रुकुमको सबस्टेशन निर्माण आठ वर्षमा पूरा
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३, धैरेनी चौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेशन सञ्चालनमा आएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल र अर्थ मन्त्री जनार्दन शर्माले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेशनको संयुक्त रूपमा उद्घाटन गरेका छन्। सबस्टेशनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँमा विद्युत् आपूर्ति गरिनेछ।
उद्घाटन कार्यक्रममा मन्त्री भुसालले विगतमा बत्ती बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत् रहेकाले भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन्। उनले दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत पुर्याउने र विद्युत् सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताइन्।
मन्त्री भुसालले भनिन्, “आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युत्मा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौं, बर्खाका केही महीना देशभित्र खपत गरेर जगेडा भएको विद्युत् भारत निर्यात गर्न थालेका छौं, थप विद्युत् निर्यातका लागि भइरहेको पहल सकारात्मक रूपमा अगाडि बढिरहेको छ।”
अर्थ मन्त्री शर्माले अमेरिकी डलरमा खरीद गरेर ल्याइएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे। शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए।
सल्यान सित्तलपाटी सबस्टेशनबाट करीब ८० किलोमिटर लामो ३३ केभी लाइन मार्फत विद्युत् लगेर सबस्टेशन सञ्चालनमा ल्याइएको हो। सबस्टेशनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ। सबस्टेशन सञ्चालनमा आएपछि रुकुममा विद्युत्को भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको प्राधिकरणले जनाएको छ।
सबस्टेशनबाट विद्युत् आपूर्तिका लागि फिडरहरू निर्माण भइरहेका छन्। अहिले एउटा फिडरबाट मात्र जिल्लाभरि विद्युत् आपूर्ति भइरहेको छ। रुकुम पूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको पाँच मेगावाटको रुकुमगाड जलविद्युत् आयोजनाको विद्युत् यही मुसिकोट सबस्टेशनमा जोडिनेछ।
सबस्टेशन निर्माण २०७२ को असारबाट शुरू भएको थियो। तर, शुरूआतमा निर्माण प्रस्ताव गरिएको स्थान पहिरोको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो। सबस्टेशन निर्माणका लागि वाइबा इन्फ्राटेक प्रालिसँग आठ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
रुकुम पश्चिममा तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका सबैमा विद्युत् पुगेको छ। सबै वडामा भने विद्युत् पुगेको छैन। ७३ वडा रहेकोमा ५२ वटा वडामा विद्युत् पुगेको छ। राष्ट्रिय प्रसारण लाइनबाट ७० प्रतिशत विद्युतीकरण भएको छ। स्थानीय लघुजलविद्युत् सहित रुकुम पश्चिमको समग्र विद्युतीकरण ८५ प्रतिशत छ।