वीरगञ्जको मेयरका लागि दल अदलबदल
स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारको टिकट पक्का गर्न मधेशमा पार्टी परिवर्तनको लहर चलेको छ। गाउँपालिकाका वडा सदस्यदेखि महानगरका मेयरसम्मले पार्टी परिवर्तन गरिरहेका छन्।
पछिल्लो समय वीरगञ्ज महानगरपालिकाको मेयरका लागि चर्चित व्यक्तिहरूले पार्टी परिवर्तन गरेपछि चर्चा परिचर्चा बढेको छ। मधेशको केन्द्र मानिएको वीरगञ्ज महानगर यतिवेला चर्चामा छ।
पछिल्लो पटक मधेश आन्दोलनका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। ७ चैतमा वीरगञ्जमा आयोजित एक कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सिंहलाई स्वागत गरेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता सिंह एमाले प्रवेश गर्ने तयारीमा थिए। तर, उनीभन्दा अघि वीरगञ्जका मेयर विजय सरावगी एमालेमा प्रवेश गरे। त्यसपछि उनको यात्रा जसपातिर मोडियो।
सरावगी एमालेमा प्रवेश गरेपछि वीरगञ्जको मेयरको उम्मेदवारको टिकट आफूले पाउने सम्भावना नदेखपछि सिंहले जसपा रोजेका हुन्। अन्तिम समयमा एमालेका केही नेताले आफूलाई भन्दा सरावगीलाई महत्त्व दिएपछि जसपा रोजेको उनले बताउँदै आएका छन्।
नेता सिंहले भने, “मैले मेयर सरावगीको गलत क्रियाकलापको विरोध गर्दै आएको छु। एमालेमा जाँदा त्यसको साक्षी बस्नुपर्ने अवस्था आएकाले जसपा रोजेको हुँ।” उनलाई जसपा सांसद प्रदीप यादवले आफ्नो पार्टीमा प्रवेश गराउन पहल गरेका थिए।
उनलाई वीरगञ्जको मेयरको उम्मेदवार बनाउने जसपा नेताहरूले सार्वजनिक कार्यक्रमै बताइसकेका छन्। पार्टी प्रवेश कार्यक्रममा मधेशका मुख्य मन्त्री एवं जसपा नेता लालबाबु राउतले सिंहलाई नै उम्मेदवार बनाउने बताए। “गठबन्धन भएको खण्डमा पनि वीरगञ्ज महानगरको सीट छाडिन्न, त्यो सीटमा राजेशलाई नै उम्मेदवार बनाउँछौं,” राउतले भने।
२०४३ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति शुरू गरेका नेता सिंह २०५४ सालमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए। २०६४ मा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका उनी पराजित भएका थिए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा राजपाबाट वीरगञ्जको मेयरको उम्मेदवार बनेका थिए। उनले १२ हजार १६५ मत पाएका थिए। त्यति वेला मेयरमा निर्वाचित संघीय समाजवादी फोरमका सरावगीले १९ हजार ३९३ मत पाएका थिए।
उनै सरावगी भने अहिले नेकपा (एमाले) मा प्रवेश गरिसकेका छन्। उनलाई २८ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए। उनी पनि मेयरको उम्मेदवार बन्नकै लागि एमालेमा प्रवेश गरेका हुन्।
जसपामा उनको चर्को आलोचना हुँदै आएको छ। मेयरका रूपमा उनले राम्रोसँग काम गर्न नसकेको गुनासो छ। जसले गर्दा उनलाई जसपाले दोहोर्याउने सम्भावना थिएन। मेयरको उम्मदेवार बनाउने पक्कापक्की भएपछि मात्रै उनी एमालेमा प्रवेश गरेको एक नेताले बताए।
उनी भने जसपामा जातिवादी चिन्तन विकसित भएकाले परित्याग गरेको बताउँछन्। मेयर सरावगीले भने, “आफूलाई राष्ट्रिय पार्टी भन्छन्, जातिवादी चिन्तनबाट ग्रसित छन्।”
मेयर सरावगी एमालेमा गएपछि जसपाले पनि एमाले नेता तथा कार्यकर्तालाई आफूतिर तान्ने प्रयास गरिरहेको छ। यही क्रममा एमालेका तर्फबाट संविधानसभा सदस्य बनेकी रञ्जु ठाकुरलाई जसपामा प्रवेश गराइएको छ। उनलाई पनि यादव र भट्टराईले पार्टीमा स्वागत गरेका छन्।
विद्यार्थीकालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेकी ठाकुर २०७० सालको संविधानसभामा एमालेबाट समानुपातिकतर्फ संविधानसभा सदस्य बनेकी थिइन्। त्यसपछि सप्तरीमा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेकी थिइन्। पार्टीको हरेक मोर्चामा आफूले काम गरे पनि त्यस अनुसार मूल्याङ्कन नभएको गुनासो गरिन्।