न्याउलो कामीहरूमाथिको बन्देज कहिलेसम्म?
यार्सागुम्बा पाइने लेक जान लागेको बन्देज फुकेको उमङ्ग र गणतन्त्र आएको उत्सवमा सहभागी हुन नपाउँदाको खिन्नता एकैसाथ भोगेका दलितसँग उच्च लेकमा गरेको यात्रा।
१५ जेठ २०६५, बझाङ दहबगरस्थित थानपाटनको दलित बस्ती। अरूका घरमा जस्तै न्याउलो कामीको घरमा पनि चहलपहल थियो। पोकापन्तुरा ठीक पारेर मानिसहरू घरबाट हिंड्न तयार थिए। उनीहरूको हर्षको सीमा थिएन।
दुई कारणले उनीहरू हर्षित थिए। पहिलो, उनीहरू गाउँभन्दा माथिको त्यस्तो 'पवित्र भूमि' जान लागेका छन् जहाँ यसअघि समाजले दलित समुदायका पाइला पर्न दिएको थिएन। दोस्रो, त्यहाँ गएर उनीहरूले मूल्यवान् जडीबुटी यार्सागुम्बा टिप्नेछन्।
दार्चुला र बझाङको सिमानामा बझाङतिरको पानीढलोमा ३५०० मिटरभन्दा माथि रहेको ठाडीगाड पाटन यार्सागुम्बाका लागि निकै उर्वर छ। यहाँका ९५ प्रतिशत मानिसको जीवनयापनको मुख्य आधार यही हो। यार्सागुम्बा लगायत बहुमूल्य जडीबुटी टिप्न बझाङकै अरू ठाउँ र बझाङ बाहिरका मानिस पनि आउने गर्छन्।
तर, अघिल्लो वर्षसम्म जडीबुटी पाइने ठाउँमा दलित जान पाउँदैनथे।
राणा शासन गयो, जति वेला दलितलाई राज्यले नै अछूतको दर्जा दिएको थियो। उनीहरूलाई छुवाछूत नगर्नेलाई सरकारले सजाय दिन्थ्यो। प्रजातन्त्र आयो, छुवाछूत नगर्दा वा गर्दा सरकार चूप लागेर बस्यो। पञ्चायत आयो, जसले नयाँ मुलुकी ऐन जारी गरेर छुवाछूत प्रथाको अन्त्य गर्यो भनिन्छ। पञ्चायत गयो, बहुदल आयो। बहुदल गयो, राजतन्त्र जान आँट्दा बल्ल दलित समुदायले सार्वजनिक सम्पत्तिको उपयोग गर्न पाउन लागेका थिए।
त्यसैले उनीहरूमा उमङ्ग हुनु स्वाभाविक थियो। तर, 'पवित्र भूमिमा दलितको पाइला परे विनाश हुन्छ' भनेर उनीहरूले पुस्तौंदेखि सुन्दै र मान्दै आएका थिए। यो निकै कठोर विश्वासमा बदलिएको थियो। त्यसैले साथमा थोरै डर पनि थियो, केही भइहाल्ने पो हो कि?
२०६२/६३ सालको जनआन्दोलनपछि नेपाल छुवाछूतको चलनबाट मुक्त भएको घोषणा गरिएको थियो। तर, दुई वर्ष पुरानो त्यो घोषणा र गणतन्त्रको तात्तातो घोषणा पालभित्रै रहे। दलित भएकाले न्याउलो कामी त्यो तातोमा रम्न पाएनन्। गणतन्त्रको तातोमा उनी जस्ता प्रायः सबै छुटे र थोरै मात्र सेकिए।
न्याउलो र उनका छिमेकीसँगै हामी उकालो लाग्यौं। मेलेओडार पुग्यौं। पोहोरसम्म दलितले यहाँभन्दा माथि जान पाउँदैनथे। तर, दलितले पालेका घोडालाई यो अन्यायपूर्ण बन्देज स्वीकार्य थिएन। त्यसैले उनीहरू यो बन्देज तोडेर माथि उक्लिन्थे। आफूले होइन, आफ्ना घोडाले गरेको विद्रोहले दलितलाई सताउँथ्यो। ती घोडा गाउँ ल्याउन उनीहरूले माथिल्लो जातका मानिसलाई पाँच/सात हजार रुपैयाँ तिर्नुपर्थ्यो।
पुर्खौंपुर्खादेखि रहेको बन्देज तोड्न पाउँदा न्याउलो कामी सहित सबै दलित हर्षित थिए।
साँझ हामी दहबगरको थानपाटन बिर्याबखौलो पुग्यौं। त्यहाँ पुगेका सबैले रेडियोको समाचार सुने- 'संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय गणतन्त्र घोषणा गर्यो।' त्यही उपलक्ष्यमा त्यहाँ गाडिएको ठूलो पालमा उत्सव शुरू भयो। पालभित्रको वातावरण वर्णन गर्न ‘हाँसो खुशी’ जस्ता शब्दले मात्रै पुग्दैनथ्यो, उमङ्गै छाएको थियो।
तर, न्याउलो त्यस पाल बाहिर जाडोमा लुगलुग कामिरहेका थिए। रातसँगै जाडो बढ्यो, उनी पालभित्र छिर्न पाएनन्। पालभित्र जान मैले पटक पटक अनुरोध गर्दा पनि उनले कुनै प्रतिक्रिया जनाएनन्।
अरू वेला उनी हँसिला थिए, तर अहिले हाँसेका थिएनन्। मैले साथी जयधनलाई सोधें, “उनी पालभित्र किन नछिरेका?” जयधनले एकछिन टार्न खोजे, तर सकेनन्। भन्न करै लाग्यो- “ऊ दलित हो त्यसैले।”
समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिबाट म एक्कासि समुद्री सतहभन्दा तीन फिट तल भासिएँ। म आजसम्म समुद्र सतहदेखि तीन फिट तल मात्रै डुबेको छु। त्यहाँभन्दा तल नपुगेकाले त्यति मात्र भासिन सकें।
२०६२/६३ सालको जनआन्दोलनपछि नेपाल छुवाछूतको चलनबाट मुक्त भएको घोषणा गरिएको थियो। तर, दुई वर्ष पुरानो त्यो घोषणा र गणतन्त्रको तात्तातो घोषणा पालभित्रै रहे। दलित भएकाले न्याउलो कामी त्यो तातोमा रम्न पाएनन्। गणतन्त्रको तातोमा उनी जस्ता प्रायः सबै छुटे र थोरै मात्र सेकिए।
गणतन्त्र आउँदा देशै खुशी थियो। तर, यो खुशी न्याउलो कामीकहाँ पुगेन।
त्यति वेला मैले गणतन्त्रको माग सहित भएको माओवादी सशस्त्र युद्धका प्रथम शहीद वीरबहादुर रम्तेललाई सम्झिएँ, जो दलित थिए। अनि शहीदको सपना साकार पार्न सिंहदरबार छिरेका केही थान नेतालाई सम्झिएँ।
खुशियाली र उमङ्गले भरिएको पालभन्दा थोरै पर बेग्लै पालमा थिएँ म। न्याउलोलाई मेरो पालमा आउन अनुरोध गरें। उनी किन मान्थे र! उनलाई थाहा थियो- म जस्ता मानिस बस्ने पालमा पस्दा के सजाय भोग्नुपर्छ।
भोलिपल्ट तेन्यगोठको मुन्टो (डाँडो) मा पूजा गरेर सातु लेकको उकालो चढ्दै गर्दा उनीसँग फेरि गफिने मौका मिल्यो। उनले भने, “हामी त दलित। उनीहरूको पालभित्र जान पाउँदैनौं नि।”
“अझै यस्तो हुन्छ र?” मैले सोधेँ।
“आफ्नो आफ्नो चलन हो,” उनले यत्ति भने।
थप कुरा गर्नुपर्ला भनेर उनी हिउँ छिचोल्दै खुइँखुइँ उकालो लागे, मैले बोकेको भन्दा निकै गह्रुँगो भारी बोकेर। म उनी जति छिटो हिंड्न सकिनँ। सोचें, म जस्ता हिंड्न नसक्नेले चाहिं लेकमा जान मिल्ने तर मेरोभन्दा गह्रुँगो भारी बोकेर सजिलै हिंड्न सक्नेले जान नपाउने। कस्तो चलन?
यो मैले सोचेर हुने कुरा थिएन। दश वर्षे युद्धले पार लगाउन सकेको थिएन। उनलाई पाल बाहिरै बसाउने खासमा गणतन्त्रवादीहरू नै थिए।
सातुलेकको मुन्टोमा पुग्यौं। जयधन र टोलीले सातु लेकको मुन्टोमा पनि पूजाआजा गरे। “यहाँ पूजा गर्दा मनले मागेको कुरा पाइन्छ,” जयधनले भने, “मैले यार्सा धेरै पाइयोस् भनेर मागें।”
यहाँ पनि न्याउलोले पूजा गर्ने आँट गरेनन्।
पहिलो चोटि यहाँ पुगेकाले न्याउलो र उनका साथीलाई के कस्ता जोखिम छन् भन्ने थाहा छैन। जस्तै, हिउँले आँखा खान्छ भनेर। यो कुरा पहिल्यै थाहा भएको भए न्याउलोको टोलीका एक जना तन्नेरी सदस्यले आजै घर फर्कनुपर्ने थिएन, यार्सा टिपेको पैसाले कापी-कलम किनुँला भनेर पाटन आएकी १२/१४ वर्षकी बालिकालाई २२/२५ की आफन्तले सहारा दिएर हामी आएकै बाटो तल झार्नुपर्ने थिएन।
सातुको लेक कटेपछि बाटो र दिन दुवै ओरालो लागे। जयधनले हामीलाई सम्हालिएर छिटोछिटो हिंड्न लगाए। ओरालो बाटोमा हिंड्दा सम्हालिएन भने हिउँमा चिप्लिएर लडिन्छ। यसरी लडेको मानिसको लाश मात्रै भेटिए पनि खुशी मान्नुपर्छ। अनि दिन ओरालो लागेपछि कति वेला हावाहुन्डरी सहित हिउँ पर्छ, पत्तै हुँदैन।
हामीले सकिनसकी पाइला छिटो चाल्यौं।
केही बेर ओरालो झरेपछि अलि माथिबाटै यार्सा खोज्ने मानिस बस्ने पालका बस्ती नै देखिए। भर्खरै पाटन पस्न पाएका दलितहरूको बस्ती छुट्टै थियो- अप्ठ्यारो ठाउँमा, पानीको मुहानभन्दा टाढा।
म फेरि त्यो उचाइबाट मैले सोच्न मिल्नेसम्मको गहिराइमा खसें। दलितप्रतिको व्यवहार हिजो पनि अलग, आज पनि अलग!
जयधनका परिवारका मानिस निकै दिन अघि नै पाटन पुगेर बसिसकेका थिए। उनीहरू बसेको पालमा पुग्दा नपुग्दै खै कताबाट आएको हिउँपानीले हामीलाई आधासरो भिजायो। हामी हतार हतार पालभित्र छिर्यौं, पाल नै उडाउला कि जसरी आएको आँधी र त्यसपछिको शान्त हिउँको मज्जा लिंदै आगोमा सेकियौं।
थाकेको शरीर, यसै पनि खाना खान मन नलाग्ने। त्यसमाथि लेक पुग्दा खानेकुराको नाक लाग्ने (खानेकुरा गन्हाएर खान नसकिने) मेरो पुरानै रोग यहाँ पनि बल्झियो।
बाक्लिएको चिसो र पातलिएको अक्सिजन खाँदै मैले सुत्ने कोशिश गरें, जुन कोशिश मात्रै रहयो। गाउँ घुम्दा दलितमाथि भएका विभेद आँखामा नाचे। कास्कीमा सामुदायिक वन उपभोक्ता समूहमा दलितमाथि भएको विभेद सम्झिएँ। जुम्ला, पातरासीको तल्फी गाउँमा आरन चलाउने दलितहरूले कोइला ल्याउन भोगेको समस्या आँखामा झलझली नाच्यो। सिराहामा सिनो उठाउन नमान्दा भएको विवादको दृश्य बल्झियो।
उज्यालो हुन लाग्दासम्म पनि म सोचाइमा कतै बगेको थिएँ। तर, भावनामा बग्ने फुर्सद थिएन। मैले यार्सागुम्बा र यो टिप्न पहिलो पटक लेकसम्म जाने अनुमति पाएका दलितबारे भिडिओ रिपोर्ट बनाउन क्यामरा चलाउनुपर्ने थियो।
घमाइलो बिहान कुराकानी गरें, धनबहादुर विकसँग। यहाँ अर्को अचम्म भयो। आज धनबहादुरले पनि हिजो न्याउलो कामीले जस्तै गरी कुरा चपाए।
पहिला पहिला पनि आउनुहुन्थ्यो?
अँ, चिसो छ। आउनै नसक्ने।
त्यति धेरै पाइँदैन कीडा (यार्सागुम्बा)।
ल्याएको खर्चबर्च सकियो। अब तल झर्ने हो।
धनबहादुर तल झर्न लागेका थिए, थप रासनपानी र न्यानो कपडा लिन। यसअघि यार्सा टिप्न लेक आएको अनुभव भएको भए उनीहरूले आफू आउँदा नै आवश्यक सबै सामान ल्याउने थिए, तल जान र तलबाट माथि आउन लाग्ने समय तीन दिन जोगिने थियो।
दलितहरूलाई किन यसरी एक्ल्याइयो भन्ने कुरा धनबहादुर मात्रै होइन, दहबगर गाउँ विकास समितिको वडा नम्बर ९ का ३५ घरधुरी कसैलाई थाहा छैन। उनीहरूको बस्तीलाई छुट्टै वडा बनाइएको थियो। वरिपरि धामी र बोहोराहरूको बस्ती छ।
“भेदभाव गरेको कुरा दुनियाँले देखेकै छ। हामीले के भन्नु र?” दल्कोटका धनबहादुरले भने। हो, पहिला पहिला उनीहरूलाई भेरीकाँड र मेलेओडारभन्दा माथि जाने अनुमति थिएन। थानपाटन पस्दा त हामीले पनि जुत्ताचप्पल खोलेर जानुपर्थ्यो।
दलितहरूलाई किन यसरी एक्ल्याइयो भन्ने कुरा धनबहादुर मात्रै होइन, दहबगर गाउँ विकास समितिको वडा नम्बर ९ का ३५ घरधुरी कसैलाई थाहा छैन। उनीहरूको बस्तीलाई छुट्टै वडा बनाइएको थियो। वरिपरि धामी र बोहोराहरूको बस्ती छ।
'पवित्र भूमि' पस्दाका यस्ता अप्ठ्यारा अरूका लागि अलि पहिल्यै खुकुलो बनाइए, तर दलितका लागि यस्ता व्यवस्था अझै पनि वेलावेलामा मूर्च्छित हुँदै फेरि बौरिंदै गरिरहन्छन्।
बझाङ त्यही जिल्ला हो, जहाँ २०४६ सालको परिवर्तनपछि पनि उपल्लो मानिने जातका मानिसहरू आएपछि तल्लो भनिने जातका मानिसले बाटो छोडेर कान्लामुनि जानुपर्थ्यो। अनि जात अनुसार पानीका फरक फरक तीन तले धारा थिए। माथिल्लो जातले खाने, लुगा धुने र नुहाउने गरेर झरेको धारामा मात्र तल्लो जातका मानिसले खानेपानी थाप्न पाउँथे। अनि अझ तल्लोमा त्यहाँभन्दा पनि तलका जातिले।
यही वेला बझाङको अर्को भेगको लेकको सुर्मादेवी मन्दिरमा मेला लाग्नुभन्दा १५ दिन अघिदेखि नै छेउछाउका बाटामा दलित हिंड्न पाउँदैनथे।
“अहिले धेरै फेरियो, पहिला त हामीले गाईबाख्रा समेत पाल्न पाउँदैनथ्यौं। धामी र बोहोराका गाउँतिर जानै नहुने,” धनबहादुर यति भनेर तल झर्ने तरखरमा लागे।
मैले पनि लेकको बसाइ छोट्याएँ- यार्सागुम्बा टिप्न जाने नयाँ र पुरानो समूह र उनीहरूका साह्रा अप्ठ्यारालाई भिडिओमा खिचेर।
दुई रातको पाटन बसाइपछि हामी तल झर्ने वेला भयो। अस्ति गएको बाटो एकै दिनमा पार गरेर हामी ठाडै ओरालो दल्कोट पुग्यौं। माथिबाट वडा नम्बर ९ को दलित बस्ती पूरै देखियो। भोलिपल्ट म वडाध्यक्ष मन्ने कामीलाई भेट्न पुगें। मेरो आश थियो, वडालाई बजेट बराबरी बाँडिएको छ भनेको सुन्ने। तर मन्नेले अर्कै कुरा सुनाए, “वडा मात्रै छुट्याए, बजेट त सबै उनीहरूकैमा लान्छन्।”
मेरो एउटै आशा पनि निराशामा बदलिएपछि म लागें डोटीतिर। दुई दिनपछि दिपायल नजिकै भेटें प्रेम नेपालीलाई। उनी छुवाछूत विरुद्धको अभियानमा लागेको कुरा मैले काठमाडौंबाट हिंड्नुअघि नै थाहा पाएको थिएँ। भेटपछि थाहा भयो, उनको अभियान पनि निराशा उन्मुख रहेछ।
कानूनले छैन भनेको यो भेदभाव कसरी कायमै छ भनेर हामीले लामो कुराकानी गर्यौं। अन्त्यमा प्रेमले सुनाए, “तल्लो जातका नाममा गाउँ समुदायले सित्तैमा वा थोरै पैसोमा काम लगाए। घर र मन्दिर पस्न दिएनन्। राजनीति गर्नेले चाहिं त्योभन्दा ठूलो अपराध गरे। जहिले पनि मुक्तिको नारा दिए र दलितलाई ज्यान दिन हौस्याए। अन्त्यमा प्राप्त उपलब्धिमा आफू मात्रै रमाए, आफ्नो र आफन्तको रोटी मात्रै सेके।”