प्रधानमन्त्रीद्वारा देशकै दोस्रो ठूलो सबस्टेशनको उद्घाटन
प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको शनिबार उद्घाटन गरेका छन्।
रामेछापको मन्थली नगरपालिका-१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेशनको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन्। सबस्टेशन स्वदेशी पूँजीमा निर्माण भएको ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो। माथिल्लो तामाकोशी आयोजनाले नै निर्माण गरेको सबस्टेशन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सबस्टेशन हो।
तामाकोशी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सबस्टेशनबाट करीब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेशनमा जोडिएको छ। माथिल्लो तामाकोशीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत् यही सबस्टेशनमा जोडिएको छ।
त्यस्तै, नयाँ खिम्ती सबस्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित ४००/२२०/१३२ केभी सबस्टेशनमा लगिएको छ। ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व-पश्चिम पठाइएको छ भने बढी भएको विद्युत् ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत भारततर्फ निर्यात गरिएको छ।
नयाँ खिम्ती सबस्टेशनबाट ४६ किमी लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघुस्थित १३२ केभी सबस्टेशन हुँदै काठमाडौं उपत्यका सहित नेपालको राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत् प्रवाह भइरहेको छ। नयाँ खिम्ती सबस्टेशनमा आठ वटा २२० केभी ग्यास इन्सुलेटेट स्विचगियर बे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्विचगियर बे छन्।
साथै, सबस्टेशनमा २२०/१३२ केभी, ३३.३३ एमभिए क्षमताको चारवटा पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ। करीब १३७ रोपनी क्षेत्रफल रहेको सबस्टेशनमा हाल करीब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेशन निर्माण भएको छ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो।