स्थानीय चुनावमा युवा मतदाताको रोजाइ: कस्ता उम्मेदवार, कस्ता मुद्दा?
आउँदो स्थानीय चुनावमा युवा मतदाता कस्ता उम्मेदवार र कस्ता मुद्दा उठेको हेर्न चाहन्छन्? भर्चुअल माध्यमबाट गरिएको देशव्यापी सर्वेक्षणको नतीजाः
कोभिड–१९ महामारीका कारण लकडाउन (बन्दाबन्दी) शुरू भएयता नै अभ्नी दिगोपना केन्द्रले युवाहरूलाई विभिन्न सामाजिक, वातावरणीय र आर्थिक मुद्दामा संलग्न गराउँदै आएको छ। यी सबै मुद्दा अन्ततः राजनीतिक मुद्दा हुन् भन्ने बुझाइका साथ युवाहरूलाई यी मुद्दा र छलफलमा सक्रिय सहभागी गराउने उद्देश्यले केन्द्रले अभ्नी न्यूजसँगको सहकार्यमा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निम्न कार्य गरिरहेको छः
– गाउँ र शहरका विभिन्न उमेर समूहका मतदाताका लागि कस्ता मुद्दा महत्त्वपूर्ण छन्, अनलाइन र स्थलगत सर्वेक्षणबाट पहिचान गर्ने,
– सर्वेक्षणबाट आएका तथ्याङ्कका आधारमा राजनीतिक दलहरूलाई जनभावना बुझाउने, र
– स्थानीय स्तरका जल्दोबल्दो मुद्दाहरूबारे मतदातालाई सचेत बनाउन स्थानीय निर्वाचनमा युवालाई नागरिक रिपोर्टरका रूपमा सक्रिय सहभागी गराउने।
सर्वेक्षणमा सहभागिता
पहिलो चरणमा २० देखि २८ फागुनसम्म युवा मतदाताहरूमा देशव्यापी सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणमा विभिन्न पृष्ठभूमिका ४१५ युवा अनलाइन माध्यमबाट प्रत्यक्ष सहभागी भएका थिए। सहभागीहरू १८ देखि ३५ वर्षका थिए भने महिला र पुरुषको सङ्ख्या करीब आधा आधा (५३ प्रतिशत महिला, ४७ प्रतिशत पुरुष) थियो।
सर्वेक्षणमा सातै प्रदेशका युवा संलग्न थिए। अध्ययनका हिसाबले एसईई उत्तीर्णदेखि स्नातकोत्तर तहसम्म पढेका तथा आर्थिक स्थितिका हिसाबले मासिक २५ हजारभन्दा कमदेखि एक लाखभन्दा बढी आय हुने परिवारका युवाहरू सहभागी थिए।
सोधिएका विषय
सर्वेक्षणमा युवा मतदाताले आउँदो स्थानीय चुनावबाट के अपेक्षा राखेका छन्, कस्ता उम्मेदवार र मुद्दा उठेको हेर्न चाहन्छन्, मतदान गर्छन् कि गर्दैनन्, गरे केका आधारमा गर्छन् लगायत विभिन्न विषयमा केन्द्रित रही निम्न प्रश्न सोधिएको थियोः
- तपाईंसँग मतदाता परिचयपत्र छ ? वा मतदाता नामावलीमा सूचीकृत हुनुभएको छ?
- आउँदो चुनावमा भोट हाल्ने सोच्नुभएको छ?
- आउन लागेको स्थानीय चुनावमा तपाईं आफ्नो स्थायी ठेगाना वा घरभन्दा टाढा हुनुभयो भने लामो यात्रा गरेर भोट हाल्न जानुहुन्छ?
- आफूले हालेको भोटले केही फरक पार्छ जस्तो लाग्छ?
- आफ्नो वर्तमान गाउँपालिका अध्यक्ष वा मेयरलाई चिन्नुहुन्छ?
- हालका गाउँपालिका अध्यक्ष वा मेयर फेरि आउँदो चुनावमा पनि उठून् भन्ने लागेको छ?
- आफ्नो वर्तमान वडाध्यक्षलाई चिन्नुहुन्छ?
- हालका वडाध्यक्ष आउँदो पटक पनि स्थानीय चुनावमा उठून् भन्ने लागेको छ?
- जलवायु परिवर्तन प्रमुख राजनीतिक मुद्दा हुनुपर्छ जस्तो लाग्छ?
- तपाईंको गाउँपालिका र नगरपालिकाको सबैभन्दा महत्त्वपूर्ण मुद्दा कुन हो, जसलाई सम्बोधन गर्न आवश्यक छ? वा जुन आउँदो चुनावमा तपाईंको क्षेत्रको प्रमुख अजेन्डा हुनुपर्छ?
- आउँदो स्थानीय चुनावमा कुन राजनीतिक दललाई भोट हाल्ने निर्णय गर्नुभएको छ?
- नेपालको भविष्य राम्रो छ जस्तो लाग्छ?
सर्वेक्षणको नतीजा
सर्वेक्षणबाट प्राप्त नतीजाले नेपाली युवा, विशेष गरी शिक्षित युवाको चाहना र विचार उजागर गरेको छ।
– आफ्नो भोटले फरक पार्छ जस्तो लाग्छ कि लाग्दैन भन्ने प्रश्नमा सहभागीमध्ये ९५.६ प्रतिशतले फरक पार्छ भनेका छन्। यसबाट युवा मतदातामा आफ्नो भोटप्रति धेरैै विश्वास रहेको देखियो।
– ७८.६ प्रतिशतले आउँदो स्थानीय चुनावमा भोट हाल्ने सोचेका छन्, त्यसमध्ये ६७.७ प्रतिशत आफू बसेको ठाउँबाट यात्रा गरेर पनि मतदान गर्न जान तयार छन्।
– ८.७ प्रतिशतले मात्रै कुन दललाई भोट हाल्ने भनेर निधो गरिसकेका छन् भने ६४.१ प्रतिशतले दलभन्दा पनि उम्मेदवार हेरेर भोट दिने बताएका छन्। यसले दलप्रति आस्था राख्नेभन्दा व्यक्तिको क्षमता र सम्भावना हेर्ने युवाको चेतना प्रतिविम्बित गर्छ।
– सर्वेक्षणमा सहभागीमध्ये ८८.१ प्रतिशतले आफ्नो मेयर वा गाउँपालिका अध्यक्षलाई चिन्ने बताए, तर तीमध्ये ७८.३ प्रतिशत हालकै मेयर वा गाउँपालिका अध्यक्ष दोहोरिएको हेर्न चाहँदैनन्। यसबाट अहिलेका जनप्रतिनिधिको काम युवाले नरुचाएको देखियो।
– ८५.८ प्रतिशतले आफ्नो वडाध्यक्षलाई चिन्छु भने, जबकि ७४.५ प्रतिशतलाई हालकै वडाध्यक्ष आउँदो निर्वाचनमा पनि उठून् भन्ने लागेको छैन।
– ७५.४ प्रतिशत युवाले जलवायु परिवर्तन प्रमुख राजनीतिक मुद्दा हुनुपर्ने बताए।
– युवा मतदाताका अनुसार, आगामी निर्वाचनमा उठ्नुपर्ने तथा सम्बोधन गरिनुपर्ने प्रमुख मुद्दा प्राथमिकता क्रममा यस्ता छन्ः
१. भ्रष्टाचार (६०.७ प्रतिशत)
२. युवालाई रोजगारी र अवसरको कमी (६०.५ प्रतिशत)
३. सक्षम र इमानदार नेताहरूको कमी (६०.२ प्रतिशत)
४. बेरोजगारी (५८.६ प्रतिशत)
५. युवा प्रतिभाको पलायन (५४.५ प्रतिशत)
६. उद्यमशीलतालाई प्रोत्साहन गर्ने वातावरणको कमी (४८.७ प्रतिशत)
– नेपालको भविष्यबारे तपाईंलाई के लाग्छ भन्ने प्रश्नको उत्तरमा ८१.२ प्रतिशतले प्रगति भइरहेको तर चाहे जति गतिमा नभएको बताए। यसबाट युवा र विशेष गरी शिक्षित युवाहरू देशको भविष्यबारे आशावादी नै देखिएका छन्।