कुलमान भन्छन्- लोडसेडिङ हुँदैन, हुन पनि दिंदैनौं
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि हालतमा लोडसेडिङ नहुने र हुन पनि नदिने बताएका छन्।
युक्रेनमाथि रूसले गरिरहेको आक्रमणका कारण भारतमा पनि विद्युत् उत्पादनमा असर परिरहेको छ। जसले गर्दा भारतले यसअघि दिंदै आएको विद्युत्् बन्द गरेको छ। यसले नेपालमा पनि विद्युत्को आपूर्तिमा असर परेको छ।
भारतबाट विद्युत् आपूर्ति बन्द भएपछि विद्युत् प्राधिकरणले केही ठूलो उद्योगमा विद्युत् कटौती गरेको थियो। त्यसलाई लिएर लोडसेडिङ हुने हल्ला चलेको वेला प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पत्रकार सम्मेलन गरेर लोडसेडिङ नहुने बताएका हुन्।
घिसिङले भने, “कुनै पनि हालतमा लोडसेडिङ हुँदैन, हुन पनि दिंदैनौं।”
ठूला उद्योगलाई कटौती गरेको विद्युत्को आपूर्ति पनि आज दिउँसो १२ बजेदेखि शुरू गरिसकिएको बताए। “अन्तर्राष्ट्रिय समस्याका कारण तत्कालका लागि विद्युत् आपूर्तिमा कठिनाइ भएको हो, यो समस्या हल भइहाल्छ।”
साना उद्योग तथा घरायसी उपभोगका लागि विद्युत् आपूर्ति कटौती नभएको उनले बताए। अन्तर्राष्ट्रिय उत्पादनमा देखिएको समस्याले पनि नेपाललाई असर नगर्ने उनको भनाइ छ।
“अहिले हामीले ३० प्रतिशत मात्रै आपूर्ति गरिरहेका छौं, त्यो पनि चार महीना मात्रै हो,” घिसिङले भने, “आठ महीना हामी हाम्रै उत्पादनले धानिरहेका छौं। जेठपछि हामीलाई कुनै समस्या हुँदैन। बरु असारपछि ४०० मेगावाट विद्युत् बढी हुन्छ, बेच्नुपर्छ।”
अहिले श्रीलंकामा दैनिक सात घण्टा लोडसेडिङ भइरहेको छ पाकिस्तानमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुने गरेको छ। दिल्लीमा पनि विद्युत् आपूर्तिकर्ता कम्पनी टाटाले लोडसेडिङ हुने चेतावनी दिएको छ। त्यस्तै, केही समयअघि चीनमा पनि विद्युत् आपूर्तिमा समस्या हुँदा उद्योग बन्द गरेको थियो। यो परिवेश उल्लेख गर्दै घिसिङले भने, “हामी एकदमै राम्रो अवस्थामा रहेका छौं। जलविद्युत्बाटै आत्मनिर्भर भइरहेका छौं। बरु विद्युत्को उपयोग बढाउनुपर्छ।”
प्राधिकरणले वर्षमा आठ महीना नेपालकै विद्युत् आपूर्ति गर्दै आएको छ। विद्युत् कम उत्पादन हुने चार महीना मात्रै भारतबाट विद्युत् आयात गर्दै आएको छ। “अहिले एकदमै ड्राई सिजन हो, उत्पादन कम र माग धेरै हु्न्छ। यो पनि जेठसम्म मात्रै हो,” घिसिङले भने, “जेठपछि हाम्रै उत्पादन पुगिहाल्छ। अर्को वर्षदेखि त बाह्रै महीना हाम्रै उत्पादनले धान्छ।”
सुक्खायामका चार महीनामा प्राधिकरणले भारतबाट बिजुली खरीद गर्दै आएको छ। अहिलेसम्म ढल्केबजारबाट १५० मेगावाट प्रति युनिट ४ रुपैयाँ १६ पैसामा र टनकपुरबाट प्रति युनिट ४ रुपैयाँ १२ पैसामा खरीद गर्दै आएको थियो।
भारतमा आपूर्ति कम भएपछि नेपाललाई बेच्न बन्द गरेको छ। विद्युत्को मूल्य बढाएको छ। भारतले प्रति युनिट २० भारतीय रुपैयाँसम्म बिक्री गरिरहेको छ। नेपालले खरीद गर्दा ३८ रुपैयाँसम्म पुग्ने प्राधिकरणले जनाएको छ।
यो डेढ महीना महँगोमा किनेर भए पनि आपूर्ति गर्ने घिसिङको भनाइ छ। “डेढ महीनामा मात्रै समस्या हो, महँगोमा किनेर भए पनि आपूर्ति गर्छौं। उपभोक्तालाई महँगो हुँदैन। लोडसेडिङ हुन दिदैनौं,” उनले भने, “विद्युत्को प्रयोग कम नगर्नुस्। बरु बढाउनुस्। विद्युत् आपूर्तिमा समस्या भयो भनेर अहिले घटायौं भने जेठपछि एकाएक बढाउन सकिंदैन। अहिलेदेखि नै बढाउनुस्।”