‘नेपाली फिल्मले बुद्ध र सगरमाथा मात्र चिनाएर पुग्दैन’
‘जति पनि काम भइरहेको छ, सबै व्यक्तिगत प्रयासले भएको छ। राज्यले पनि मद्दत गरे थप गुणस्तरीय बनाउन सकिन्थ्यो।’
नेपाली सिनेमालाई विश्वका प्रतिष्ठित फिल्म महोत्सवहरूमा पुर्याएर नेपाल चिनाउन खटिएका निर्देशक दीपक रौनियार आफ्नो यात्रामा अविराम छन्। मूलधारभन्दा फरक सिने चेतना बोकेर नेपाली समाजलाई चलचित्रमा उतार्दै आएका उनी यस पटक १६ मिनेटको चलचित्र फोर नाइट्स लिएर बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (बर्लिनाल) मा सहभागी भए। त्यही मेसोमा बर्लिनमा रौनियारसँग सेन्छेलुङ लिम्बूले गरेको कुराकानी :
हाइवे र ह्वाइट सन जस्ता अन्तर्राष्ट्रिय अवार्ड प्राप्त फिचर फिल्म बनाउनुभएका तपाईं फेरि शर्ट फिल्ममा फर्कनुभयो नि?
ह्वाइट सनपछि हामीसँग पर्याप्त समय थियो। तर, कोरोना महामारी लगायत कारणले फिचर फिल्म गरिहाल्ने अवस्था थिएन। त्यसै वेला न्यूयोर्कमा रहँदाको भोगाइ समेटेर फिल्म बनाउने आइडिया आयो। त्यो भोगाइ छोटोमै पनि देखाउन सकिन्छ भन्ने लाग्यो। जस्तो, पेन्टिङ गर्न सधैं ठूलो क्यानभास चाहिंदैन।
शर्ट फिल्मको अर्को फाइदा, फिचरमा जस्तो धेरै समय लाग्दैन। हुन त कतिपयले शर्ट फिल्मलाई ‘भिजिटिङ कार्ड’ का रूपमा प्रयोग गरेको देखिन्छ। तर, शर्ट फिल्म छोटो समयमा पनि पूर्ण कथा भन्न सकिने प्रभावकारी माध्यम हो।
बर्लिनालमा खास गरी फोर नाइट्समा प्रयोग गरिएको ‘साउन्ड’ ले चर्चा बटुल्नुको कारण के होला?
फिल्म कुन ठाउँमा खिचिएको भन्दा पनि कुन ठाउँ देखाउन खोजिएको हो भन्ने कुराले अर्थ राख्छ। हामीले फिल्ममा गरेको प्रयोग त्यही हो। फोर नाइट्सको कथा न्यूयोर्क शहरमा आधारित भए पनि अधिकांश सुटिङ काठमाडौंमा गर्यौं। काठमाडौंमै न्यूयोर्क देखिने सेट तयार पार्यौं। त्यसलाई ‘साउन्ड’ मा गरेको कामले जीवन्तता दियो। कोरोना महामारीका वेला कम लागतमा नेपालकै जनशक्ति प्रयोग गरेर बनेको हो, फोर नाइट्स।
तपाईंका यसअघिका फिल्म सामाजिक विषयमा केन्द्रित रहे पनि फोर नाइट्समा वैयक्तिक कथा रहेछ नि?
अघिल्ला फिल्मका कथा पनि वैयक्तिक नै हुन्। तिनमा आफ्ना अनुभवलाई अरूको कथा जसरी प्रस्तुत गर्थ्यौं। फोर नाइट्समा चाहिं क्यामेरा आफैंतिर फर्काएका छौं।
थ्रेसहोल्ड मेरी भाउजूको कथामा आशा (मगराती) र मैले भोगेका अनुभव जोडेर बनाइएको फिल्म हो। त्यस्तै, जनयुद्ध हाम्रै पुस्ताको भोगाइ हो जसलाई समेटेर ह्वाइट सन बनायौं। इलामबाट काठमाडौं फर्किने क्रममा भेटिएकाहरूबाट प्रेरित भई बनाइएको हाइवेमा पनि हाम्रो वैयक्तिक अनुभव छ।
फोर नाइट्समा चाहिं तपाईंहरूको संघर्ष कसरी जोडिएको छ?
आशा र म दुवै नेपाली फिल्मक्षेत्रका लागि ‘आउट साइडर’ नै हौं। विचार मिलेपछि हिम्मत गरेर फिल्म बनायौं, ती अन्तर्राष्ट्रिय महोत्सवमा छानिए पनि। कति महोत्सवमा जूरी समेत बन्न पायौं। झलक्क हेर्दा सफलता मात्रै देखिन्छ। तर, हामीसँग संघर्षका चाङ छन्। त्यसैलाई फोर नाइट्समा देखाएका हौं।
रेड कार्पेट, महोत्सव, अवार्ड जस्ता चमकधमकपूर्ण फिल्मी दुनियाँमा पुग्न गरिएको संघर्ष कसैले देखेको हुन्न। खासमा महोत्सवसम्म आइपुग्दाको हाम्रो संघर्ष संसारभरकै चलचित्र निर्माता-निर्देशकको प्रतिनिधि भोगाइ हो।
सन् २००८ मा थ्रेसहोल्डबाट शुरू भएको तपाईंहरूको फिल्मी सहयात्राका दौरान कामको बाँडफाँड कसरी गर्दै आउनुभएको छ?
प्रोडक्सन र कास्टिङको काम आशाले गर्छिन्। मैले निर्देशन गर्दै आएको छु। कथा र स्क्रिप्ट चाहिं दुवै जना मिलेर लेख्छौं। खासमा आशाले धेरै विधा हेर्ने भएकैले म ढुक्कले निर्देशनमा लाग्न पाएको हुँ। यद्यपि, आगामी दिनमा उनले पनि निर्देशन गर्नेछिन्। एकअर्काको सहयोग विना दुवै जना यहाँसम्म आइपुग्ने थिएनौं।
फिल्मले सामाजिक विविधता समेट्न नसकेको आवाज उठिरहँदा त्यो पक्षलाई कसरी प्रभावकारी बनाउन सकिएला?
विविधता नेपाली समाजको सुन्दरता हो। तर, राज्य तहमा जुन किसिमले विविधताको प्रतिनिधित्व हुनुपर्थ्यो, भएको छैन। फिल्ममा पनि त्यस्तै अवस्था छ। हामी दलितका बारेमा राम्रो फिल्म बनेन भन्छौं। तर, हामीसँग दलित समुदायका निर्माता-निर्देशक खासै छैनन्।
जबसम्म दलितहरू फिल्म निर्माण-निर्देशनमा आउँदैनन् तबसम्म उनीहरूको विषयलाई न्याय गर्ने फिल्म बन्न सम्भव छैन। कसैले भोगेको पीडा ऊ आफैंले जति मार्मिक रूपमा उतार्न सक्छ, अरूले सक्दैन। महिलाका भोगाइबारेको फिल्मलाई पनि महिला निर्देशकले नै सही अर्थमा न्याय दिन सक्छिन्।
नेपाली फिल्महरू विश्वप्रसिद्ध महोत्सवहरूमा पुगिरहँदा हाम्रोमा अझै खट्किरहेको पक्ष चाहिं के होला?
हो, हामी विश्वजगत्मा त पुगिरहेका छौं, तर त्यो मूलधारको फिल्मबाट होइन।
विविधताले युक्त हाम्रो देशमा धेरै कथाहरू छन्। तिनमा फिल्म बनाउँदा अरूका लागि बिल्कुलै नयाँ हुन सक्छ जसले हामीलाई फिल्म मार्फत चिनिन मद्दत गर्छ। नत्र संसारमा एकसेएक गज्जब फिल्म त बनिरहेकै छन् नि। सधैं सगरमाथा र बुद्ध मात्र चिनाएर नेपालको वास्तविकता देखिन्न। देशभित्रका समुदाय, उनीहरूको जीवनशैली र भोगाइ नै वास्तविक नेपाल हो। फिल्ममा त्यो विविधता अटाउन सकेको छैन।
फिल्म निर्देशकको समाज र राज्यप्रतिको दायित्व कस्तो हुन्छ?
फिल्मले समाज र राज्यलाई प्रश्न गर्ने हो। तर, फिल्म निर्देशकको भोगाइ र ऊ हुर्किएको सामाजिक परिवेशले ती प्रश्नहरू निर्धारण गर्छन्। सिर्जना आफैंमा एक प्रकारको विद्रोह हो। त्यसलाई बाहिर निकाल्ने आँट निर्देशकमा हुनै पर्छ।
निर्देशकलाई आफूले उठाएको विषय ठीकै लागेको हुन्छ। कुनै वेला समीक्षकहरूले तिमीले उठाएको विषय ठीक भएन है भनेर झकझक्याइदिनुपर्ने हुन सक्छ। अहिले पनि हाम्रो समाजमा भारतीय टीभी सिरियल या त्यस्तै मसला फिल्महरू हावी छन्। आम दर्शकले रुचाएका नेपाली टीभी कार्यक्रमले पनि फरक कुरा पस्कन सकेका छैनन्। धेरैले हाँस्ने, हँसाउने हल्काफुल्का विषय रुचाएको पाइन्छ। ती कुरामा अभ्यस्त दर्शकलाई हाम्रा फिल्म देखाउन केही गाह्रो चाहिं भएकै छ।
हाम्रो समालोचनात्मक चेत चाहिं कस्तो छ?
यो समस्या चलचित्रकर्मी र दर्शक दुवैमा छ। पहिल्याउँदै जाँदा मुख्य दोष हाम्रो शिक्षा प्रणालीमै भेटिन्छ। हामी जुन किसिमको स्कूले शिक्षा लिइरहेका छौं, त्यो चेतना विकास गर्ने खालको छैन।
हामीलाई ‘गाई भनेको चार खुट्टा भएको जनावर’ भन्दै रटाइन्छ, तर गाई देखाइँदैन। हामी यसलाई सामान्य रूपमा लिन्छौं, त्यसैले प्रश्न पनि गर्दैनौं। फिल्म मार्फत पनि प्रश्न उठाउन सकिन्छ। तर, स्कूलदेखि नै हामीले प्रश्न गर्न बिर्सिसकेका हुन्छौं।
थ्रेसहोल्डबाट फोर नाइट्ससम्म आइपुग्दा नेपाली सिनेमामा कस्तो फेरबदल आएको देख्नुहुन्छ?
नेपाली सिनेमामा आमूल परिवर्तन आएको मान्नुपर्छ। सन् २०१२ मा ‘हाइवे’ बनाउँदासम्म हामी एक्लै जस्तै थियौं। तर, अहिले हाम्रो चलचित्रकर्ममा साथ–सहमति दिने थुप्रै छन्।
नेपाली फिल्म धेरै वटा अन्तर्राष्ट्रिय महोत्सवमा पुगिसकेका छन्। कामको दायरा फराकिलो भएको छ। नेपालमै बसेर स्तरीय काम गर्न सकिने अवस्था छ। विदेशमा पढाइ सकेर नेपाल फर्किने र फिल्म बनाउनेहरू पनि छन्। तर, जति पनि काम भइरहेको छ, सबै व्यक्तिगत प्रयासले भएको छ। राज्यले पनि मद्दत गरे थप गुणस्तरीय बनाउन सकिन्थ्यो।
नेपाली सिनेक्षेत्र नयाँ लहरतर्फ उन्मुख भएको हो?
हरेक साल प्रतिष्ठित महोत्सवहरूमा जाने नेपाली फिल्मको सूची बढ्दो छ। यस्तै अवस्था रहे त्यो लहर टाढा छैन। अहिले जति निर्माता-निर्देशक छन्, तिनले निरन्तर फिल्म बनाउने वातापरण हुनुपर्यो। लगानी, दक्ष जनशक्तिको अभाव हुन भएन। हामी धेरै कुरामा स्रोतसाधनयुक्त छौं। लोकेसन निःशुल्क पाइरहेका छौं।
प्राविधिक र अन्य जनशक्ति विदेशको तुलनामा सस्तो छ। एकअर्कालाई सहयोग गर्ने वातावरण पनि एकदमै राम्रो छ। यस्ता सुविधाको फाइदा लिएर राम्रा फिल्म बनाइनुपर्छ। फिचर फिल्म तत्काल सम्भव नभए शर्ट फिल्म भए पनि बनाउनुपर्यो।
अलग धारका फिल्ममा पछिल्लो पुस्ताको सहभागिता चाहिं कस्तो छ?
हामीले जति वेला फिल्म बनाउन शुरू गर्यौं, त्यति वेला मूलधारलाई चुनौती दिने दुई जना मात्र हुनुहुन्थ्यो– छिरिङ रितार शेर्पा र नवीन सुब्बा। हामी आफैंले दुःख गरेर फिल्म निर्देशन सिक्यौं। कति ठाउँ हन्डरठक्कर खायौं। त्यो सीप पछिल्लो पुस्तालाई बाँड्ने निधो गर्दै दुई वर्षयता गोग्रह फिल्म ल्याब चलाउँदै आएका छौं।
त्यहाँबाट सम्भावना बोकेका विभिन्न समुदायका प्रशिक्षार्थीलाई तालीम दिइरहेका छौं। साथै, फिल्मका लागि रकम जुटाउन, उनीहरूका फिल्मलाई अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन सघाइरहेका छौं।
तपाईंहरूले बनाउन लाग्नुभएको दी स्काई इज माइन कस्तो फिल्म हो?
यो थ्रिलर फिल्म हो जसले मधेशी र पहाडी समुदायको समन्वयबारे बहस छेड्छ। मधेश आन्दोलनको परिवेशमा बुनिएको कथामा महिला कलाकार मुख्य भूमिकामा छन्। मधेशी महिला प्रहरीको भूमिकामा भारतीय अभिनेत्री तनिष्ठा चटर्जीलाई लिएका छौं। भारतमा राष्ट्रिय पुरस्कार पाइसकेकी उनी हामीसँग काम गर्न निकै उत्साही छिन्।