माघमा घटेको आयात फागुनमा फेरि बढ्यो, विदेशी मुद्राको सञ्चितिमा थप असर पर्ने जोखिम
उच्च आयातले अर्थतन्त्रलाई नै अप्ठ्यारोमा पारिरहेको वेला आयात नियन्त्रणको सरकारी प्रयास धेरै प्रभावकारी हुन नसकेको देखिएको छ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले माघमा केही मत्थर भएको आयात फागुनमा फेरि बढेको देखिएको छ। फागुनमा रु.एक खर्ब ६१ अर्ब २७ करोड बराबरको वस्तु आयात भएको छ। माघमा यस्तो आयात रु.एक खर्ब ४८ अर्ब १२ करोडमा सीमित थियो।
उच्च आयातका कारण देशको बाह्य क्षेत्रको सन्तुलन डगमगाउन थालेपछि गत पुसयता दुई पटक गरी नेपाल राष्ट्र ब्यांकले करीब चार दर्जन वस्तुको आयातलाई नियन्त्रण गर्ने नियम कार्यान्वयनमा ल्याएको छ। राष्ट्र ब्यांकले एलसी (प्रतीतपत्र) खोल्दा व्यवसायीले शुरूमै नगद राख्नुपर्ने नियम बनाएको थियो। यसको प्रभाव पुस र माघको आयातमा देखिएको थियो।
मंसीरसम्म औसतमा हरेक महीना रु.एक खर्ब ६८ अर्ब हाराहारीको आयात भइरहेकोमा पुसमा यो रकम करीब रु.सात अर्बले घटेर रु.एक खर्ब ६१ हाराहारीमा ओर्लिएको थियो। माघमा भने अझ घटेर रु. एक खर्ब ४८ अर्ब जतिमा ओर्लिएको थियो।
आयातलाई कस्ने नीति कार्यान्वयनले एकै महीनाको आयातलाई करीब रु.२० अर्ब जति घटाएको देखिएको थियो। तर, फागुनको तथ्याङ्कले भने आयात फेरि उच्च बिन्दुतिरै जान थालेको सङ्केत गरेको छ।
चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालले विदेशबाट रु.१३ खर्ब आठ अर्ब ७३ करोड बराबरको मालमत्ता आयात गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा करीब ३९ प्रतिशत धेरै हो।
यो अवधिमा नेपालले रु.एक खर्ब ४७ अर्ब ७४ करोडको वस्तु निर्यात गरेको छ। यो गत वर्षको तुलनामा करीब ८३ प्रतिशत धेरै हो। नेपालले निर्यात गरेको यो अहिलेसम्मकै उच्च हो। यद्यपि, रकममा उच्च निर्यात देखिए पनि धेरै हौसिनु आवश्यक नभएको तथ्याङ्कले देखाउँछ। नेपालको कुल निर्यातको आधाभन्दा धेरै हिस्सा तेस्रो मुलुकबाट मगाएर रिप्याकेजिङ गरी भारत निर्यात गरिएका पाम आयल, भटमासको तेल, सूर्यमुखी तेलको छ।
यस्ता तेलको निर्यात नै रु.८० अर्बभन्दा धेरैको छ। नेपालमा धेरै मूल्य अभिवृद्धि (भ्यालु एडिसन) नहुने यी चिजबिज तेस्रो मुलुकबाट मगाएर भारत पठाउँदा व्यापारीलाई लाभ भए पनि अर्थतन्त्रले धेरै लाभ पाउँदैन। यस्तो कारोबारबाट सरकारी राजस्वमा केही योगदान पुगे पनि रोजगारी सिर्जना तथा अर्थतन्त्रको दीर्घकालीन उत्पादक क्षमताको विस्तारमा अपेक्षित लाभ पुग्दैन।
फागुनसम्म नेपालले वैदेशिक व्यापारमा रु.११ खर्ब ६१ अर्ब जति घाटा बेहोरिसकेको छ। वैदेशिक व्यापारको घाटा रकम बढिरहेका कारण नेपालको बाह्य क्षेत्रको सन्तुलनमा थप चाप पर्ने सम्भावना छ। नेपाल राष्ट्र ब्यांकका अनुसार, माघसम्म नेपालको शोधनान्तर स्थिति (भित्रिने र बाहिरिने रकमबीचको अन्तर) रु.दुई खर्ब ४७ अर्ब घाटामा छ। यो अहिलेसम्मकै उच्च घाटा हो।
शोधनान्तर घाटा बढेको कारण देशको वैदेशिक मुद्राको सञ्चितिको भण्डार भने घट्दै गएको छ। माघसम्म नेपालसँग नौ अर्ब ७५ करोड डलर मात्रै सञ्चिति छ। यो गत असारमा ११ अर्ब ७५ करोड डलर थियो। अर्थात्, सात महीनाकै बीचमा दुई अर्ब डलर सञ्चिति घटिसकेको छ।
फागुनमा आयात फेरि बढेका कारण यो सञ्चितिमा थप चाप पर्ने अनुमान गरिएको छ। यद्यपि, विदेशी मुद्राको सञ्चितिको विवरण नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गर्न अझै केही साता लाग्नेछ। अर्थशास्त्रीहरूले पछिल्लो समयमा विदेशी मुद्राको सञ्चिति तीव्र गतिमा घट्दै जानु जोखिमपूर्ण रहेको बताएका छन्।
विदेशी मुद्राको सञ्चिति रित्तिने अवस्थामा पुग्नु भनेको देशलाई अत्यावश्यक वस्तु र सेवा खरीद गर्न आवश्यक रकम नहुनु हो। श्रीलंकाले पछिल्ला महीनाहरूमा यस्तै कठिन परिस्थिति भोगिरहेको छ। त्यहाँ विदेशी मुद्राको सञ्चिति न्यून रहेका कारण कागज किन्न नसकेर विद्यार्थीको परीक्षा रोकिएको समाचार गत साता सार्वजनिक भएको थियो।
नेपालमा अघिल्लो वर्षको तुलनामा परिणाममा वस्तुको आयात धेरै नबढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण बढी रकम भुक्तानी गर्नुपरेको जानकारहरूले बताउने गरेका छन्। गत वर्षको तुलनामा पेट्रोलियम पदार्थ, कोइला, फलाम, मकै, गहुँ, भटमास आदिको मूल्य ह्वात्तै बढ्न पुगेको छ।
खाद्यान्नको उच्च आयात
भन्सार विभागका अनुसार, गत साउनदेखि फागुनसम्मका आठ महीनामा नेपालले रु.५६ अर्ब ९३ करोड बराबरको खाद्यान्न आयात गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा रु.दुई अर्बभन्दा धेरै हो। गत वर्षको यही अवधिमा रु.५४ अर्ब ६९ करोडको खाद्यान्न आयात भएको थियो।
यो वर्ष अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्यमा आएको वृद्धिका कारण उति नै वा थोरै परिमाणमा खाद्यान्न आयात गर्न समेत नेपालले धेरै रकम खर्च गर्नुपरेको छ। नेपालले चामल र मकै धेरै आयात गर्छ।
गत साउनदेखि फागुनसम्म नेपालमा रु.दुई खर्ब ७६ अर्ब बराबरको कृषिजन्य वस्तु आयात भएको छ। यद्यपि, यस अवधिमा नेपालले रु.एक खर्ब १९ करोड बराबरको कृषिजन्य वस्तु निर्यात गरेको छ।
फागुनसम्मको तथ्याङ्क अनुसार हरेक दिन नेपालमा रु.११ करोड १४ लाख बराबरको हरियो तरकारी, रु.६ करोड ८० लाखको फलफूल तथा रु.२३ करोड ७२ लाखको अन्न आयात हुन्छ।
कुन महीनामा कति आयात?
फागुन : रु.एक खर्ब ६१ अर्ब २७ करोड
माघ : रु.एक खर्ब ४८ अर्ब १२ करोड
पुस : रु.एक खर्ब ६० अर्ब ९३ करोड
मंसीर : रु.एक खर्ब ८८ अर्ब ११ करोड
कात्तिक : रु.एक खर्ब ७१ अर्ब ७७ करोड
असोज : रु.एक खर्ब ६४ अर्ब ६१ लाख
भदौ : रु.एक खर्ब ६३ अर्ब ७८ करोड
साउन : रु.एक खर्ब ५० अर्ब ७३ करोड।