अवसरले उजिल्याएको जीवन
‘गोरखा दल’ को नाममा भरतशमशेरले जनतालाई आतङ्कित बनाएपछि त्यस विरुद्ध ‘रक्षा दल’ बाट प्रतिकार गरिएको थियो। तर, यस आत्मकथामा अलि फरक तरीकाले कुरा आएको छ।
आम नेपालीको हुर्काइबढाइ गरीबी र असुबिस्ताबीच कठिन परिस्थितिमा हुने गर्छ। यही पृष्ठभूूमिबाट अघि बढेर कसैले जीवनमा फड्को मार्छन्, कोही सङ्घर्षकै दौरान थाक्छन् वा पलायन हुुन्छन्। भुइँ तहका जनतालाई राणा शासनकाल र प्रजातन्त्र प्राप्तिपछिको सेरोफेरोमा शिक्षा प्राप्ति झन् सुदूर सपना नै थियो।
सन्तानलाई पढाउने चलन खासै नरहेको त्यो समयमा ललितपुरको नेवार परिवारका शान्तलाल मुल्मीले सहजै शिक्षा आर्जनको अवसर पाए। पिता रुद्रलाल मुल्मी शिक्षित र गान्धीवादी सामाजिक अभियन्ता हुनुको कारण ज्ञानको ढोका उनका लागि दुर्लभ भएन। यही अवसरले भरिएको जीवनयात्राको समुच्च बयान हो सामाजिक अभियन्ता शान्तलालको आत्मकथा मभित्रको म। पुस्तकमा उनीसँग जोडिएका अवसरको फेहरिस्त मात्र छैन, नेपाली समाज विज्ञान बुझ्ने सन्दर्भहरू पनि प्रशस्त छन्।
पिता रुद्रलालमा प्रजातन्त्रप्रतिको भोक कति थियो भने, २००७ सालको क्रान्तिअघि राजनीतिक सरसम्बन्ध र सक्रियता तीव्र बनाएका थिए। राजनीतिक व्यक्तिहरूको आउजाउले ललितपुर कोबहालस्थित उनको घर नै जागरणको एउटा केन्द्र र ‘सेल्टर’ समेत बनेको थियो। यस्तो चेतनाको वातावरणमा हुर्कन पाएका शान्तलालले बाल्यकालदेखि नै धेरै कुरा देख्ने र सिक्ने अवसर पाए।
सात सालको क्रान्तिले सत्ता ढालेपछि तिलमिलाएका राणाहरूले लुटपाट सहित आतङ्क मच्चाएको कुरा विभिन्न सन्दर्भमा पढ्न पाइन्छ। ‘गोरखा दल’ को नाममा भरतशमशेरले जनतालाई आतङ्कित बनाएपछि त्यस विरुद्ध ‘रक्षा दल’ बाट प्रतिकार गरिएको थियो। तर, यस आत्मकथामा अलि फरक तरीकाले कुरा आएको छ। यहाँ त्यसरी आतङ्कित पार्ने काम नेपाली कांग्रेसको मुक्ति सेनाबाट भएको उल्लेख छ।
राम्रो शिक्षा, जोशजाँगर र सम्पर्कको पूँजी मार्फत अगाडि बढेका शान्तलालले एउटा कामको अनुभवबाट अर्कोमा फड्को मार्दै गए।
शान्तलाल लेख्छन्, ‘काठमाडौंको ठाउँ-ठाउँमा लुटपाट हुनुका साथै उपत्यकाका किसानहरूको तरकारी बारी समेत लुट्ने काम भइरह्यो। त्यस अत्याचार विरुद्ध मेरा पिताजीले अरूको पनि सहयोग लिएर शान्ति स्वयंसेवक सङ्घ नामक सङ्गठन खोली कांग्रेसी मुक्ति सेनाबाट भएका ती अत्याचारको अभिलेख तयार गर्दै तत्कालीन गृहमन्त्री बीपी कोइरालालाई दिने गरेको कुरा मेरो बाल्यकालकै एक अविस्मरणीय घटना थियो।’ यो वर्णनले मुक्ति सेना पनि विचलित भएको थियो कि भन्ने शङ्का गर्ने ठाउँ दिन्छ।
शान्तलालले १२ वर्षको उमेरमै जीवनको पहिलो जागीर रेडियो नेपालमा खाए। रेडियोमा साप्ताहिक बाल कार्यक्रम चलाउने ईश्वरप्रसाद श्रेष्ठ आफ्नै टोलका थिए र काममा लगाउन बुबाले नै कुरा गरिदिएपछि त्यहाँ पाँच वर्ष रहँदा उनले कार्यक्रम प्रस्तोता सहित अनेक भूमिकामा काम गरे। त्यसपछि त्रि-चन्द्र कलेजमा विज्ञान पढ्न गएका उनी विद्यार्थी राजनीतिमा प्रवेश गरे। जननिर्वाचित सरकारलाई २०१७ सालमा राजा महेन्द्रले अपदस्थ गर्दा त्यसको प्रतिकार गर्न अघि सर्ने युवामध्ये उनी पनि एक थिए। पछि भने उनी राजनीतिबाट सामाजिक कार्यमा मोडिए।
त्रि-चन्द्र कलेजमा अध्ययनसँगै उनले गान्धी आदर्श विद्यालय (काँडाघारी) मा पढाउन थाले। पिता रुद्रलालले २०१९ सालदेखि सञ्चालन गरेका उक्त विद्यालयमा प्रवेश पाउनु पनि एउटा अवसर नै थियो। उनले आफ्नो क्षमता सावित गर्दै सह-प्रधानाध्यापकसम्मको जिम्मेवारी पाएका थिए।
सन् १९७० को दशकमा नेपाल आएका अमेरिकी स्वयंसेवी संस्था पिस कोरका स्वयंसेवक सहित नेपालका विभिन्न परियोजनामा काम गर्ने विदेशीहरूलाई उनले नेपाली भाषा पढाए। विदेशीहरूसँग सरसम्पर्क बढ्दै जाँदा सेभ द चिल्ड्रेनका प्रमुख माइक प्रोसरसँग उनको मित्रता झाँगियो। अन्ततः नेपाली बालबालिकाका लागि शिक्षा प्रदान गर्ने योजनाका लागि सन् १९८० मा उक्त संस्थाको शिक्षा प्रमुखमा नियुक्त भए।
राम्रो शिक्षा, जोशजाँगर र सम्पर्कको पूँजी मार्फत अगाडि बढेका शान्तलालले एउटा कामको अनुभवबाट अर्कोमा फड्को मार्दै गए। विभिन्न अन्तर्राष्ट्रिय संस्थामा आबद्ध भएर काम गरे पनि उनले विदेशमा आकर्षक सुविधा सहित काम गर्ने प्रस्ताव आउँदा भने स्वीकार गरेनन्।
आत्मकथाले व्यक्तिको कथा मात्रै नभनेर नेपाली समाज र सङ्घसंस्थाको जानकारी पनि दिएका कारण तत्कालीन नेपाल बुझ्न केही सघाउँछ। गैरसरकारी संस्था महासङ्घ गठनको पृष्ठभूमि खोतल्ने क्रममा उनी पञ्चायती व्यवस्थाको चरित्रकै शल्यक्रिया गर्न पुग्छन्।
पिताको पदचाप र सङ्गति पछ्याउने क्रममा शान्तलाल पत्रकारितामा जोडिए, लेखक-साहित्यकारमाझ पनि घुलमिल हुन पुगे।
पञ्चायत कालमा सङ्घसंस्थाहरूसँग समन्वय गर्ने नाममा सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को गठन गरिएको थियो। सबै कुरा राज्यको नियन्त्रणमा राख्ने क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामाथि पकड जमाउने तथा तिनको स्रोतमाथि समेत वर्चस्व कायम गर्न गठित परिषद्को अध्यक्षता शुरूदेखि नै रानी ऐश्वर्यले गरेकी थिइन्।
२०४६ सालको जनआन्दोलनका मागहरूमध्ये परिषद्लाई स्वतन्त्र बनाउनुपर्छ भन्ने पनि थियो। त्यस अवस्थामा रानी ऐश्वर्यले परिषद्को बैठक बोलाएर आफूमाथि विभिन्न आक्षेप लागेकोमा दुःख मनाउ गर्दै परिषद्को अध्यक्ष पद त्यागेको प्रसङ्ग उक्त बैठकमा अक्सफामका तर्फबाट सहभागी शान्तलालले लेखेका छन्।
परिषद्को अध्यक्षता रानीबाट जनताको प्रतिनिधिमा सरे पनि जनआन्दोलनको भावना अनुसार परिषद्को नीतिनियममा कुनै सुधार आएन। यसबारे छलफल गर्न ४४ वटा संस्थाको दुईदिने गोष्ठी गरी गैरसरकारी संस्थाहरूको स्वतन्त्रता र स्वायत्तता रक्षाका लागि एक महासङ्घको आवश्यकता रहेको ठहर गरी गैरसरकारी संस्था महासङ्घको गठन भयो। यसको नेतृत्वमा बसेर शान्तलालले १० वर्ष काम गरे।
कामको सिलसिलामा विदेश जाँदाका प्रसङ्ग मात्र होइन, देशका विभिन्न गाउँठाउँमा पुग्दाका रमाइला घटना पनि उनले पुस्तकमा समेटेका छन्। कुनै गाउँ जाँदा एक रात गोठमा सुत्नुपर्यो। गाईको पिसाब उछिट्टिएर उनको मुखमा छिटा पर्यो र नाकमुखमा भुसुना पस्यो। तर, महात्मा गान्धीको विचारबाट प्रभावित उनी गाउँघरमा जनताका लागि काम गर्दा यस्ता परिस्थितिलाई सामान्य रूपमा लिनुपर्ने भनी बोध गरेको पनि स्मरण गर्छन्।
सुर्ती नियन्त्रण र नियमन ऐन, ध्वनि प्रदूषणमुक्त काठमाडौं, सवारी साधनमुक्त ठमेल लगायत कैयौं सामाजिक आन्दोलन तथा अभियानमा शान्तलालको अग्रणी भूमिका छ। विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका उनले ती कार्यक्रममा जाँदाको कतिपय रोचक प्रसङ्ग पनि आत्मकथामा सविस्तार लेखेका छन्।
पुस्तकले तात्कालिक सामाजिक जीवनसँगै संस्कृति, साहित्यिक गतिविधिको पनि चिनारी दिन्छ। पिताको पदचाप र सङ्गति पछ्याउने क्रममा शान्तलाल पत्रकारितामा जोडिए, लेखक-साहित्यकारमाझ पनि घुलमिल हुन पुगे। समग्रमा उनले अवसर नै अवसर पाए। नेपाली समाजमा परिवारको आर्थिक सीमा, परिबन्द तथा सामाजिक रोकटोकका कारण कैयौं प्रतिभा कलिलैमा निमोठिने गरेको सन्दर्भमा उनले प्रतिभाको वधशाला बाहिर फक्रिन र फैलिन पाए। यस्तो अवसर पाउनुमा परिवारको आर्थिक, शैक्षिक पृष्ठभूमिको देन भएकाले मभित्रको म शान्तलालको आत्मकथा भए पनि उनी मार्फत पिता रुद्रलालको आदर्श र विचारधारा पनि अभिव्यक्त भएको छ।
पुस्तक: मभित्रको म, प्रकाशक: छत्रलक्ष्मी-रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठान, पृष्ठ: १९५, मूल्य: २५०