ओस्कर ‘राजनीति’
अमेरिकी संस्कृति र शैली संसारभर निर्यात गर्न खोजेको आरोप खेप्दै आएको ओस्कर अवार्डले विश्वका लागि जति ढोका खोल्दै छ, यस मार्फत आफ्नो छनोट र रुचिका कुरा विस्तार गर्दै प्रभाव समेत बढाइरहेको छ। यस वर्षको ओस्कर अवार्ड वितरण समारोह १४ चैत अर्थात २८ मार्चमा आयोजना हुँदै छ।
सिनेमा वा संस्कृति राजनीतिको अभिन्न अङ्ग मात्रै होइन, कुनै वेला सबभन्दा दह्रो हतियार हुन्छ। सिनेमाको राजनीति आफ्नो ठाउँमा छ, अमेरिकी फिल्म अवार्ड ओस्करको सन्दर्भमा राजनीति विभिन्न रूपमा जोडिने गरेको छ।
स्लमडग मिलेनियरले एकेडेमी अवार्ड्स (ओस्कर) को ८१औं संस्करण (सन् २००९) मा उत्कृष्ट फिल्म सहितका अवार्ड जित्यो। भारतको शहरी गरीबी देखाउने यो फिल्मले ओस्कर पाएपछि केही प्रश्न व्यापक रूपमा उठे- ‘के पश्चिम, खास गरी अमेरिका आफ्नो भाषा, खाना, संस्कृति, धर्म र विचारको प्रचारप्रसारमा फिल्मको प्रयोग गर्छ?’, ‘पृथ्वीको अर्को गोलार्द्धका मानिसको गरीबीको महिमा मण्डन गर्छ?’ त्यसभन्दा पहिले सत्यजित रे लगायतका फिल्मले यूरोपका फिल्म महोत्सवहरूमा पाएको महत्त्वका विषयमा पनि ‘गरीबीको अतिरञ्जना’ को प्रश्न उठाउने गरिन्थ्यो।
राजनीतिक रूपले विभाजित विश्वमा अमेरिका प्रायः जुनसुकै बहसमा अलग पक्षकै रूपमा देखिने गरेको छ। चाहे त्यो अरब देशमा स्वतन्त्रता ल्याउने सवालमा होस्, चाहे चीन र रूसलाई लोकतान्त्रिक बनाउने वा तिनको बढ्दो अर्थतन्त्रका कारण पैदा हुने डरका सवालमा होस् अथवा तेल र ग्यासको मूल्य निर्धारणमै किन नहोस्। यस्तोमा कस्ता फिल्म राम्रा हुन् भन्ने सवालमा संसारकै सबभन्दा ठूलो फिल्म उद्योग हलिउड मौन रहने कुनै भएन।
शुरूमै भनौं, ओस्कर सिनेमाको गुणवत्ता तौलिने तराजु होइन। तर, यसले आफ्नो वजन संसारलाई देखाउँदै आएको छ। यूरोप तथा एशियाका ठूला फिल्म महोत्सवले प्रशस्त चर्चा पाए पनि ओस्कर जति व्यापकता पाउन सकेका छैनन्।
अमेरिकी फिल्म उद्योगले ओस्कर अवार्डका माध्यमबाट संसारलाई हरेक वर्ष आफ्नो श्रेष्ठता प्रकट गर्छ। र, त्यो श्रेष्ठता अझै धेरै फैलियोस् भनेर यसमा अन्य देशका फिल्मलाई पनि सामेल गर्छ। सन् १९५६ देखि ओस्करमा उत्कृष्ट विदेशी भाषाको फिल्मलाई अवार्ड दिन थालिएको थियो। यो विधा अहिले ‘अन्तर्राष्ट्रिय फिचर’ का रूपमा छ। पछिल्ला वर्ष भने यो विधामा मनोनयनमा आएका फिल्मलाई अन्य मुख्य विधामा पनि प्रतिस्पर्धीका रूपमा सामेल गर्न थालिएको छ।
कोरियाली भाषाको फिल्म पारासाइटले उत्कृष्ट फिल्म र निर्देशक सहितका विधामा सन् २०२० को ओस्कर जितेपछि यस्तो परिवर्तन देखिएको हो। यस वर्ष जापानी भाषाको फिल्म ड्राइभ माई कार पनि उत्कृष्ट फिल्मको विधामा प्रतिस्पर्धी छ। पहिले अङ्ग्रेजी इतर भाषाका फिल्मले यो मुख्य विधामा प्रतिस्पर्धाको मौका खासै पाउँदैनथे।
अब जाऔं, माथिका प्रश्नमा। आफ्नो विचार, भाषा, संस्कृति र सभ्यता संसारभर फैलियोस् भनेर कसले चाहँदैन? हाम्रो अर्थतन्त्र ठूलो भएको भए, हामी प्रविधिमा उन्नत स्तरमा पुगेको भए र हाम्रा राजनीतिक खेलाडीहरू संसारका ठूला मञ्चमा पुगेका भए हाम्रो भाषा र संस्कृतिको प्रचार होस् भन्ने पनि चाहँदैनथ्यौं र? त्यही चाहना शक्तिशाली देशहरूले राख्छन् र सके जति प्रयास गर्छन्, आआफ्नो शैलीमा। अहिलेको सन्दर्भमा अमेरिकासँग त्यो शक्ति र त्यसलाई फैलाउने उपायहरू छन्।
हलिउडले अमेरिकी समाजका, अमेरिकी सपना र आशाका कथा वाचन गर्दै आएको छ। अत्यधिक आप्रवासीले भरिएको अमेरिकालाई एउटा सूत्रमा बाँध्न र एउटा सग्लो समाजको आकार दिन हलिउडले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको कुरा समीक्षक तथा उडी एलन र स्टिभन स्पिलवर्ग जस्ता फिल्म निर्देशकहरूले मान्दै आएका छन्। ओस्करले चाहिं अमेरिकी फिल्मको त्यही विशेषतालाई संसारभर झन् फैलाउन मद्दत गर्छ।
हरेक अवार्डले आफ्नो छनोट मार्फत आफ्ना मान्यता र मूल्यपद्धतिको पक्षमा पैरवी गर्छ। यस्तै, फलानो फलानो उत्कृष्ट हुन् भनेर गरिने घोषणाले त्यसलाई पछ्याउनेहरूमाझ मापदण्डको काम गर्छ। यो सन्दर्भमा हेर्दा ओस्करको प्रसिद्धि र प्रचार जति बढ्छ, यसका छनोटको बजार त्यति विस्तार हुन्छ। जस्तै, ओस्करमा पारासाइटले उत्कृष्ट फिल्म जित्दा एकातिर संसारभर कोरियन फिल्मको बजार प्रवर्द्धन भयो भने अर्कातिर त्यो शैलीको फिल्मबारे जिज्ञासा बढायो। अन्य कोरियन फिल्मभन्दा यसले अधिक दर्शक पायो।
केही वर्षअघि ओस्करमा अभिनय विधामा एक जना पनि अश्वेत कलाकार मनोनयनमा परेनन्। त्यति वेला ‘ओस्कर इज सो ह्वाइट’ भन्ने ह्यासट्याग चल्यो। यसले ओस्करलाई समावेशी बनाउन ठूलो दबाब पर्यो। लगत्तै ओस्करले आफ्नो एकेडेमी सदस्यमा अश्वेतहरूको ठूलो सङ्ख्या थप गर्यो। एकेडेमीका सदस्यहरूको भोटबाट यो अवार्ड विजेता छनोट गरिन्छ। तर, यूरोपका ठूला फिल्म महोत्सवहरू कान्स, बर्लिन तथा भेनिस लगायतले हरेक वर्ष जुरी गठन गर्छन्।
प्रायः सात जना फिल्ममेकर, कलाकार/प्राविधिक तथा समीक्षक सदस्य रहने जुरीले पुरस्कार विजेता छनोट गर्छ। पुरस्कृत हुने विधामा पनि त्यो अन्तर हुन्छ। प्रायः महोत्सवले मुख्य पुरस्कारका लागि फिल्म, निर्देशक, अभिनय, पटकथा, सम्पादन जस्ता सात-आठ विधामा मात्रै अवार्ड दिन्छन्। तर, ओस्करले अभिनयमै चार वटा विधा (उत्कृष्ट/सह अभिनेता र अभिनेत्री) मा पुरस्कार दिन्छ भने पटकथामा दुई वटा।
यसबाट पनि यो अवार्डले कुन कुरालाई महत्त्व दिइरहेको छ भन्ने थाहा पाइन्छ। बर्लिन फिल्म फेस्टिभलले भने दुई वर्षअघि अभिनयतर्फ लिङ्गका आधारमा नछुट्याई मुख्य र सहायक भूमिकामा उत्कृष्ट कलाकार भनेर अवार्ड दिन शुरू गर्यो। कुनै वर्ष अभिनयका दुवै विधामा महिलाले वा कुनै वर्ष पुरुष कलाकारले मात्र अवार्ड जित्न सक्छन्। यो मान्यता अँगालेर बर्लिनले अभिनयमा लिङ्गका आधारमा उत्कृष्टता हेर्नु हुँदैन भन्ने कुरामा जोड दियो।
एकातिर ओस्करले अमेरिका/हलिउडको श्रेष्ठताको डङ्का पिट्छ भने अर्कातिर यही विचार पद्धति र सौन्दर्य चिन्तनतर्फ संसारको ध्यान आकृष्ट गरिरहेको छ। हलिउड सिनेमा, ओस्कर अवार्ड, अमेरिकी सङ्गीत, ग्रामी अवार्ड तथा साहित्यका पुरस्कार सफ्ट पावर (सौम्य शक्ति) हुन्। यिनले मानिसको सोच्ने तरीका र आयाम बदल्ने गरी प्रभाव पारिरहेका हुन्छन्।
संसारमा अर्थतन्त्र, सेना जस्ता ‘हार्ड पावर’ (शौर्य शक्ति) को तुलनामा सौम्य शक्तिको बजार र प्रभाव निरन्तर बढ्दो छ। कला, सिनेमा, साहित्य, सङ्गीत जस्ता विधामा फैलिइरहेको सौम्य शक्तिलाई पछिल्ला वर्षहरूमा स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जालले धेरै गुणा बढाइदिएका छन्।
फैलिंदो घेरो
शीतयुद्धको समाप्ति र सोभियत सङ्घको पतनपछि अमेरिका संसारको ‘सुपर पावर’ रहँदै आएको छ। त्यससँगै हलिउड फिल्मको पनि विश्वव्यापी यात्रा व्यापक भयो। एशियाका जापान, हङकङ र कोरिया हलिउड फिल्मका ठूला बजारका रूपमा देखिए। पछिल्लो समय चीन पनि यसमा अगाडि बढ्दो छ। आफ्नै भाषा, साहित्य र सिनेमा उद्योग भएका यी ठूला बजारमा हलिउडको बढ्दो उपस्थितिले यसको शक्तिलाई झन् व्यापक बनाइरहेको छ भने अर्कातिर एशियाली, खास गरी कोरियाली कलाकार पनि ‘ग्लोबल’ भइरहेका छन्।
यस वर्षको ९४औं ओस्करमा जापानदेखि मेक्सिकोसम्मका निर्देशकका फिल्म मुख्य प्रतिस्पर्धाका लागि छनोटमा परेका छन्। विजेताको छनोट १० हजार हाराहारी रहेका सदस्यको मतबाट हुनेछ। एकेडेमीका सदस्य प्रायः हलिउडका निर्माता, निर्देशक, कलाकार, प्राविधिक हुने गर्छन्। यसमा पत्रकार र समीक्षकलाई सदस्यता दिइएको छैन। यिनले बाहिरै बसेर एकेडेमीलाई प्रभावित पार्छन्। ‘हलिउड’ अमूर्त शब्द जस्तो सुनिए पनि यसलाई मूर्तता दिने काम केही कम्पनी र स्टुडियोले गर्छन्।
हलिउडमा ६ वटा स्टुडियो/कम्पनीलाई ‘मुख्य’ मानिन्छ- डिज्ने, वार्नर ब्रदर्स, सोनी, पारामाउन्ट, युनिभर्सल र अहिले नेटफ्लिक्स। एक हिसाबले हलिउडको मुख्य धार भनेको यिनै कम्पनी र तिनका उत्पादन हुन्। हरेक वर्ष स्वतन्त्र रूपमा फिल्म निर्माण गर्ने निर्माता तथा साना कम्पनीले पनि प्रभाव पारिरहेका भने हुन्छन्।
यस वर्ष पनि नेटफ्लिक्सका दुई फिल्म ओस्करमा उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा छन्- द पावर अफ द डग र डोन्ट लुक अप। दुवै फिल्म अवार्डको मुख्य दाबेदार मानिएका छन्। जलवायु परिवर्तन जस्तो अहिलेको जल्दोबल्दो विषय उठाउने, ओस्कर विजेताहरू (लियोनार्दो डिक्याप्रियो, मेरिल स्ट्रिप, जेनिफर लरेन्स, केट ब्लान्चेट) अभिनीत डोन्ट लुक अप यसै चर्चामा छ।
गैरअङ्ग्रेजीभाषीका लागि भने ओस्करमा ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको महत्त्व बढी हुने गरेको छ। यसका लागि संसारका धेरै देशमा फिल्म सिफारिश गर्ने ओस्कर कमिटी गठन गरिएका छन्। नेपालमा पनि यस्तो कमिटीले फिल्म पठाउने गरेको छ। यसपालि अन्तर्राष्ट्रिय फिचरमा हाम्रो नजिकैको देश भुटानको फिल्म लुनानाः अ याक इन द क्लासरुम पनि प्रतिस्पर्धामा छ। यो भुटानका तर्फबाट ओस्करमा मनोनीत दोस्रो फिल्म हो।
नेपालभन्दा धेरै कम जनसङ्ख्या र सानो भूगोल भएको भुटानले यसपालि छलाङ नै मारेको मानिएको छ। लुनानाको मनोनयन किन पनि विशेष छ भने यसले कुनै चमत्कारभन्दा पनि जीवनका मौलिक कथा र सरल कथावाचनको शैलीलाई प्रोत्साहन गर्छ। हुन त, हलिउडलाई यसै पनि समूह वा विचारको सट्टामा व्यक्तिका कथाहरूलाई ‘सेलिब्रेट’ गर्ने अवार्डका रूपमा हेरिन्छ। ओस्कर विजेता फिल्महरू विश्लेषण गर्ने हो भने मोटामोटी यही सिद्धान्त देखिन्छ। चाहे लाइफ अफ पाई होस् वा द आर्टिस्ट, ओस्करमा व्यक्तिका कथाले महत्त्व पाउँदै आएका छन्।
लुनानासँग इटालीको ह्यान्ड्स अफ गड, डेनमार्कको फ्ली, नर्वेको वर्स्ट पर्सन इन द वर्ल्ड र जापानको ड्राइभ माई कार प्रतिस्पर्धामा छन्। ड्राइभ माई कार मुख्य विधा उत्कृष्ट फिल्म र निर्देशकमा पनि प्रतिस्पर्धामा छ। प्रसिद्ध लेखक हारुकी मुराकामीको कथामा आधारित यो फिल्मले अमेरिकाका फिल्म समीक्षकका धेरै सङ्गठनबाट उत्कृष्ट फिल्मको पुरस्कार पाएको छ।
गैरअङ्ग्रेजी भाषाका र गैरफिचर फिल्मलाई पनि अन्य विधामा मनोनीत गरेर ओस्करले परम्परागत घेरोलाई अझै फैलाउने प्रयास गर्दै आएको छ। यस वर्ष पनि त्यो घेरो केही इन्च अझै फैलिएको देख्न सकिन्छ। कुनै दिन यो घेराले अभिनयका विधालाई पनि नाघ्ने अपेक्षा गर्न सकिन्छ। किनभने, ओस्कर आफैंलाई पनि यो घेरो फैलाउँदै व्यापक हुनु छ। त्यसका लागि अन्तर्राष्ट्रिय विधामा मनोनीत तीन वटा फिल्म ड्राइभ माई कार, वर्स्ट पर्सन इन द वर्ल्ड र फ्लीलाई हेर्न सकिन्छ।
यी तीनै फिल्मले अन्तर्राष्ट्रिय फिचर बाहेकका विधामा पनि मनोनयन पाएका छन्। ड्राइभ माई कारले मुख्य विधामा उत्कृष्ट फिल्म सहित निर्देशक, पटकथामा पनि मनोनयन पाएको छ भने वर्स्ट पर्सन इन द वर्ल्डले पनि पटकथामा मनोनयन पाएको छ। डेनमार्कको एनिमेशन फिल्म फ्ली तीन वटा विधामा मनोनीत छ- उत्कृष्ट एनिमेशन, उत्कृष्ट डकुमेन्ट्री र उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म। यसअघि कुनै पनि फिल्म यसरी मनोनयनमा परेको थिएन।
ओस्करको यात्रामा अहिलेसम्म गैरअङ्ग्रेजी भाषाका १२ वटा फिल्म उत्कृष्ट फिल्ममा मनोनीत छन्। तीमध्ये पारासाइटले मात्र अवार्ड जितेको छ। हालसम्म एउटा पनि डकुमेन्ट्री उत्कृष्ट फिल्ममा मनोनीत भएको छैन। जम्मा तीन वटा मात्र एनिमेशन फिल्म (ब्यूटी एन्ड द बिस्ट, अप र टोय स्टोरी ३) उत्कृष्ट फिल्ममा मनोनीत छन्।
एनिमेशन डकुमेन्ट्री फ्ली चाहिं यी सबैभन्दा फरक र विशेष छ। यो एक अफगान शरणार्थीको कथा हो। यी समलिङ्गी अफगानको कथा जस्ताको तस्तै देखाउँदा जोखिम हुने भएकाले एनिमेशनका रूपमा बनाएको बताइएको छ।
ओस्करमा राजनीति पनि धेरै हुने मानिन्छ। यसका मनोनयनदेखि पुरस्कारसम्म विवादमा समेत पर्दै आएका छन्। यस वर्ष पनि केही कलाकार मनोनयनमा नपरेकोमा विवाद भइरहेको छ। अन्तर्राष्ट्रिय फिचरमा भने केही फिल्म आफ्नै देशबाट नपठाइदिने जोखिम पनि रहन्छ। जस्तै, यस वर्ष प्रख्यात फिल्मकर्मी पेड्रो अल्मेडोभारको फिल्म प्यारलल मदर्सलाई स्पेनले आफ्नो देशबाट ओस्करमा पठाएन।
स्पेनको गोया अवार्डमा आठ विधामा पुरस्कार जितेको भए पनि ओस्करमा नपठाइएपछि यसले अन्तर्राष्ट्रिय फिचरमा प्रतिस्पर्धा गर्न पाएन। यही फिल्मबाट पेनेलप क्रुज भने उत्कृष्ट अभिनेत्रीको प्रतिस्पर्धामा छिन् (उनका पति हाभियर बार्डेम पनि बिइङ द रिकार्डोजबाट अभिनेताको मनोनयनमा छन्)।
अन्तर्राष्ट्रिय फिचरमा दुई पटक ओस्कर जितेका इरानी फिल्ममेकर असगर फरहादी (अ सेपरेसन र द सेल्सम्यान) को फिल्म अ हिरो भने इरानबाट पठाइए पनि मनोनयनमा परेन। नेटफ्लिक्सको फिल्म द लस्ट डटरलाई भने निर्माण कम्पनीले नै ओस्करमा अघि नबढाएको समाचारहरूमा बताइएको छ। सानो बजेटमा बनाइएको यो फिल्मले अभिनयमा भने केही मनोनयन पाएको छ।
यस वर्ष उत्कृष्ट निर्देशकमा पनि रोचक प्रतिस्पर्धा देखिन्छ। वेस्ट साइड स्टोरीका लागि उत्कृष्ट निर्देशकमा मनोनीत स्टिभन स्पिलवर्गका लागि यही विधामा यो आठौं मनोनयन हो भने सबै विधामा गरी १९औं। उत्कृष्ट निर्देशकको ओस्कर उनले दुई पटक जितिसकेका छन् (सिन्डलर्स लिस्ट र सेभिङ प्राइभेट रायन)। ड्राइभ माई कारबाट उत्कृष्ट निर्देशकमा मनोनयनमा परेका हामागुची ओस्करमा मनोनीत हुने पहिलो जापानी फिल्मकर्मी हुन्।
अन्तर्राष्ट्रिय फिचर बाहेक अरू विधामा मनोनीत हुने यो पहिलो फिल्म पनि हो। यही विधामा मनोनीत पल थोमस एन्डरसन हलिउडका स्थापित निर्देशक हुन्। देअर विल बी ब्लड, फ्यान्टम थ्रेड र द मास्टर जस्ता फिल्म बनाएका उनले ओस्करमा अहिलेसम्म ११ वटा मनोनयन पाएका छन्।
यसपालि सबैको दृष्टि भने जेन क्याम्पियनमाथि हुनेछ। उनी ओस्करको ९४ वर्षको इतिहासमा उत्कृष्ट निर्देशक विधामा दुई पटक मनोनीत हुने पहिलो महिला हुन्। सन् १९९३ मा द पियानोका लागि मनोनीत जेन यसपालि द पावर अफ द डगबाट मनोनयनमा परेकी हुन्। उनले यो पुरस्कार जितिन् भने क्याथरिन बिगेलो (द हर्ट लकर) र क्लोय चाओ (नोम्याडल्यान्ड) पछि उत्कृष्ट निर्देशकको ओस्कर जित्ने तेस्रो महिला निर्देशक बन्नेछिन्।
(हिमालको २०७८ चैत अंकबाट।)