देशभर पश्चिमी प्रणालीको प्रभाव, यस्तो छ तीन दिनको मौसम
पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका विभिन्न भागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा देशको पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ।
आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
आज राति पनि उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, बिहीबार देशका पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहने विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ। महाशाखाका अनुसार, पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
यस्तै, शुक्रबार पनि देशका पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना महाशाखाले जनाएको छ।