चुनाव नजिकिएसँगै ठूला दल मधेशतिर
स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख दलहरू मधेश प्रदेशतिर केन्द्रित हुन थालेका छन्।
स्थानीय तहको निर्वाचन नजिकएसँगै मधेश प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारेका छन्। चैतको शुरूआतसँगै राजनीतिक दलले दैनिकजसो प्रशिक्षण सहितका कार्यक्रम चलाइरहेका छन्। उनीहरू कार्यकर्ता प्रशिक्षणमा जुटेका छन्।
जनता समाजवादी पार्टी (जसपा) ले समायोजन प्रक्रियासँगै चुनावी गतिविधि सञ्चालन गरिरहेको छ। केही जिल्लामा बाँकी रहेको समायोजनको प्रक्रियालाई तीव्रता दिएको छ।
अध्यक्ष उपेन्द्र यादव र कृषि तथा सहकारी मन्त्री महेन्द्र यादवको उपस्थितिमा धनुषामा समायोजन प्रक्रिया टुङ्गिएको छ। सचिव बाहेकका पदमा समायोजन गरिएको छ।
जिल्ला अध्यक्ष, महिला उपाध्यक्ष, दुई सहसचिव पूर्व संघीय समाजवादी पार्टीले पाएको छ। त्यस्तै, उपाध्यक्ष दुई, कोषाध्यक्ष र एक सहसचिव पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) ले पाएको छ। सचिवमा दुवै पक्षले दाबी गरेका छन्।
सचिवमा सहमति जुट्न नसकेपछि तत्काल रिक्त राखिएको जसपा कार्यकारिणी समितिका सदस्य गजाधर यादवले बताए। “सचिवको टुङ्गो १८५ सदस्यीय समितिको बैठकबाट लगाउन निर्देशन दिइएको छ,” उनले भने। समायोजन प्रक्रिया सम्पन्न भएसँगै स्थानीय तहको निर्वाचन तयारीमा जुट्न थालेको छ।
जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि चुनाव केन्द्रित गतिविधि थालेको छ। मंगलबार जनकपुरमा चार जिल्लाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम राखेको छ। अन्य चार जिल्लाको प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सञ्चालन हुने धनुषाका अध्यक्ष एवं प्रदेश सभा सदस्य परमेश्वर साहले जानकारी दिए।
प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा सहित नेता सहभागी हुनेछन्। प्रशिक्षण कार्यक्रमको मुख्य लक्ष्य नै संगठन सुदृढीकरण र सबलीकरण रहेको साहले बताए। प्रत्येक जिल्लाबाट २० जनालाई बोलाइएको र उनीहरू प्रशिक्षण लिएर आआफ्नो जिल्ला र स्थानीय तहमा गएर कार्यकर्तालाई परिचालन र प्रशिक्षण दिने बताइएको छ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) ले ८ चैतमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम राखेको छ। जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरिने प्रशिक्षण कार्यक्रममा माओवादी अध्यक्ष पुष्कमल दाहाल, नारायणकाजी श्रेष्ठ सहितका नेता सहभागी हुने भएका छन्।
प्रशिक्षणमा मधेश प्रदेशका करीब पाँच हजार अगुवा कार्यकर्ताको सहभागिता रहने माओवादी नेता रामकुमार शर्माले बताए। उनले प्रशिक्षणपछि पार्टीको स्थानीय तहको तयारीको विषयमा एक प्रकारले माहोल सिर्जना हुने बताए।
यस्तै, नेकपा (एमाले) ले पनि स्थानीय चुनाव केन्द्रित भएर मधेशमा कार्यक्रम थालेको छ। केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जका मेयर विजय सरावगीलाई पार्टीमा स्वागत गरे। यससँगै एमाले नेताहरू अन्य दलका कार्यकर्तालाई पार्टी प्रवेश गराइरहेका छन्।
मधेश प्रदेशमा स्थानीय तहमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि चुनाव केन्द्रित कार्यक्रम चलाइरहेको छ। कांग्रेसको एकमहीने अभियान अन्तर्गत नेता तथा कार्यकर्ता गाउँ गाउँ तथा घर घर पुगिरहेका छन्।
२०७४ को स्थानीय चुनावमा कांग्रेसले २२, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले १४, माओवादीले १३, एमाले १२ र तत्कालीन संघीय समाजवादी फोरम नेपालले १० र अन्यले दुई वटा मेयर जितेका थिए।
त्यस्तै, उपमेयरमा कांग्रेसले २२, माओवादीले १८, राजपाले १७, एमालेले १४, फोरमले पाँच र अन्यले एक स्थानमा जित हासिल गरेका थिए।
यसै गरी गाउँपालिका अध्यक्षमा फोरमले १६, कांग्रेसले १४, राजपाले ११, माओवादीले आठ, एमालेले ६ र अन्यले चार स्थानमा जितेका थिए। उपाध्यक्षमा फोरमले २०, कांग्रेसले १३, राजपाले १३, माओवादीले १३, एमालेले पाँच र अन्यले दुई स्थानमा जित हासिल गरेका थिए।