चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदै, प्रमुख दलका नेतासँग भेटवार्ता हुने
चिनियाँ विदेश मन्त्री वाङ यी ११ चैतमा नेपाल आउने भएका छन्।
परराष्ट्र मन्त्री नारायण खड्काको निम्तोमा वाङ तीनदिने नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका विषयमा विज्ञप्ति निकाल्दै मन्त्रालयले चिनियाँ विदेश मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने जनाएको छ।
परराष्ट्र मन्त्री खड्काले चिनियाँ समकक्षीसँग शनिबार द्विपक्षीय वार्ता गर्नेछन्। नेपालमा बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) को कार्यान्वयन, नेपाल-चीन रेलमार्गको विस्तृत अध्ययन लगायत विषयमा छलफल हुने अनुमान गरिएको छ। परराष्ट्र मन्त्रालयले भ्रमणमा छलफल हुने अजेन्डाबारे खुलाएको छैन।
चिनियाँ विदेशमन्त्री वाङले भ्रमणका दौरान नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्नेछन्। वाङ आइतबार फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि, सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि वाङ नेपाल आएका थिए।
नेपालमा अमेरिकी सहायता परियोजना एमसीसी कार्यान्वयनका लागि संसद्ले अनुमोदन गरे लगत्तै चिनियाँ विदेशमन्त्री वाङ आउन लागेका हुन्। यसले भूराजनीतिक सरगर्मी बढेको सङ्केत गरेको छ।