एमसीसीले गरीबी निवारणमा सहयोग पुग्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी राष्ट्रको हितमा भएकाले अनुमोदन गरिएको बताएका छन्।
सोमबार खोटाङमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसीले देशको गरीबी निवारणदेखि आर्थिक विकासमा भूमिका राख्ने बताएका हुन्। “एमसीसी नेपालको राष्ट्रिय हितमा छ। अनुदान हो यो,” उनले भने, “गरीबी निवारणदेखि लिएर आर्थिक विकासमा ठूलो भूमिका राख्ने विश्वास लिएको छु।”
प्रधानमन्त्री देउवाले सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पुलको उद्घाटन गरेका छन्। निर्माण कम्पनी सूर्य एन्ड सन्स प्रालिले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको संयुक्त बजेट पाँच करोड ६० लाख १० हजार ५४५ रुपैयाँमा पुल निर्माण गरिएको हो।
प्रिस्ट्रेस बिम पुल बिममा तार घुसाए तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो। निर्माण कम्पनीले १७ जेठ २०७८ मा पुल निर्माणको काम सम्पन्न गर्ने गरी १७ जेठ २०७६ मा सम्झौता गरेको थियो।
स्थानीय सडक पुल कार्यक्रम (एलआरबीपी) को प्राविधिक सहयोगमा निर्माण गरिएको पुल दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले ११ असार २०७६ मा शिलान्यास गरेका थिए। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रूटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि ४० मिटर लम्बाइ भएको पुल निर्माण गरिएको हो।