प्रहरीको मृत्युपछि लेटाङमा कर्फ्यू
विद्यार्थीले कोठामा थुनेका शिक्षकलाई सुरक्षित निकाल्ने क्रममा भएको झडपमा एक प्रहरी जवानको ज्यान गएपछि मोरङको लेटाङ नगरपालिकामा कर्फ्यू लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यू लगाएको हो। लेटाङमा विद्यार्थी र अभिभावकसँग झडप भएपछि विराटनगरबाट प्रहरी टोली खटिएको थियो। स्थानीय बासिन्दाको आक्रमणबाट त्यही टोलीमा रहेकी प्रहरी जवान उर्मिला श्रेष्ठको गएराति मृत्यु भएको हो।
स्थानीय शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले होलीका दिन विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो। आइतबार विद्यालयमा आएर बालिकाले गुनासो गरेपछि विद्यार्थी र अभिभावकले शिक्षक पौडेलको मोटरसाइकल जलाएर उनलाई विद्यालयमै थुनेका थिए।
उनलाई सकुशल निकालेर प्रहरीले एम्बुलेन्समा बाहिर लैजान लाग्दा स्थानीयले एम्बुलेन्स तोडफोड गरेका थिए। विराटनगरबाट गएको प्रहरी उपरीक्षक जनार्दन जिसीको टोलीले उनलाई बाहिर निकालेको थियो।
विद्यार्थी र अभिभावकले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। दिउँसो ३ बजेदेखि थुनेर राखेका शिक्षकलाई राति ९ बजे प्रहरीले उद्धार गरेको लेटाङ-५ का वडाध्यक्ष भुमसूर्य मगरले बताए।
मोरङका प्रहरी उपरीक्षक जिसीका अनुसार, ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले प्रहार गर्दा १९ जना प्रहरी घाइते भएका छन्। पाँच जना स्थानीय पनि घाइते भएका छन्। घाइते प्रहरीको विराटनगरस्थित कोशी अस्पतालमा र स्थानीय बासिन्दाको नोबेल अस्पताल उपचार भइरहेको छ।
थप तनाव नहोस् भनेर अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले भने, “प्रहरीलाई घाँटी र छातीमा छुरा प्रहार गरी हत्या गरेपछि कर्फ्यू लगाउनुपरेको हो।” लेटाङका वडा नंं ३, ४, ५ र ६ मा कर्फ्यू लागू गरिएको उनले बताए।