लेटाङ घटनाको छानबिन शुरू, एसएसपी नेतृत्वको टोली घटनास्थलमा
मोरङको लेटाङ नगरपालिकामा भएको प्रहरीको मृत्यु घटनाको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नेतृत्वको टोलीले छानबिन शुरू गरेको छ।
विद्यार्थी र अभिभावकले थुनेर राखेका लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षकलाई सुरक्षित रूपमा बाहिर निकाल्ने क्रममा ६ चैतमा प्रहरी टोलीमाथि आक्रमण भएको थियो। उनीहरूको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।
यस घटनाको छानबिन गर्न प्रदेश १ को प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा प्रमुख एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। प्रहरी मुख्यालयको अपराध अनुसन्धान महाशाखा सहितको संयुक्त टोलीले घटनाको छानबिन थालेको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए।
यस घटनामा लेटाङ क्षेत्रबाट प्रहरीले एक दर्जनभन्दा बढी स्थानीय बासिन्दालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी राखेको छ। प्रहरी स्रोतका अनुसार, लेटाङ क्षेत्रका लागूऔषध प्रयोगकर्तालाई प्रहरीले निगरानीमा राखेको छ।
प्रहरी जवानको मृत्यु भएपछि अशान्त बनेको लेटाङ क्षेत्र पनि क्रमिक रूपमा सामान्य बन्दै गएको छ। स्थानीय प्रसाशनले लेटाङमा लगाएको अनिश्चितकालीन कर्फ्यू खुकुलो बनाएसँगै जनजीवन सामान्य बन्दै गएको हो।
लेटाङकी उपमेयर कृष्णकुमारी निरौलाले बुधबार बिहानैदेखि जनजीवन सामान्य बन्दै गएको बताइन्। कर्फ्यू खुकुलो भएसँगै सर्वसाधारण घर बाहिर निस्कन थालेको उनले जानकारी दिइन्।
प्रहरीको मृत्युपछि जिल्ला प्रशासन कार्यालयले ७ चैत बिहानैदेखि कर्फ्यू लगाएको थियो। आजदेखि भने कर्फ्यूलाई केही खुकुलो पारिएको छ।
बुधबारदेखि दैनिक बिहान १० देखि ४ बजेसम्म र साँझ ६ बजदेखि अर्को दिन बिहान ६ बजेसम्म लागि कर्फ्यू जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनाएका छन्।
उनका अनुसार, अब स्थानीयले बिहान ६ बजेदेखि १० बजेसम्म अपराह्न ४ बजेदेखि बेलुकी ६ बजेसम्म हिंडडुल र कामकाज गर्न पाउनेछन्।