गौरीशङ्करमा हिमचितुवा र सुनौलो बिरालो फेला
गौरीशङ्कर संरक्षण क्षेत्रमा पहिलोपटक संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलोपटक देखिएको छ ।
गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले राखेको इन्फ्रारेड क्यामेरामा हिमचितुवा र सुनौलो बिरालोको तस्वीर रेकर्ड भएपछि सो क्षेत्रमा हिमचितुवा रहेको पुष्टि भएको हो ।
संरक्षण क्षेत्रमा जीवजन्तुको उपस्थिति पत्ता लगाउन आयोजनाले असोज २०७५ देखि दोलखाको बिगु गाउँपालिकाका विभिन्न ११ ठाउँमा इन्फ्रारेड क्यामेरा राखेर अध्ययन गरेको थियो ।
क्यामेरामा वैशाख २०७६ सम्म चार हजार ८७ मिटरमाथिको उचाइमा हिमचितुवाका तीन तस्वीर रेकर्ड भएको योजनाका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
त्यसैगरी संरक्षित तथा दुर्लभ जन्तु चरिबाघ, कस्तुरी मृग, आसामी बाँदरजस्ता जनावरको समेत तस्वीर रेकर्ड भएको उनले बताए ।
उनका अनुसार क्यामेरा ट्रापिङमा हिमाली कालो भालु, तिब्बती फ्याउरो, झारल, घोरल, नाउर, चितुवा, रातो फ्याउरोलगायत १५ स्तनधारी जनावरको तस्वीर रेकर्ड भएको छ ।
हिमचितुवा मध्यएशिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा रहेको यस जीवलाई अन्र्तराष्ट्रिय संरक्षण सङ्घ (आइयुसिएन) ले समेत दुर्लभ प्रजातिको रुपमा सूचीकृत गरेको छ ।
हिउँचितुवा विश्वमा १० हजारभन्दा कम सङ्ख्यामा जीवित रहेको अनुमान गरिएको छ । नेपालमा यसको सङ्ख्या ३०० देखि ५०० को सङ्ख्यामा रहेको अनुमान छ भने यस संरक्षण क्षेत्रमा तीनदेखि पाँचसम्म रहेको अनुमान छ ।
नेपालको कञ्चन्जङ«घा, मकालु बरूण, सगरमाथा, लाङटाङ, मनास्लु, अन्नपूर्ण, शे–फोक्सुण्डो, ढोरपाटन, अपिनाम्पालगायतका हिमाली क्षेत्रमा हिउँचितुवा उपस्थितिको रकर्ड गरिएको छ ।
लप्ची उपत्यकामा सांस्कृतिक रुपमा जीवजन्तुको काटमार तथा मासुजन्य पदार्थ उपभोग पूर्णतः बर्जित गरिएको हुनाले वन्यजन्तु संरक्षणको दृष्टिले सुरक्षित मान्न सकिन्छ ।