सत्यमोहन जोशीको आत्मकथा सार्वजनिक
संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा कृति सत्यमोहन सार्वजनिक गरिएको छ।
पत्रकार एवं लेखक गिरीश गिरीको लेखनमा तयार भएको पुस्तक शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयको भित्री चोकमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट लोकार्पण गरियो।
संस्कृतिविद् जोशीले आत्मवृत्तान्त प्रकाशन भएकोमा खुशी साट्दै लेखक गिरीले आफू नै शत प्रतिशत सत्यमोहन भएर पुस्तक लेखेकोमा सन्तोष प्रकट गरे। "नेपाली भाषा-साहित्यमा अलग धार जसरी यो किताब आएको छ, अब यसमा टिप्पणी होस्, विचार-विवेचना होस्," उनले भने। आफूले पुस्तकमा नौलो प्रयोगका रूपमा 'जुरेली दर्शन' को कुरा गरेको पनि उनले बताए।
उनले बहुल जातजाति र संस्कृति भएको नेपाललाई लोक संस्कृतिले राष्ट्रिय एकतामा जोड्ने बताए। उनले भने, "लोक संस्कृतिलाई हेला गर्ने हो भने जतिसुकै उन्नति भए पनि समावेशीकरण हुन सक्दैन।"
पुस्तकबारे बोल्दै भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको गुणले भरिएको बताइन्। उनले संस्कृतिविद् जोशीको इमानदारी, नम्रता, सोचाइ र दर्शनलाई सर्लक्क टिप्न सकेको भन्दै लेखक गिरीको प्रशंसा समेत गरिन्।
"सत्यमोहनको आवाज, भावना, नम्रता, व्यक्तित्व, नेवारी गौरव लगायत सबै कुरा पुस्तकमा छन्," तुलाधरले भनिन्, "आत्मकहानी हुँदाहुँदै यसमा विभिन्न ऐतिहासिक घटनाक्रम र तथ्य पनि अटाएका छन्, यस हिसाबले यो ऐतिहासिक जनजीवनको वृत्तान्त पनि हो।"
अनुसन्धानमा आधारित संस्कृतिविद् जोशीको कृति कलाकार अरनिको (२०४४ साल) को अङ्ग्रेजी अनुवाद समेत गरेकी तुलाधरले संस्कृतिविद् जोशीसँग आफ्नो तीसौं वर्षदेखि चिनारी रहेको प्रसङ्ग जोड्दै भनिन्, "उहाँलाई नेपाल भाषाका विद्वान् मान्ने गरेका छौं, तर उहाँ समग्र लोकसाहित्य र संस्कृतिकै मियो हुनुहुन्छ।"
कार्यक्रममा प्रमुख वक्ता गायक अमृत गुरुङले श्रुति परम्पराबाट आएका गीतहरू समयक्रममा हराउँदै गएकोमा चिन्ता गर्दै विगतमा दूरदराजबाट लोकसाहित्य सङ्कलन गर्ने सत्यमोहन जोशी लगायतका व्यक्तिहरू धन्यवादका पात्र भएको बताए। एउटा जीवनमा जोशीले गरेका विविध काम देखेर छक्कै परिने बताउँदै उनले त्यो योगदानले नेपाली वाङ्मय ओजिलो र बलियो बनेको चर्चा गरे।
"जान्ने भएर मात्र हुँदो रहेनछ, व्यक्ति कति हार्दिक छ, कति काम गरेको छ भन्ने महत्त्वपूर्ण हुन्छ, सत्यमोहनको जीवन हेर्दा त्यो देखिन्छ," उनले भने, "उहाँको कामले अँध्यारोबाट उज्यालोतिरको बाटो देखाएको छ।"
लेखक गिरीले पुस्तक तयारीको पृष्ठभूमि सुनाउँदै चार वर्षअघि जोशीका जीवन भोगाइ शृङ्खलाबद्ध लेख्न शुरू गरेर अनलाइन पोर्टलमा प्रकाशन गर्दै गएको र गत वर्ष मात्र प्रकाशन संस्था बुकहिल मार्फत पुस्तकको योजना बनेको बताए। "सत्यमोहनसँग अनौपचारिक कुरा हुन थालेपछि उहाँका योगदान कति फराकिलो रहेछ, हामीले त काठमाडौंका कला-संस्कृतिमा मात्र सीमित गरेका रहेछौं भन्ने लाग्यो। त्यसपछि कुराकानी रेकर्ड गरेर लेख्ने प्रस्ताव गर्दा उहाँ सहर्ष तयार हुनुभयो।"
बुकहिलका भूपेन्द्र खड्काले आफ्नो जीवनी छापिएको देख्ने संस्कृतिविद् जोशीकै चाहना अनुसार एक वर्षको छोटो अवधिमा पुस्तक तयार पारेको बताए। "समाज र साहित्य-संस्कृतिमा काम गर्ने यस्तो जिउँदो इतिहासको आत्मकथा प्रकाशन गर्न पाउँदा हामीले आफूलाई भाग्यमानी प्रकाशन गृह ठानेका छौं," उनले भने।
कार्यक्रमको शुरूआतमा सुकर्म समूहका ध्रुवेशचन्द्र रेग्मी, मनोज गौतम र उमेश पण्डितले शास्त्रीय रागका साथै नेपाली तथा नेवारी धुन सुनाएका थिए।
पुस्तकको मूल्य मोटो गाताको रु.आठ सय राखिएको छ।