगामी वर्षायाममा पनि पाँच सय मेगावाट हाराहारीमा विद्युत् खेर जाने जोखिम छ। नेपालले वर्षायाममा नेपालसँग बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गर्न प्रयत्न गरिरहेको छ।