नेपाल यूएईसँग ९९ रनले पराजित
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपाल यूएईसँग ९९ रनले पराजित भएको छ।
यूएईले दिएको २०३ रनको सामान्य लक्ष्य पनि नेपालले पूरा गर्न सकेन। यूएईको कसिलो बलिङअघि नेपाली ब्याटर टिक्न नसकेपछि नेपाल ३५.१ ओभरमा १०३ रनमै समेटियो।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ३०, आरिफ शेख र सोमपाल कामीले १५-१५ तथा विनोद भण्डारीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
यूएईका लागि जुनैद सिद्दिकीले चार, कसिफ दाउद र अहम्मद राजाले दुई-दुई तथा बसिल अहमदले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले नौ विकेटको क्षतिमा २०२ रन बनाएको थियो। यूएईका लागि रोहन मुस्ताफाले ६०, मोहम्मद वासिमले ३३, चिराग सुरीले २६, भृत्या अरविन्दले २४ र अलिसान सारफूले २१ रन बनाए।
त्यस्तै, नेपालका लागि सन्दीप लामिछानेले तीन, सोमपाल कामी र करण केसीले दुई-दुई तथा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक-एक विकेट लिए।
यूएई भ्रमणमा रहेको नेपाली टोलीले खेलेका तीन खेलमा एक जित र दुई हार बेहोरेको छ। पहिलो खेलमा पपुवा न्यूगिनीलाई दुई विकेटले हराएको थियो भने र यूएईसँग दोस्रो खेलमा ४८ रनले र आज तेस्रो खेलमा ९९ रनले हारेको हो।
नेपालले चौथो खेल मंगलबार पपुवा न्यूनिगीसँग खेल्नेछ।