देशभरका मतगणनास्थलको भिडिओ प्रणाली मार्फत केन्द्रबाटै निगरानी गरिने
आगामी स्थानीय तहको निर्वाचनमा मतगणनास्थलको भिडिओ प्रणाली मार्फत केन्द्रबाटै निगरानी गरिने भएको छ।
निर्वाचन आयोगको कार्यालय परिसरबाटै देशभरका मतगणनास्थलको अवलोकन गर्ने प्रणाली जडान गर्ने निर्णय गरेको छ। यसका लागि स्थानीय प्रशासन मन्त्रालयलाई व्यवस्था गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
सोमबार नियमित पत्रकार सम्मेलनमा निर्वाचन तयारीबारे जानकारी दिंदै प्रवक्ता पौडेलले आयोग परिसरबाटै देशभरका मतगणनास्थलको अवलोकन गर्ने व्यवस्था गर्न लागिएको बताए।
“देशभरका मतगणनास्थलमा मतपेटिका भण्डारण, मतगणना लगायत क्रियाकलापको केन्द्रबाटै अवलोकन, निगरानी गर्ने तयारी गरेका छौं,” प्रवक्ता पौडेलले भने, “यसका लागि देशभरका सबै स्थानीय तहमा भोट काउन्टिङ भिडिओ म्यानेजमेन्ट सिस्टम (भीसीभीएमएस) जडानको व्यवस्था गर्न स्थानीय प्रशासन मन्त्रालयलाई पत्राचार गरेका छौं।”
यो प्रणाली जडानपछि मतपेटिका भण्डारण र मतगणना प्रक्रिया स्वच्छ र धाँधलीरहित हुने आयोगको विश्वास छ।
यससँगै आयोगले स्थानीय तहको चुनावलाई केन्द्रित गरेर टोल-फ्री नम्बर सञ्चालन गर्ने भएको छ। यसका लागि ११०२ नम्बरको व्यवस्था गरिएको छ। यो नम्बर १५ चैतबाट सञ्चालनमा आउने आयोगले जनाएको छ।