स्थानीय सरकार प्रमुखको अनुभव- चुनाव जित्न जनतालाई धेरै आश देखाएछौं
चुनाव जित्न जनतालाई धेरै आश देखाएका कारण काम गर्दा धेरै चुनौती झेल्नुपरेको स्थानीय सरकार प्रमुखले बताएका छन्। अब आउने जनप्रतिनिधिलाई पनि यही प्रमुख चुनौती हुने उनीहरूको भनाइ छ।
स्थानीय सरकारका सिकाइ सम्बन्धी एक कार्यक्रममा अब निर्वाचित भएर आउने जनप्रतिनिधिका लागि अवसर तथा चुनौतीबारे छलफल गरिएको छ। कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका उपमेयर मोहनमाया ढकालले संघीय संरचनामा गएपछिको पहिलो निर्वाचित जनप्रतिनिधि भएकाले विकासका कामभन्दा पनि नीति, नियम तथा कानून निर्माणमै धेरै समय गएको बताइन्।
उनले भनिन्, “हाम्रो अधिकांश समय कानून निर्माणमै बित्यो, अझ संघीय कानूनसँग बाझिंदा कति काम गर्न मुश्किल भयो।”
अर्कातिर, जनतालाई धेरै आश देखाएकाले पनि समस्या आएको उनको भनाइ थियो। “हामीले चुनाव जित्न जनतालाई धेरै आश दियौं र धेरै बोल्यौं। तर, बोले अनुसार काम गर्न सकेनौं,” उपमेयर ढकालले भनिन्।
यससँगै कोभिड–१९ को महामारीले पनि धेरै समय काम गर्न वातावरण नबनेको उनले बताइन्। “भौतिक पूर्वाधारको निर्माणलाई मात्र विकासका काम मान्ने प्रवृत्तिका कारण सबै जनप्रतिनिधिलाई दबाब रहिरह्यो। यस्तो विकासमा लागि रहँदा शिक्षा, स्वास्थ्यको पहुँच, सेवाको गुणस्तर, संस्कृति तथा चेतनाको वृद्धि विकासको समीक्षा नै गर्न पाएनौं,” ढकालले भनिन्, “अब आउने जनप्रतिनिधिले यसमा ध्यान पुर्याउन जरुरी छ।”
गत पाँच वर्षमा स्थानीय तहका जनप्रतिनिधिले संघीय सरकारसँग तालमेल मिलाउन सकेनन्। कतिपय संस्था स्थानीय सरकारलाई हस्तान्तरण नगरिएको उनीहरूको गनासो छ। यससँगै कर्मचारी–जनप्रतिनिधिबीच समन्वयको अभाव खट्किएको उनीहरूको अनुभव छ।
भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले शुरूआतमा घर घरमा सिंहदरबार भन्ने बुझाइ रहेको भए पनि सिंहदरबारको अधिकार नमिलेको गुनासो गरे। “हामीले निर्वाचित भएर सबै सेवा प्रदान गर्ने आश दिएका थियौं, तर धेरै अधिकार हामीलाई दिइएन,” मेयर केसीले भने, “तैपनि हामीले हरेस नखाई काम गर्यौं।”
यससँगै नीति-नियम पनि समयानुकूल परिवर्तन गर्न जरुरी भएको उनको अनुभव छ। “अझै पनि स्थानीय सरकारमा वित्तीय सुशासन कायम गर्ने काम भएको छैन, करको दायरा बढाउनुपर्नेछ,” उनले भने, “अहिले भएका नीति-नियमलाई समयानुकूल परिवर्तन गर्न जरुरी छ।”
यस्तै, अब आउने जनप्रतिनिधिले चुनाव जित्नकै लागि धेरै बोल्न नहुने उनको सुझाव छ। मेयर केसीले भने, “अब नयाँ आउने जनप्रतिनिधिले पुराना अनुभवी जनप्रतिनिधिको अनुभव तथा स्थानीय सरकारको कार्यक्रम बुझेर मात्र जनतामाझ बोल्नुपर्छ।”
यससँगै राजनीतिक दलका अजेन्डा र स्थानीय सरकारका अजेन्डा फरक फरक हुने उनको अनुभव छ। स्थानीय तह अनुसार उम्मेदवारले अजेन्डा तयार गर्नुपर्ने उनको सुझाव छ।
वालिङ नगरपालिका उपमेयर कल्पना तिवारीले धेरैजसो कानून, आयोजना निर्माण भएकाले अब आउने जनप्रतिनिधिले काम गर्न सजिलो हुने बताइन्। “अब आउने जनप्रतिनिधिलाई काम गर्ने अवसर छ, विकासमा ध्यान केन्द्रित गर्न सक्छन्,” तिवारीले भनिन्। तर, बजेट व्यस्थापन, जनशक्ति अभाव, पहिले तयार भएका योजनालाई निरन्तरता दिनुपर्ने चुनौती रहेको उनले बताइन्।
अब आन्तरिक स्रोतको पहिचान गरेर आम्दानी बढाउने, नयाँ प्रविधि प्रयोग गरेर सेवा प्रवाहलाई राम्रो बनाउने, भएका विकासका कामको संरक्षण गर्ने तथा फरक कामको शुरूआत गर्नुपर्ने उनको भनाइ छ।
द एशिया फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा देशभरका नगरपालिकाका मेयर, उपमेयर तथा प्रशासकीय अधिकृतको सहभागिता थियो। सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ।