वैदेशिक रोजगारीको उज्यालो पाटो
सरकारले नियन्त्रण गर्न खोजे पनि वैदेशिक रोजगारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ।
मोरङमा बसोबास गरिरहेकी एकल महिला शारदा राईलाई प्राथमिक स्कूलको शिक्षण पेशाको आम्दानीले जीवनयापन गर्न गाह्रो पर्दै गयो। उनले थप आयका लागि विद्यार्थीलाई ट्यूसन पढाउन थालिन्। तर, त्यसले पनि उनको गर्जो टर्ने देखिएन।
त्यही वेला उनको भेट कुवेतमा जागीर लगाइदिने एक आफन्तसँग भयो। काम गर्न जान पैसा पनि खर्च नहुने। यो १८ वर्षअघिको कुरा हो। जतिखेर नेपालबाट घरेलु कामदारका लागि महिलाले विदेश जान पाउँदैनथे। अनि उनी म्यानपावरले तय गरेको दिल्लीको रूट हुँदै कुवेतका लागि उडिन्।
त्यतिखेर उनलाई विदेशबारे केही थाहा थिएन र वैदेशिक रोजगारीबारे पनि अनभिज्ञ थिइन्। उनलाई भाग्यले साथ दियो, किनभने रोजगार दिने कुवेतीले राम्रो व्यवहार गरे। र, उनलाई जे काम भनिएको थियो त्यही काम मिल्यो।
“वैदेशिक रोजगारले नै मलाई आर्थिक रूपमा आत्मनिर्भर बनायो। सक्षम त भएँ नै, समाजमा मलाई हेर्ने दृष्टिकोण पनि बदलिदियो”
“काम त राम्रै थियो, तर कतै जान नपाइने। आफूलाई कुरा गर्न मन लागेका वेला घरमा फोन गर्न पनि नपाइने। पैसा कमाए पनि बन्दी जस्तो भइयो,” कुवेतमा काम गर्दाका ती दिन सम्झँदै शारदा भन्छिन्। केही वर्ष कुवेतमा काम गरेपछि उनी नेपाल फर्किइन्।
नेपाल फर्किएपछि कुवेतको जस्तो राम्रो कमाइ भएन। छोरा र कान्छी बहिनीको पढाइका लागि खर्च जुटाउन गाह्रो पर्यो। उनले फेरि विदेश जाने सोच बनाइन्। यस पटक भने उनी घरेलु कामदारका रूपमा साउदी अरेबिया गइन्। उनले त्यहाँ साढे पाँच वर्ष काम गरिन्। त्यहाँबाट पर्यटक भिसामा दुबई पुगिन्।
त्यहाँ पनि उनले घरेलु कामदारको रूपमा काम गरिन् र २०७२ सालमा नेपाल फर्किइन्। उनले विदेशमा कमाएर पठाएको पैसाले नेपालमा छोराले शिक्षा हासिल गर्न सके र घरव्यवहार पनि सहज रूपमा चल्यो।
विदेशमा काम गरेका कारण उनले इन्टरनेट चलाउन सिकिन्। साथै नयाँ प्रविधि र आधुनिक घरायसी उपकरण चलाउन पनि सिकिन्। “वैदेशिक रोजगारले नै मलाई आर्थिक रूपमा आत्मनिर्भर बनायो। सक्षम त भएँ नै, समाजमा मलाई हेर्ने दृष्टिकोण पनि बदलिदियो,” उनी भन्छिन्, “विगतमा म जस्तो एकल महिलालाई समाजले हेला र दयाको भावले हेर्थ्यो, तर मेरो सन्दर्भमा त्यो अवस्था रहेन।”
सञ्चार माध्यममा घरेलु कामदारका रूपमा विदेश गएका महिला यो वा त्यो कारणले हिंसामा परेका समाचार बरोबर प्रकाशित भइरहन्थे। त्यस्ता घटना हुँदै नभएको पनि होइनन्, तर त्यस्ता कति महिला पनि छन् जसले वैदेशिक रोजगारमा गएका कारण आर्थिक समृद्धि र आत्मविश्वास हासिल गरेका छन्।
नेपालमा यसै पनि रोजगारी सिर्जना हुने क्रम न्यून छ। त्यस्तो अवस्थामा वैदेशिक रोजगारीले नेपाली महिलालाई आयआर्जन र सीप हासिल गर्न अवसर दिएको छ।
विदेशमा अनुभव हासिल गरेर फर्किएपछि महिलाहरूको आत्मविश्वास बढ्ने गरेको छ, जसले घर परिवार र समुदायमा सकारात्मक परिवर्तन र सबल लैङ्गिक उपस्थिति जनाउन सहयोग पुगेको छ।
“त्यतिका वर्ष विदेशमा काम गरे पनि मसँग ब्यांकमा टन्न पैसा छैन। तर, आत्मविश्वास भने राम्रै कमाएँ। छोराको पढाइका लागि, बहिनीको पढाइका लागि कसैको भर पर्नु परेन। त्यसमा मलाई आत्मसन्तोष छ,” उनी भन्छिन्। उनी अहिले मोरङको लेटाङ नगरपालिकामा मनोपरामर्शदाता तथा सामाजिक कार्यकर्ताका रूपमा कार्यरत छिन्।
वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई सहयोगी कार्यक्रम सञ्चालन गर्ने आप्रवासी महिला कामदार समूह (अम्कास) नेपालका विजयराज श्रेष्ठ भन्छन्, “महिलाहरू वैदेशिक रोजगारका लागि काठमाडौंबाट उडेसँगै समाजीकरण शुरू हुन्छ। उनीहरू नयाँ ठाउँमा पुग्छन् र नयाँ संस्कृतिलाई ग्रहण गर्न सिक्छन्।”
उनीहरूको पहिलो पाइला आर्थिक स्वतन्त्रतातर्फ उन्मुख हुन्छ। धेरैजसोले पहिलो पटक ब्यांक खाता खोल्छन्। “वैदेशिक रोजगारीबाट फर्किएसँगै उनीहरूले आर्थिक कारोबार आफैं सम्हाल्छन्,” श्रेष्ठ भन्छन्।
वैदेशिक रोजगारीबाट फर्किएकी शर्मिला लामाकी सासू क्यान्सरले ग्रस्त थिइन्। उनको श्रीमान्को कुनै काम थिएन। घर बाहाल बापत आउने आम्दानीले जसोतसो व्यवहार धानेको थियो। उनलाई आफ्ना दुई छोरीलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने लागिरहन्थ्यो भने सासूको उपचारको छुट्टै पीर थियो।
“छोरीहरूलाई छोडेर जाने मन थिएन, तर राम्रो भविष्यका लागि जानै पर्ने भयो,” लामा विगतका दिन सम्झिन्छन्। क्यासियरको काम पाएपछि उनी आठ वर्षअघि वैदेशिक रोजगारिका लागि उडेकी थिइन्।
विदेशमा काम गर्दा उनले ग्राहकसँग कसरी व्यवहार गर्ने भन्ने सिकिन्। काम गर्ने आत्मविश्वास हासिल गरिन् र चुनौतीहरूलाई सामना गर्ने साहस पनि बटुलिन्। नेपाल फर्किएपछि उनले महाराजगञ्जमा महिलाको जुत्ता, लुगा र अन्य सामान बेच्ने पसल चलाइरहेकी छन्।
कमाइ विना नेपाल फर्कने महिलाले समाजमा वैमनस्यताको शिकार हुनुपर्छ भने तिनको नैतिक चरित्रमाथि पनि प्रश्न उठाइन्छ। धेरैले फर्केर आएपछि काम पनि पाउँदैनन्।
वैदेशिक रोजगारबाट फर्किएका महिला पारिवारिक भूमिका तथा जिम्मेवारीमा मात्र होइन, सामाजिक भूमिकामा पनि अग्रसर देखिएका छन्। वैदेशिक रोजगारीमा गएका कारण लाग्ने गरेका अनेक लाञ्छना हटाउन पनि उनीहरूलाई सहयोग पुगेको छ।
१८ वर्षअघि श्रीमान् बेपत्ता हुँदा शोभा बानियाँलाई लाञ्छना लगाइएको थियो। एकातिर तीन सन्तानलाई हुर्काउने दबाब थियो भने अर्कोतिर परिस्थितिले दिएको मानसिक दबाब। अनि उनले घरेलु कामदारका रूपमा काम गर्न विदेश जाने तयारी थालिन्। शुरूआतमा उनी लेबनान गइन् र त्यहाँबाट मलेसियाको कम्पनीमा काम गर्न उडिन्।
“मैले घरमा नियमित रूपमा पैसा पठाएँ। मलाई जस्तो व्यवहार गरे पनि मेरा आफन्त बित्दा मैले अन्तिम क्रियाका लागि खर्च दिएँ,” बानियाँ विगतबारे बताउँछिन्। उनी चार वर्ष अघि मात्र नेपाल फर्किएकी हुन्।
वैदेशिक रोजगारमा गएका धेरै जसो महिला कामदारलाई रोजगारदाताले दुर्व्यवहार गरेका घटना छन्। ज्यालामा ठग्नु त आम प्रवृत्ति नै छ। कमाइ विना नेपाल फर्कने महिलाले समाजमा वैमनस्यताको शिकार हुनुपर्छ भने तिनको नैतिक चरित्रमाथि पनि प्रश्न उठाइन्छ। धेरैले फर्केर आएपछि काम पनि पाउँदैनन्।
शारदा राई कुवेतबाट फर्केर आउँदा उनको तौल निकै घटेको थियो। उनको अवस्थालाई लिएर गाउँलेहरूले एड्स रोग लागेको हुन सक्ने भन्दै गलत अफवाह फैलाए। “जसले जे भने पनि म हल्लाको पछि लागिनँ। आफ्नै काममा लागि रहें,” राई भन्छिन्।
शर्मिला लामाका श्रीमान्ले कतारमा हुँदा उनी विदेशीसँग सम्बन्धमा रहेको आरोप लगाए। परिवारका अन्य सदस्यले भने शारदाको पक्ष लिए। “म सबै प्रक्रिया पुर्याएर विदेश गएकी थिएँ। मैले सकेको राम्रो काम गरें। उत्कृष्ट क्यासियरको उपाधि पनि पाएँ,” उनी भन्छिन्, “कसैले आधारहीन आरोप लगायो भन्दैमा मैले घुँडा टेक्नुपर्ने आवश्यकता थिएन।”
“हामीले जे गरे पनि समाजमा महिलालाई सक्षम ठानिंदैन, तर समाज सधैं सही हुन्छ भन्ने पनि छैन। म समाजलाई गलत प्रमाण गरिदिन्छु। म समाजको त्यो बुझाइलाई चुनौती दिन चाहन्छु”
उता बानियाँले भने नेपाल फर्किएपछि काम खोजिन्। तर, केही सीप नलागेपछि उनले साहस गरेर सीटीईभीटीले दिने ३० दिने एक्जाभेटर अपरेटरको तालीम लिइन्। लिखित परीक्षा उत्तीर्ण भइन्। अबका केही दिनमा उनी ट्रायल परीक्षामा सहभागी भएर एक्जाभेटर अपरेटर हुने तयारीमा छिन्।
“हामीले जे गरे पनि समाजमा महिलालाई सक्षम ठानिंदैन, तर समाज सधैं सही हुन्छ भन्ने पनि छैन। म समाजलाई गलत प्रमाणित गरिदिन्छु। म समाजको त्यो बुझाइलाई चुनौती दिन चाहन्छु,” बानियाँ भन्छिन्, “अरूले जे भने पनि चूपचाप सहेर बस्ने पहिलाको जस्तो स्वभाव मेरो छैन। अहिले म आफ्नो लागि लड्न सक्छु र आफ्नो सुरक्षा पनि गर्न सक्छु।”
आप्रवासन र रेमिट्यान्सलाई प्रभावित पार्ने लैङ्गिक विभेद महिलाहरूले हरेक तहमा झेल्नुपर्ने हुन्छ। त्यस्तो विभेदलाई परिवार, समुदाय र राज्यले नै भरथेग गरिरहेको हुन्छ। नेपाली समाज अझैसम्म पितृसत्तात्मक सोचले ग्रसित छ, र महिलाप्रति पुरातन सोच राख्छ।
वैदेशिक रोजगारीमा गएर आएका तथा अभियन्ताहरूको गुनासो के छ भने सरकारले महिलालाई एकमुष्ट वैदेशिक रोजगारीमा प्रतिबन्ध लगाउँछ, तर देशमै रोजगारी उपलब्ध गराउन के गर्न सकिन्छ भन्ने वास्ता गर्दैन। त्यसो गर्नु ठीक हो र?
“वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरूमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अधिक छ। त्यस हिसाबले त पुरुषहरूलाई पो यात्रा प्रतिबन्ध लगाउनुपर्ने होइन र? महिलालाई किन? के देशका सबै नागरिकलाई कानून समान रूपमा लागू हुनुपर्ने होइन र?” विजय प्रश्न गर्छन्।
सरकारले महिलालाई घरेलु कामदारका रूपमा विदेश जान रोक लगाउँदा खुला सिमानाको फाइदा उठाउँदै उनीहरू भारत जाने र त्यहाँबाट तेस्रो मुलुक वा पर्यटन भिसामा विदेशिने गरेका छन्। यसले त महिला झन् बढी जोखिममा पार्ने गरेको छ। यसरी बाहिरिंदा उनीहरूको यात्रा विवरण र जानकारी कतै पनि रेकर्ड हुँदैन।
“वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरूमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अधिक छ। त्यस हिसाबले त पुरुषहरूलाई पो यात्रा प्रतिबन्ध लगाउनुपर्ने होइन र?”
सरकारले गर्ने भनेकै निर्देशिका जारी गर्ने हो। सरकारले हाल जारी गरेको वैदेशिक रोजगारीको प्रतिबन्धात्मक निर्देशिका तथा भिजिट भिसामा गरेको थप कडाइले समाधान होइन, समस्या मात्र बढाउने सरोकारवाला बताउँछन्।
महिलाले विदेशिनका लागि अनुगमन र नियमन हुन नसक्ने अनौपचारिक मार्ग पछ्याउँदा उनीहरू दुर्व्यवहार र जोखिममा पर्न सक्ने अवस्था आउँछ। त्यस्ता अवस्थामा नेपालको दूतावासले उनीहरूसम्म पहुँच स्थापित गर्न सक्दैन। साथै, अनौपचारिक तवरबाट वैदेशिक रोजगारीमा जाँदा कल्याणकारी प्रावधान र क्षतिपूर्तिबाट पनि वञ्चित हुनुपर्छ।
“महिलाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्नु मात्र उपयुक्त विकल्प होइन, बरु सरकारले कल्याणकारी तथा संरक्षणकारी सोचबाट सशक्तीकरणतर्फ अघि बढ्नुपर्छ,” अन्तर्राष्ट्रिय संस्था नेपाल पोलिसी इन्स्टिच्यूटकी सरु जोशी बताउँछिन्।
वर्षौंसम्म महिला कामदारको अभिलेखीकरण गर्ने नीति नै नबनेकाले नीतिनिर्माण तहमा रहेकाहरूको दृष्टिबाट महिला कामदार ओझेलमा परिरहे। तर, कमजोर पक्षमा मात्र केन्द्रित हुँदा समग्र कामदारमाथि अन्याय हुन जाने अभियन्ता बताउँछन्। “आप्रवासनमा रहेको ठूलो पक्ष जुन ओझेलमा परेको छ, उनीहरूमाथि सरकारले दृष्टि दिनै सकेको छैन। अनि उनीहरूलाई सम्बोधन गर्ने खालका दीर्घकालीन सोच पनि विकास गर्न गर्न सकेको छैन,” जोशी भन्छन्।
वैदेशिक रोजगारीका एजेन्ट सम्भावित कामदारको घरदैलोमै पुगेका छन्, तर सरकारले भने उनीहरूसम्म आफ्नो पहुँच बनाउन सकेकै छैन। रोजगारीमा जान चाहने सम्भाावित व्यक्तिहरूले आफूले विदेशमा गर्ने कामको ज्ञान र तालीम लिनु अपरिहार्य छ। त्यो नै विदेश जानुअघि गर्नुपर्ने तयारी हो। तर, त्यसो हुन सकेको छैन।
“एक दशकको अनुभवका आधारमा मलाई के लाग्छ भने कामदारका रूपमा हामीले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ,” शारदा राई भन्छिन्, “महिलाको हकमा त्यो तालीम मार्फत मात्र सम्भव देखिन्छ। अनि मात्र विदेश जानुअघि कस्तो काम गर्नुपर्ने हो र कामको प्रकृति के हो भन्ने बुझ्न सकिन्छ। यदि राज्यले त्यसो गर्न सक्दैन भने नेपालमै मर्यादित र सुरक्षित रोजगारीको सुनिश्चत गर्नुपर्यो नि,” उनी भन्छिन्।
वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई परिचालन गर्नु पनि अर्को विकल्प हो। उनीहरूले वैदेशिक रोजगारको गाह्रोसाह्रो पनि बुझेका हुन्छन् र आफू कसरी सुरक्षित र स्वतन्त्र हुन सकिन्छ भन्ने पनि बुझेका हुन्छन्। उनीहरूलाई परिचालन गर्नु भनेको स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई रोजगारी दिनु मात्र होइन, सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको प्रभावकारी उपाय पनि हो।
“वैदेशिक रोजगारी आप्रवासन सम्बन्धी यथार्थ चित्र प्रस्तुत गर्न अझै बाँकी रहे झैं देखिन्छ र सरकारले समग्र वैदेशिक श्रमिकहरूका अधिकार कसरी प्रत्याभूत गर्न सकिन्छ भन्ने विषयमा पनि काम गर्न बाँकी छ,” जोशी भन्छिन्, “सम्बन्धित निकायले आफ्नो जिम्मेवारीबारे सचेत हुनुपर्ने र सहकार्यका लागि अन्य सरकारी निकायसँग समन्वय गर्नुपर्ने पनि अत्यन्तै आवश्यक छ।”
यो सामग्री अङ्ग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।